-दिनकर नेपाल
डिजिटल डिभाइडर कसरी कम गर्ने ?
नेपाली ‘समाज’ को सुन्दर रुप के थियो? दसैं तिहार अघि सबै मिलेर गाउँ चौपारी, पाटीपौवा, बाटो मर्म्मत गर्ने, चौतारीमा भेट्घाट गर्ने, छलफल गर्ने, अनुभवीहरुले अरुलाई ज्ञान बाड्ने, त्यो एउटा लय थियो समाजको।
त्यो हरायो। तर नयाँ के ले त्यसको ठाउँ लियो? किन यस्तो भयो ?
नेपाली समाज बहुआयामिक संक्रमणबाट गुज्रिंदै छ। हुन त, समय कहिल्यै स्थिर हुँदैन तर ईतिहासलाई मिहिन रुपमा हेर्ने हो भने कहिले काहीं बदलावको रफ्तार निक्कै जादुइ देखिन्छ, कहिले स्थिर। राजनीतिक परिवर्तन र त्यसको संक्रमण मात्र हैन, हाम्रो सामाजिक स्वरुपको संक्रमण पनि उस्तै छ।
यस अघिको समाजको संरचना जमेर बस्न हजारौं बर्ष लागेको थियो, संसार भरी नै। त्यसको मुख्य कारण, यस अघि समाजमा ‘प्रविधी’को आधारभूत परिवर्तन हुन हजारौं वर्ष लाग्थ्यो। ढुंगे युगबाट फलाममा आउन दस हजार वर्ष, त्यहाँ बाट काँसमा अर्को तीन चार हजार वर्ष, त्यस बाट शिशामा अर्को हजार वर्ष, त्यस पछि तीव्र पुँजीवादी औद्योगीकरण हुन अर्को दुई हजार वर्ष। त्यस पछि दुई सय वर्ष भित्र नै नयाँ युग आयो। यो युग, सुचना क्रान्तिको युग हो।
तर, हामी नेपालीले एक सय वर्षमा नै हजारौं वर्षको छलाङ लगाएका छौं। हाम्रो समाजमा अहिले पनि हाम्रा हजुरबुवाहरुको पुस्ता, लगभग ढुंगे युगमा नै थिए। खेती बाहेक अरु आम्दानी थिएन। अक्षर चिन्ने र तम्सुक निवेदन लेख्न त ‘हाकिम’ नै थिए। त्यो समय गएको धेरै भएको छैन।
त्यस पछि एस एल सी पास भए पछि साँच्चै नै हाकिम हुन पाउने समय पनि आयो। अर्को पुस्तामा एमए बीए पढे पछि जागिर पाईन्छ भन्ने समय थियो। त्यहाँबाट अहिलेको समय एक फड्को अगाडि छ।
अहिलेको परिस्थितीमा साक्षरता नयाँ पुस्तामा सय प्रतिशत नै भएको छ। सुचना प्रविधी र देश विदेशको अनुभवले नयाँ पुस्ता संसारभरी कै ज्ञान आफ्नो हातमा बोकेर हिंडेको छ।
यसले समाजमा कस्तो असर गरेको छ त ?
हामी प्रस्ट देख्न सक्छौं – सबै भन्दा पहिला यसले हाम्रो समाजमा नेत्रित्वको समस्या ल्याएको छ। गाउँ ठाउँको ‘चौपारी’ संस्कार छैन। बुढापाकाहरुको कुरा आदर साथ सुनेर त्यसबाट पाठ सिक्ने परम्परा तोडिएको छ। नयाँ पुस्ता र पुरानो पुस्ताको बीचमा केही मानकहरुमा फरक हुनु सामान्य हो जुनसुकै समय र ठाउँमा पनि। तर हाम्रो अहिलेको परिस्थितीमा त्यो फरक ‘निरक्षर र प्रविधी दक्ष’को जस्तो छ।
यसको स्वाभाविक असर – नयाँलाई पुरानाको नेत्रित्व स्वीकार छैन। पुरानाहरुले नयाँको स्वीकार गर्ने कुरै भएन, त्यो मानवीय स्वाभाव विपरित नै हुन्छ।
समाजमा त्यो श्र[न्खला टुटेको छ – ज्ञानको पुस्तान्तरणको प्रकृया नै अवरुद्ध भएको छ। त्यसका लागि संरचना र संस्कारहरु नयाँ बनेका छैनन्। नयाँले पुरानालाई नगन्ने, नयाँलाई पुरानाले नटेर्ने – लथालिंग परिस्थिती छ।
के हो त समाधान ?
आजको सुचना-प्रविधीको युगमा समाजको निती नियम निक्कै फेरिएको छ। तर पनि एउटा सभ्य समाजमा संवाद र परस्पर समन्वय, र बाहिरको ज्ञानलाई आफ्नो अनुसार प्रोसेस गरेर लागु गर्ने संरचना हुनै पर्छ। यो नहुँदा समग्रमा सामाजिक नेत्रित्वको समस्या देखीरहिन्छ।
हाम्रो गाउँ ठाउँमा यस्ता ज्ञान अथवा संवाद केन्द्रहरु बन्नु आवश्यक छ।
नयाँ पुस्तालाई समाजको आधारभुत संरचना सँग अपनत्व, आफ्नो ईतिहास प्रती गौरव, र आँफु अघिका पुस्ताको दृष्टिकोण प्रति सम्मान, संघर्ष प्रति सहानुभुति तथा विश्वभरी ‘यहाँ’को स्थानीय भएर सगौरव हिंड्न सक्ने आत्म-विश्वास चाहिन्छ।
आफ्ना छोरा छोरीलाई त्यो ‘आत्म-विश्वास’का साथ अघि बढ्न मदद गर्न लागि तपाईं हामी के गर्न सक्छौं? त्यही प्रयासले समाजलाई अहिलेको बहुआयामिक सन्क्रमणकालमा पनि सन्तुलित बनाउँदै तीव्र प्रगतीमा लैजान्छ।
संवाद गरौं। हेरौं, देखौं, सिकौं, गरौं र सिकाऔं!