सम्वाददाता / नेपालगन्जन्यूज
आज माततीर्थ औसी । आमाको मुख हेर्ने दिन । यो दिनको महत्व प्रत्येक बर्ष बढिरहेको छ । आज बिहानै देखि फेसबुकका टाइमलाइनहरु आमाहरुका फोटोहरुले भरिएको छ । आमासंगका मर्मस्पर्षी सम्झनाहरुका स्टाटस अपडेट भइरहेका छन् । नेटिजनहरु (इन्टरनेटका नेपाली प्रयोगकर्ताहरू) एकआपसमा शुभकामना आदानप्रदान गरिरहेका छन् ।
सामाजिक सन्जाल न हो । केहि प्रयोगकर्ताहरुलाई यो कत्ती पनि चित्त बुझेन, “आमालाई सम्मान गर्नुपर्छ, तर के यो सम्मानलाई फेसवुकमा नै पोष्ट गर्नुपर्छ त । यो ढोंग हो । यो ‘फेशन’ हो भन्दै पोष्टहरु भईरहेका छन् ।” के आमाको फोटो फेसबुकमा पोष्ट गर्नु ढोंग हो ? यो टिप्पणी यसैमा केन्द्रित छ ।
अहिले फेसवुक तथा सामाजिक सञ्जालहरु केवल भर्चुअलमात्र रहेनन् । वा मात्र भर्चुअल हुन् भन्ने मान्यताबाट बाहिर आउनु जरुरी छ ।
फेसवुक लगायतका सामाजिक सञ्जालले तपाईलाई वास्तविकतामा शयर गर्न मद्दत गर्छ । यहाँ हावादारी गफ मात्र हुदैनन् । त्यहाँ हुने विचार विमर्शले समाजका हरेक अंगहरुमा प्रभाव पार्न थालिसकेको छ ।
समाजमा हुने हरेक किसिमका गतिविधीहरूमा चनाखो नजर राखिरहने माध्यम हो सामाजिक सञ्जाल । यसको प्रयोगले हामीले सूचना, विचार र छलफललाई गहिराउन सक्छौं । हाम्रा आवाजहरुलाई वाहिर ल्याउन सक्छौं ।
सामाजिक सञ्जालमा हुने यस्तै क्रियाकलापहरु कै कारण यहाँ हाम्रो आसक्ति वढेको हो । हाम्रो क्रियाशिलता वढेको छ ।
फेसवुकमा आमाको मुख हेर्ने दिन, वावुको मुख हेर्ने दिन, दशैं, तिहार, इद, क्रिसमस डे, न्यू इयरको शुभकामना नदिने हो भने के दिने हो ? किन फेसवुकमा झुण्डिरहने ? किन फेसवुकमा साथी वनाउने ?
हामी साथीको खुसीमा रमाउन सक्छौं । साथीको दुखमा दुखित हुन पाउछौं । त्यसैले त सामाजिक सञ्जालको मान वढिरहेको छ । सामाजिक सञ्जालहरुमा पोखिने विचार, भावना र अभिव्यक्तिको सम्मान गर्ने कुरा हुदैछ ।
गुरु पुर्णिमाको दिन गुरुलाई सम्झिने गर्दछन् नेपालीहरु । त्यो कत्तिपनि ढोंग भएन । नयाँ वर्ष २०७४ भर्खरै गयो । धेरैले शुभकामना दिए । त्यो ढोंग भएन । एक महिना अघिबाट दशैंका शुभकामना देखिन्छन् त्यो पनि ठिक हो ।
तर आफ्नी जन्मदिने आमालाई इण्टरनेटको संसारमा सम्झिने र विश्वव्यापी वनाउने काम चाहि ढोंगी हो भन्नु अल्प विचारको पराकाष्ठा मात्र हो ।
छोराछोरीको वर्थ डेको फोटो राख्ने, श्रीमान र श्रीमतीको एनिभर्सरीका फोटाहरु पोष्ट गर्दा ठिक, तर आमाको फोटो पोष्ट गर्दै आमालाई सम्झिंदा चाहि ‘फेशन’ हुने तर्क संग सहमत हुन सकिदैन ।
कामको सिलसिलामा धेरै छोराछोरीहरु घरभन्दा टाढा छन् । आमाहरु घरमा हुनुहुन्छ । आमाहरुलाई सम्झिने, फोनमा कुरा गर्नु भन्दा पनि एक कदम अगाढि वढेर सामाजिक सञ्जालमा आमाहरुको फोटो राख्नु भनेको आमाहरुको सम्मान गरेको हो ।
ढोंग त के हो भने आफुले खाको, घुमेको, सुतेको सम्म फोटो पोष्ट गर्दा सामाजिक सञ्जालको प्रयोग गरेको हुने, अरुले आमाको फोटो पोष्ट गर्दै आमालाई सम्झिदा ढोंग भन्नु चाहि ढोंगी हुनु हो ।
सबै आमाहरुलाई नेपालगन्जन्यूजका तर्फबाट हार्दिक नमन ।