बाँके होलिया स्थित कुडवा गाउँमा भएको आगलागीमा परि ज्यान गुमाएका परिवारको आँसु थामि नसक्नु छ । ५ वटा छोरा छोरीको रहेको परिवार विस्तारै सिद्धिँदै गएको छ । ‘६ महिना अघि छोरा छोटकउ मौर्यको जन्महुँदा सुत्केरी अवस्थामै भेरी अंचल अस्पताल उपचारार्थ श्रीमतीको मृत्यु भयो’, मृतक बालबालिकाका बुबा मुन्सीलाल मौर्य दैनिक नेपालगन्ज संग आफ्नो पीडा पोखे ।
‘गाउँमा सामान्य खेती किसानी गर्ने परिवार श्रीमतीको मृत्युका आहतले सम्हालिन नपाउँदै बालबालिकाको दर्दनाक मृत्यु सामना गर्नु पर्यो । उसो त एउटा बच्चालाई बोक्न सजिलो थिएन’, रुँदै मौर्यले भने, ‘तर शव क्षतविक्षत भएपछि तीनवटैलाई एकै पटक लगेर अन्तिम संस्कार गरेको हुँ ।’
‘६ महिना अघि सबै कुरो ठिकै थियो । छोरा जन्मिदा श्रीमती गुमाएँ’, मौर्य भावुक हुँदै भने, ‘अहिले तीन वटा बच्चा एकै पटक साथ छाडे ।’ जेठी १२ वर्षिया छोरी गायत्री मौर्य र ६ महिनाका कान्छा छोरा छोटकउ मौर्यको साथ कायम छ । आइतवार साँझ मात्र सबै बालबालिकाहरु मामा घरबाट फर्किएका थिए । उनीहरुले घटनाको कल्पना समेत गरेका थिए । मामा घरबाट फर्किएपछि तीनै छोराछोरी खुसी थिए । ‘जेठी छोरी फर्किएकी थिइन’, मौर्यले भने, ‘सायद उसलाई बाँच्न लेखेको रहेछ ।’
‘खेतमा काम गर्नु पर्ने भएकोले बज्यैका जिम्मा लगाएर म गएको थिएँ’, मौर्य भन्छन्, ‘मेरो घरमा कोही नहुने भएकोले बालबच्चाहरुलाई बुबाको घरमा छाड्ने गरेको थिएँ ।’ मौर्यको घरमा आगो लागेन, उनको बुबाको घरमा आगो लाग्दा बच्चाहरुले ज्यान गुमाउनु परेको हो ।
घरपरिवार सम्हालिन नसक्ने घटना घटेको ६ महिना भित्रै दोस्रो बज्रपात भयो, मौर्यले भने, घरपरिवार ध्वस्त पार्ने घटना हो यो, । ज्याला मजदूरी र सामान्य खेतीपाति गरि परिवार धान्दै आएका मौर्य अचेल धैर्य धारण गर्न सक्ने क्षमता भित्र छैनन् ।
उनी संगै पूरै गाउँ बालबालिकाको मृत्यु घटनामा शोकाकुल भएको छ । चारैतिर रुवाबासी भेटियो । महिला बालबालिकाहरुको अनुहार मलिलो थियो । गाउँको सबै स्थानमा घटना निकै दुःखद भएको प्रतिक्रिया आइरहेको
थियो ।