आज विश्व प्रेस स्वतन्त्रता दिवस
नेपालमा मे ४, २०१६ देखि मे ३, २०१७ सम्म प्रेस स्वतन्त्रता हननका ७० वटा घटना भएको तथ्यांक नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको छ ।
नेपाल पत्रकार महासंघ सञ्चार अनुगमन इकाईमा दर्ता भएका घटनाहरूमा सबैभन्दा बढी पत्रकार माथिको दुव्र्यवहारका १६ वटा घटना भएको महासंघ अध्यक्ष डा. महेन्द्रले महासंघले दिएको शुभकामना सन्देशमा उल्लेख छ । पत्रकार पक्राउका ११, पत्रकार माथि आक्रमणका ११ वटै घटना भएको अध्यक्ष डा. विष्टको सन्देशमा उल्लेख छ । पत्रकारमाथि धम्कीका ७ वटा घटना भएका छन् भने सञ्चार क्षेत्रमा क्रियाशील संघसंस्थामा तालाबन्दी तथा कब्जाका ७ वटा घटना भएका छन् ।
केही समय सञ्चारमाध्यमको प्रकाशन प्रसारण बन्द गराइएका ४ वटा, अवरोधको १ वटा, सञ्चारगृहमा आक्रमणका २ वटा र सञ्चारमाध्यमाथि धम्कीको १ वटा घटना रेकर्ड भएको महासंघले जनाएको छ । त्यस्तै पत्रकारको साधनमाथि आक्रमणका २ वटा घटना भएका छन् भने ६ जना पत्रकारलाई समाचार संकलनका क्रममा प्रहरीले केही समय नियन्त्रणमा लिएको महासंघले जानकारी दिएको छ ।
यस वर्ष सरकारले जारी गरेको अनलाइन निर्देशिका अनलाइन सञ्चारमाध्यमको स्वतन्त्रतालाई संकुचित गर्ने प्रयास गरेको महासंघले ठहर गरेको छ । अघिल्लो वर्ष प्रेस स्वतन्त्रता हननका १३९ घटनाहरू भएका थिए । संख्यात्मक हिसावले हेर्दा यो वर्ष पत्रकार तथा सञ्चार क्षेत्रमा केही सुरक्षित देखिन्छ । यद्यपि प्रवृत्तिगत आधारमा भने प्रेस स्वतन्त्रता हननका साथै दण्डहिनता र सेल्फसेन्सरसीप कायमै रहेको अवस्था छ । राष्ट्रिय आमसञ्चार नीति, २०७३ जारी हुनु यस अवधिमा प्रेसको विकासका लागि महत्वपूर्ण उपलब्धी बन्न पुगेको डा. विष्टको सन्देशमा उल्लेख छ ।
‘यो वर्ष आजैको दिन नेपाल पत्रकार महासंघको २५औं महाधिवेशन प्रारम्भ गर्ने पूर्व तयारी रहेपनि स्थानीय तहको निर्वाचनको कारण केही समय पछाडि धकेलिन पुगेको छ । यद्यपि महासंघले आजैको दिनलाई महाधिवेशनको प्रारम्भ दिनको रूपमा लिई प्रेस स्वतन्त्रताका साथै पत्रकारको भौतिक तथा पेशागत सुरक्षा र पत्रकारिताका व्यावसायिक मुद्दामाथि देशैभर बहसको प्रारम्भ गरेको छ’, अध्यक्ष विष्टले शुभकामना सन्देशमा भनेका छन्, ‘म यस बहसमा सहभागी हुन सम्पूर्ण पत्रकार मित्रहरूमा अपील गर्दै महासंघका सवै शाखा तथा एशोसियट संस्थाहरूलाई त्यसको निम्ति कार्यक्रम आयोजना गरी वातावरण बनाउन आग्रह गर्दछु ।’
प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा हैन, यो समग्र समाज र लोकतान्त्रिक प्रणालीको अभिन्न विषय हो । नेपालमा संवैधानिक दृष्टिले तुलनात्मकरूपमा अहिले प्रेस स्वतन्त्रताको संरक्षण गरिए पनि व्यवहारमा त्यस अनुरूप वातावरण बन्न सकेको छैन । एकातिर प्रेस आफै पनि मर्यादित हुन जरूरी छ भने राज्यले पनि स्वनियमको माध्यमबाट यसलाई संरक्षण, संवर्धन एबं विकासका निम्ति नीतिगत, कानुनी र संरचनागत क्षेत्रमा थुप्रै काम गर्न बाँकी छ ।
‘प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिई पत्रकारिताको विकासका साथै नेपाल राष्ट्र र नेपाली समाजको हितमा काम गर्न हामी सबैलाई प्रेरणा मिलोस्, विश्व प्रेस स्वतन्त्रता दिवस २०१७ को अवसरमा पुनः हार्दिक शुभकामना’, अध्यक्ष विष्टले शुभकामना सन्देशमा भनेका छन् ।
सन् १९९३ मा संयुक्त राष्ट्र संघको साधारणसभाले घोषणा गरेपछि प्रत्येक वर्ष युनेस्कोको आह्वानमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने गरिन्छ । यो बर्ष दिगो विकास लक्ष्य हासिल गर्न स्वतन्त्र र गुणस्तरीय मिडियाको विकासलाई केन्द्रित गरी अभिव्यक्ति स्वतन्त्रता, सबैका लागि न्याय, कानुनको शासन, शान्ति र समावेशिताबीचको सम्बन्धलाई उजागर गरी मनाइँदैछ ।
दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरिंदैछ । त्यसै सन्दर्भमा पत्रकार महासंघ बाकेले पनि अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दैछ । महासंघ बाके अध्यक्ष ठाकुर सिंह थारुले पत्रकारहरु बीच प्रेस स्वतन्त्रता उल्लंघनका घटना र सञ्चारकर्मीहरुको सुरक्षा विषयक अन्तरक्रिया आयोजना गर्न लागेको जानकारी दिएका छन् ।
दिवसको अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा मध्यपश्चिम क्षेत्रीय संयोजक झलक गैरेले मध्यपश्चिमका सबै जिल्लामा विभिन्न कार्यक्रम गरी प्रेस स्वतन्त्रता दिवस मनाउन लागेको जानकारी दिए । उनले दिवसको अवसरमा शुभकामना दिंदै आज पत्रकारिता क्षेत्रमा जिम्मेवारी निर्वाह गर्दै जीवन उत्सर्ग गर्नेहरुलाई स्मरण गर्ने दिन पनि भएको बताए । ‘चुनौतिहरु कायमै छन्’, मध्यपश्चिम क्षेत्रीय संयोजक गैरेले भने, ‘अबका दिनमा अझ जिम्मेवार र जवाफदेही र सतर्कता ढंगले कार्यक्षेत्रमा खटिनु पर्नेछ ।’
दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश दिंदै महासंघका केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्टले भनेका छन्, ‘म नेपाल र विश्वमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निम्ति योगदान पु¥याउने महानुभावहरूप्रति उच्च सम्मान व्यक्त गर्दै सम्पूर्ण पत्रकार एबं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधर सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’