तुल्सी थापा
बालक्लबहरु बालहितको आवश्यकता महशुस गरिएपछि जन्मिएका हुन् । प्रस्तुत आलेखमा नेपालमा बालक्लबको महत्व र यसले गरेका कार्यहरुको चर्चा गर्ने प्रयास गरिएको छ ।
हामीकहाँ अठार बर्र्षभन्दा कम उमेर बालक बनेर बुझिन्छ । यो उमेर समूहका बाालबालिकाहरुले कमसेकम आफ्नो हकहितको लागि आफै जुर्मुराउनु पर्छ भन्ने मान्यता राख्दै देशैभरि बालक्लबको गठन गरिएको पाईन्छ । बालक्लबको गठनसँगै यसले केही महत्वपूर्ण प्रभावहरु पनि देखाईरहेको छ । उद्देश्य हासिलको लागि मार्ग फराकिलो पारिरहेको अन्दाज लगाउन सकिन्छ ।
बालबालिकाहरुले दुर्गमको दूरदराज देखि हिमालको काखसम्म क्लबको काममा सक्रियता देखाएका छन् । गाबिस स्तर देखि केन्द्रीय स्तरसम्म उनीहरुले देखाएको सक्रियता समग्र देशकै समृद्धिमा महत्वपूर्ण हिस्सा हो भन्ने कुरामा संदेह छैन । यसर्थ बालबालिकाको यस खालको सक्रियाताई हौसलाको मलजलको कमी कहिल्यै हुनुहुन्न ।
यहाँ यो पनि बुझ्न जरुरी छ कि बालबालिकालाई अन्य सुबिधा या माया ममता देखाए पनि हौसला र सम्मान दिएपनि उनीहरुको पहिलो आवश्यकता भनेको पढाई हो । कुनैपनि बालबालिका पढाईबाट बञ्चित हुनु भनेको भोलिको जनशक्ति भुत्ते पारिँदैछ भन्ने हो । अतः शिक्षादीक्षा हरेक नागरिकको प्राथमिकताको बिषय बन्नुपर्छ । बालबालिकाको हकमा त झन् यो अकाट्य अधिकार हो ।
बाह्रबर्ष काटेका बालबालिकाको मनोबिज्ञानमा जुन प्रभावहरुको उथलपुथल आउँछ यसलाई सेफल्याण्ड गराउने चुनौती अत्यन्तै ज्यादा हुन्छ । यही समयमा धेरैजसो किशोरीको रजस्वालाको सुरुवात हुन्छ यसले असजिलो, कौतुहलता, डर, नौलोपना, जिज्ञासा, अन्यौलता जस्ता बिबिधखाले मनोबृति उनीहरुले भोग्नुपर्छ । कतिपय किशोरीले आफू जवान भैसकेको र यहाँसम्मकि म अव विवाहको लागि योग्य भएँ भन्ने भ्रम समेत पालिरहन्छन् । दूरगामी रुपमा प्रतिकूल असर पार्ने गल्ती गर्न पुग्छन् । बालक्लबले यस्ता समस्याको जरो पहिल्याएर सचेतनामूलक काम गरिरहनु पर्छ ।
रीतिरिवाजको कारण पनि समाजमा मान्छेका धेरै कुरामा प्रभाव पारेको हुन्छ । समाजमा बालबिवाह अझै सम्म निर्मुल हुन सकेको छैन । केही यस्ता रीतिरिवाज र चालचलन कालान्तरमा समाजमा मान्यता नै बनेर बस्न थाल्छ ।
गरिबी नेपाली समाजको क्यान्सर बनेर सदियौँ देखि जरा गाडेर बसेको छ । राम्रो खाने र राम्रो लाउने कुरा कुनैपनि घरको आर्थिक अवस्थासँग सीधै सरोकार राख्ने कुरा हो । गरिबीकै कारण बच्चाबच्चीको पढाईलाई समेत निरन्तरता दिन सकिरहेका हुँदैनन् । राम्रो के हो र नराम्रो के हो भन्ने भेउ नपाउने अवस्थानै चेतनाको अभावले गर्दानै हो ।
