नेपालगन्जमा व्यापारी पक्रन उजुरी

राजश्व अनुसन्धान–व्यवसायी तनाव

राजश्व अनुसन्धानको विषयलाई लिएर कर्मचारी र व्यवसायी बीच उत्पन्न विवादले तनावको रुप लिएको छ । अनुसन्धानका नाममा अनुचित असुली गर्दै व्यवसायीहरुलाई दुःख दिने काम नरोकिए आन्दोलनको चेतावनी दिएको नेपालगन्ज उद्योग वाणिज्य संघले तनाव कम गर्न स्थानीय प्रशासन गुहारेको छ ।

संघका प्रवक्ता टंक प्रसाद धामी सहित झण्डै आधा दर्जन व्यवसायिक प्रतिनिधिहरु विरुद्ध ‘राष्ट्रसेवक कर्मचारी विरुद्ध दुव्र्यवहार गरेको’ उजुरी सहित कानुनी कारवाहीमा राजश्व अनुसन्धान कार्यालय कोहलपुरका कर्मचारीले प्रहरी प्रशासन गुहार गरेपछि तनाव बढ्ने भएको हो ।

‘राजश्व कर्मचारी र करदाता व्यवसायी बीचको सम्बन्ध नङ मासु जस्तै हो’, आइतबार घरबारीटोलमा भएको घटनालाई लिएर दिनभर जसो उद्योगी, व्यवसायी र प्रहरी प्रशासन पुगेका नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले दैनिक नेपालगन्जसँग भने, ‘तनाव बढाउने होइन घटाउन प्रयत्न गरिरहेका छौं ।’ उनले त्यस विषयमा बुधबार प्रमुख जिल्ला अधिकारीसँग भेटघाट गरी संघले छलफल गर्ने जानकारी दिंदै भने, ‘राजश्व अनुसन्धानका कर्मचारीबाट गल्ती भएको छ, हाम्रा व्यापारी साथीहरुबाट पनि गल्ती भएको छ ।’

राजश्व अनुसन्धान कार्यालय कोहलपुरका नायब सुब्बा सहितका कर्मचारी घरबारीटोल स्थित एउटा पसलमा छापा मार्न गएका बेला धामी सहितका व्यापारीले आक्रमण गरेको आरोप लगाइएको छ । ‘धामीको निर्देशनमा उनी सहित चार÷पाँच जनाले कर्मचारी पन्थीलाई दुव्र्यवहार गरेको उजुरी छ’, पक्राउ पूर्व आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिंदै बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले दैनिक नेपालगन्जसँग भने, ‘अनुसन्धानबाट ठहर हुनासाथ पक्राउ गरेर थप कानुनी कारवाही अगाडि बढाउँछौं ।’

कर्मचारीमाथि ‘ज्यान मार्ने उद्योग’ दाबी गरेका उजुरीकर्ताले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ताका लागि समस्या देखिएपछि प्रमुख जिल्ला अधिकारीको निर्देशन खोजेका थिए । ‘अनुसन्धानबाट ठहर हुने अपराधका आधारमा कारवाही हुने गरी कानुनी प्रक्रिया अगाडि बढाउन’ प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले निर्देशन दिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको हो । ‘घटनालाई सामान्य मान्न सकिंदैन’ प्रजिअ खत्रीले दैनिक नेपालगन्जसँग भने, ‘प्रहरीले अनुसन्धान अगाडि बढाइसकेकाले ठहर भए बमोजिम कारवाही हुन्छ ।’

विभागको चासो

यसै बीच राजश्व अनुसन्धान विभागले नेपालगन्जमा भएको घटनाप्रति चासो लिएको छ । विभागको टोली घटनाबारे आन्तरिक रुपमा बुझ्न टोली खटाएको हो । राजश्व अनुसन्धान कार्यालय कोहलपुरका प्रवक्ता छत्रबहादुर अधिकारीले विभागको टोली सक्रिय भएर आफ्नो काम गरिरहेको पुष्टि गरे ।

राजश्व छलीको घटनालाई अनुसन्धानका लागि आइतबार घरबारीटोल स्थित एउटा पसलमा पुगेका राजश्व अनुसन्धान कार्यालय कोहलपुरका कर्मचारीमाथि व्यवसायीहरुले दुव्र्यवहार गरेको बाहिर आएको हो । ती कर्मचारीले स्थानीय व्यापारीहरुसँग चार लाखसम्म अनुचित ढंगले असुल्न खोजेको आरोप व्यापारीहरुको छ । घटनालाई लिएर विभागले गम्भीर चासो लिएर आन्तरिक अनुसन्धान सुरु गरेको हो ।

घटनामा दुव्र्यवहार नियन्त्रण गर्न नसकेको भन्दै कर्मचारी सुरक्षामा खटिएका सशस्त्र प्रहरी कर्मचारीमाथि पनि आन्तरिक अनुसन्धान अगाडि बढाइएको स्रोतले जनाएको छ । कर्मचारीमाथि आक्रमण हुँदा नजिकै रहेका सशस्त्र प्रहरीका सुरक्षाकर्मी मुकदर्शक जस्तै देखिएको राजश्व अनुसन्धान कार्यालयका कर्मचारीको गुनासो छ ।

प्रतिक्रिया

प्रतिक्रिया