थाहै नदिएर जग्गा बिक्री

बाँकेमा प्रहरीले संगठित अपराधको रुपमा अब जग्गा माफिया विरुद्ध अप्रेशन जारी नै राखेको बेला जग्गाधनीलाई थाहै नदिई पाँच लाख रुपैया पर्ने जग्गा ८० हजारमा बिक्री भएको खुलेको छ । जग्गा विरुद्ध भइरहेको घटनाक्रममा माफियाहरुले नयाँ नयाँ तरिका प्रयोग गरेर जग्गा खरीद बिक्री गर्ने गरेको तथ्यका बिच जग्गाधनीलाई झुक्याएर जग्गा अर्कै ब्यक्तिको नाममा बिक्री भएको खुलेपछि ठगी आरेपमा जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा तयारीको तयारी अघि बढेको छ ।

गत साता बाँकेमा एक जीवित ब्यक्तिको मृत्यु दर्ता बनाएर जग्गा खरीद बिक्री भएको खुलेको थियो । त्यसमा अनुसन्धान पूरा हुन नपाउँदै अर्को घटनाका पीडितहरु सम्पर्कमा आएका हुन् ।

यसअघि बाँके चटार हाल कोहलपुर नगरपालिका वडा नं.९ मा रहेको कित्ता नं.३९ को ५ कठ्ठा करिब २ करोड बराबरको जग्गा नेपालगन्ज वडा नं.८ बस्ने विजय ठठेरले दयाशंकर आफ्नो बाजे रहेको र उनको हक
खाने हकवाला अरु नभई आफु एकमात्र रहेको देखाएर जग्गा नामसारी गरी ठगी गरेको तथ्य खुलेको थियो ।
त्यसअघि हालै मात्र खेतको जग्गा मुख्य सडकमा रहेको देखाएर नापी कर्मचारी माफियाले ठगी गरेको विषयमा प्रहरी मुद्दा दर्ता गरी नापी कर्मचारी समेतलाई थुनामा राखेको छ ।

जानकी गाउँपालिका वडा नं.३ इन्द्रपुर मनिषा कुर्मी(बर्मा)ले आफ्नो आमाको नाममा पारित गरेको हालै देखिको बकस पत्र लेखन्दास र जग्गा माफियाहरु मिलोमतो गरी जग्गाधनीलाई थाहै नदिई बालकराम कुर्मीको नाममा पारित गरेको खुलेको हो । नेपालगन्ज वडा नंं.१४ बालेगाउँ बस्ने बालकराम कुर्मी, लेखन्दास सन्तोष कुमार मौर्य, बृज किशोर मौर्य, लल्लन गोडियाले मिलोमतो गरि अधिकृत वारेसनामा कुर्मीको नाममा दर्ता गरेको पीडितले बताएकी छन् ।

२०७३ फाल्गुन १३ गते मालपोत कार्यालय बाँकेमा पारित भएको हालैदेखिको बकस पत्र मनिषाले आफ्नो आमा रामरती कुर्मीको नाममा पारित गरेको र जग्गा धनी दर्ता पुर्जामा अर्कै ब्यक्तिको नाम देखा परेपछि घटना बारे खुलेको हो ।

मनिषाले भनिन्, ‘जग्गा पारित भएको दिन लालपुर्जा प्राप्त नभएकोले घटना बारे पछि मात्र थाहा भएको हो । प्रहरीले मुद्दा आएपछि आवश्यक अनुसन्धान गरि कारवाही अघि बढाउने जनाएको छ ।’

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक विरबहादुर थापाले बाँकेमा जग्गा सम्बन्धी अपराधको अवस्था चिन्ताजनक रहेको बताएका छन् । ‘जग्गा खरीद बिक्रीको नाममा धेरै खेलहरु भइरहेका छन्’, उनले भने, ‘लालपुर्जा हातमा राखेर ढुक्क हुनु पर्ने अवस्था जिल्ला भित्र छैन ।’

आफ्नो जग्गा चुस्त छ वा छैन भन्ने विषयमा समय समयमा चेकजाँच गरिरहनु पर्ने स्थिति उत्पन्न भएको बताउँदै थापाले, ठूला कारोबारीहरु जग्गाको खेलमा संलग्न रहेको संकेत गरे ।

प्रतिक्रिया

प्रतिक्रिया