बेरोजगारीका कारण धेरै किशोर किशोरीहरु घर छोडेरै हिँड्ने सम्मको आँट गर्छन् । गार्मेट उद्योग होस् या सहरबजारका होटेल रेस्टुरेन्टमा किशोर किशोरीहरुनै देखिन्छन् । अवसरको खोजीमै राम्रा नराम्रा काममा उनीहरु सम्लग्न हुने गरेका पनि छन् । निरन्तर पढाई वा कुनै काममा रहेकाहरुमा धेरै समस्या छैन जति खाली बसेकाहरुमा हुन्छ । लगाई फकाईमा परेर वा पारिएर किशोरीहरुलाई बिवाहका लागि प्रेरित गरिन्छ । लहैलहैमा किशोर किशोरी बिवाह गरिरहेका हुन्छन् । भाँडाकुँडी खेलेझैँ । धेरै बालक गाडीको ढोकामा खलासी बनिरहेको पनि हामीले देखेकै कुरा हो ।
पढाईबाट बञ्चित बालबालिकाको प्रगतिको पूर्णबिराम लाग्ने सम्भावना ज्यादा हुन्छ ।
अध्ययन गर्दा फेला परेको अर्को तथ्य यो पनि हो कि जुन घरमा बालबालिकाप्रति अभिभावकको प्रत्यक्ष हेरचाह हुन्न त्यहाँ बच्चाहरुको सर्वांगिण बिकास पनि हुन्न । बुवाले अर्की आमा ल्याएको या आमा पोईल गएको ठाउँमा यस्तो सम्भावना ज्यादा हुन्छ । किशोरीहरुलाई माया र आत्मीयताको अभाव भयो भने उनीहरुलाई एक्लोपनाको महसुस् हुन्छ ।
प्रत्यक्ष निगरानी र माया पाएका बालबालिकाले सितिमिती गल्ती गर्ने हिम्मत नै हुँदैन । अतः बालबालिकाहरुलाई रेखदेख र मायाको खाँचो एकदम ज्यादा हुन्छ ।
बालक्लबको माध्यमबाट बालबालिकाहरुले सडक नाटक र्याली,घरदैलो कार्यक्रम,बिभिनन कार्यक्रममा अन्तरक्रिया, बिबिध साँस्कृतिक कार्यक्रमहरुको माध्यमबाट बाल बिबाहको बिरुद्धमा खबरदारी गर्ने , यातना सँस्कृतिको अन्त्य गराउन झकझकाउने, जन्मदर्ताको लागि जनचेतना जगाउने, स्कूल छाडिरहेका बालबालिकाहरुलाई पुन बिद्यालय फर्काउने जस्ता सत्कर्म गरिरहेका छन् ।
जेहेन्दार भएर पनि गरिबीको कारण पढ्न नसकिरहेका बालबालिकाहरुको लागि बिभिन्न संघसंस्थाहरुसँग समन्वय गरी उनीहरुको छात्राबृत्तिको ब्यवस्था गर्ने काम बालक्लब मार्फत हुनेगरेको छ ।
यौन दुब्र्यवहारमा परेका बालबालिकाहरु हुन् या बालश्रममा फसेका बालबालिकाहरु हुुन् उनीहरुको सुरक्षा उद्धार र पुनस्र्थापनाको लागि बालक्लबले काम गर्दै आएको छ । सकेसम्म समस्या आउन नदिने तर्फ सचेत गराउने समस्या आईहालेमा यसको उपचारमा के गर्न सकिन्छ भन्ने तर्फ बालक्लब सचेत रहिआएको छ ।
बालक्लबका माध्यम बाट बच्चाहरुले बहुआयामिक कामको थालनी गर्न थालेका छन् । अब खाँचो छ त हामी सबैको प्रेरणा, हौसला र मायाको । अनि बालबालिकामाथि अभिभावकको जिम्मेवारीपूर्ण रेखदेखको ।