जिल्ला हुलाक कार्यालय बांकेले शुक्रवार “अधिकतम मेल” नाराका साथ १४६ औ विश्व हुलाक दिवसको कार्यक्रम आयोजना गरेको जनाएको छ । कोरोना सजकता र सामाजिक दुरी कायम गरेर जिल्ला हुलाक कार्यालय बांकेको परिसरमा बिभिन्न कार्यक्रम सहित हुलाक दिवस मनाइएको हो ।
जिल्ला हुलाक कार्यालय बांकेका कार्यालय प्रमुख गोबिन्दप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सेवाग्राहीदेखि कर्मचारी सम्मलाई सम्मान गरिएको छ । हुलाक बचत बैंक, रजिष्ट्री तथा टिकट शाखाबाट सर्व प्रथम सेवा लिन आउने तीन जना सेवाग्राहीलाई अबिर र खादा सहित सम्मानित गरिएको प्रमुख हुलाक अधिकृत पाण्डेले जानकारी दिए । कार्यक्रममा बिगत पच्चिस वर्ष देखि अतिरिक्त हुलाक कार्यालय कटकुईयालाई कार्यालय प्रयोजनका लागि निशुल्क भवन उपलब्ध गराउने नरैनापुर गाऊपालिका वडानं १ कटकुइया गाउका समाजसेवी ठाकुरप्रसाद यादवलाई योगदानको कदर गदै्र दोसल्ला र सम्मान पत्र सहित सम्मानित पनि गरिएको छ ।
समाजसेवी ठाकुरप्रसाद यादवले आफुले सेवा भावको कारण बिगत पच्चिस वर्ष देखि अतिरिक्त हुलाक कार्यालय कटकुईयालाई निशुल्क एक कोठा उपलब्ध गराएको बताए । मलाई जिल्ला हुलाक कार्यालयले बिश्व हुलाक दिवसको अवसरमा सम्मानित गरे पछि यस्ता खालका समासेवामा लाग्न अझ बढी उत्साह थपिएको बताए ।
जिल्ला हुलाक कार्यालय बांकेका कार्यालय प्रमुख गोबिन्दप्रसाद पाण्डेले अहिले जिल्लाका प्राय सबै वडामा कार्यालय तथा कर्मचारी भएको हुलाक कार्यालय भएकोले बिभिन्न इलाका तथा अतिरिक्त हुलाक कार्यालयहरुको उचित ब्यबस्थापन कर्मचारीको उत्प्रेरणा बढाउने काममा हामी सबै लागेको बताए । उनले नियमित तथा छरितो पत्र वितरण, सूचनाको हक कार्यान्वयनको अनुगमन, एफ एम रेडियो तथा केबल टिभीको अनुगमनको कामलाई कार्यालयले प्रथामिता साथ अगाडी बढाएको बताए ।
कार्यालय प्रमुख पाण्डेले जिल्ला हुलाक कार्यालय बांकेले संचालन गरेको हुलाक बचत बैंकले जेष्ठ नागरिकलाई सात प्रतिशत र अन्यलाई छ प्रतिशत ब्याज दिने, ब्याजमा कर नलाग्ने तथा बचतको सुरुक्षा हुने भएकोले हुलाक बचत बैंकमा सर्व साधारणको आकर्षण बढेको जानकारी दिए । कार्यालय प्रमुख पाण्डेले यस बर्षलाई बांकेका इलाका तथा अतिरिक्त हुलाक निर्माण तथा मर्मत वर्षको रुपमा मनाउने बताए ।
पाण्डेका अनुसार, इलाका हुलाक कार्यालय खजुरामा यसै वर्ष पचास लाखको लागतमा पक्की भवन निर्माण गरिंदैछ । अन्यका इलाका तथा अतिरिक्त हुलाक कार्यालयहरु संघ, प्रदेश तथा स्थानीय सरकारसंगको सहकार्यमा मर्मतका काम अगाडी बढाईने पाण्डेले बताए । उनले जिल्ला हुलाक कार्यालय बांकेलाई वातावरणीय रुपमा सफा सुन्दर तथा स्वच्छ र सेवाग्राही मैत्री कार्यालयको रुपमा विकास गरिने योजना सुनाए ।