प्रदेश २ र ५ मा स्थानीय तहको संख्या बढाउने ।
नेपालगन्जन्यूज । सरकारले स्थानीय तहको निर्वाचन दुइ चरणमा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले प्रदेश १,२,५ र ७ मा जेठ ३१ गते निर्वाचन गर्ने नयाँ मिति तय गरेको छ । प्रदेश ३, ४ र ६ मा भने यसभन्दा अगाडि घोषणा गरिएको बैसाख ३१ गते नै निर्वाचन हुने भएको हो ।
निर्वाचन आयोगसंगको परामर्शमा दोश्रो चरणमा निर्वाचन गरिने निर्णय गरिएको हो ।
बैसाख ३१ गतेको निर्वाचनको कार्यतालिकालाई केहि दिन पर सार्न निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय समेत गरेको छ ।
प्रदेश २ र ५ मा स्थानीय तहको संख्या बढाउने निर्णय गरेकाे छ । यसका लागि उपप्रधानमन्त्री कमल थापाको संयोजकत्वमा गठन भएको ४ सदस्य कार्यदलले यसै हप्तामा प्रतिवेदन बुझाउने समेत निर्णय गरेको मन्त्रीपरिषद्का प्रवक्ता सुरेन्द्र कार्किले नेपालगन्जन्यूजसंग भने ।
मधेशी मोर्चासंग भएको सहमती अनुसार संविधान संशोधन विधेयकलाई परिमार्जित गर्ने निर्णय गरेको छ । परिमार्जित संशोधन विधेयकलाई द्रुत मार्गबाट पारित गराउने सरकारको रणनीति रहेको छ ।
संविधान संशोधन प्रस्ताव पारित भएपछि सीमांकन हेरफेरका लागि संघिय आयोग गठन हुने छ ।
मधेशी मोर्चालाई आन्दोलनका सबै कार्यक्रम स्थगित गरी निर्वाचन प्रक्रियामा सामेल हुन आग्रह गरेको छ । प्रमुख प्रतिपक्षी एमालेलाई संविधान संशोधन प्रस्तावमा सहयोग गर्न आग्रह गरेको छ ।