कर्णाली डेभलपमेन्ट बैंकले आफ्नो स्थापनाको १६औं बार्षिकोत्सव भव्य रुपले मनाएको छ । विविध मनोरञ्जनात्मक, साँस्कृतिक कार्यक्रमहरु सहित आयोजित बार्षिकोत्सवमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणा, राष्ट्र बैंक निर्देशक मुक्ति सापकोटा लगायतले बैंकको लगानी र यसले पारेको बृहत्तर आर्थिक क्षेत्रबारे धारणा राखेका थिए ।
बैंकका संस्थापक कार्यकारी अध्यक्ष राजेन्द्र वीर रायले १६औं बार्षिकोत्सवसँगै सेवा बिस्तारको योजना सुनाए । ‘निकट भविष्यमै कपिलवस्तुको चन्द्रौटा र प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा नयाँ शाखा बिस्तार गर्न लागिएको छ’, कार्यकारी अध्यक्ष रायले माग र सुझावका आधारमा अन्य स्थानमा पनि शाखा बिस्तार गर्ने जानकारी दिंदै भने, ‘हामी सदासर्वदा, निक्षेपकर्तामा केन्द्रित रही आफ्ना सेवामा उत्कृष्टता थप्न लागि परेका छौं ।’

बैंकका अनुसार, २०५९ फागुन ७ गते नेपालगन्जमा केन्द्रीय कार्यालय रहने गरी स्थापना गरिएको कर्णाली डेभलपमेन्ट बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार ५० करोड चुक्ता पूँजी गर्न सफल भएको छ । पछिल्लो आर्थिक बर्ष तीन अर्ब ६५ करोड निक्षेप संकलन गरेको बैंकले २ अर्ब ७५ करोड कर्जा प्रवाह गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार रावतले जानकारी दिए ।

१६ औं बार्षिकोत्सवसम्म आइपुग्दा बाँके, बर्दिया र दाङ्गमा १७ वटा शाखाबाट कारोबार सञ्चालन गरिरहेको कर्णालीले उत्कृष्ट शाखा प्रमुख, उत्कृष्ट शाखा, उत्कृष्ट योगदान, लाइफटाइम एचिभमेन्ट जस्ता विधाहरुमा यस बर्ष सम्मान तथा पुरस्कार प्रदान गरेको छ । ‘आगामी बर्षदेखि उत्कृष्ट बचतकर्तालाई पनि पुरस्कारको योजना बनाइएको छ’, कार्यकारी अध्यक्ष रायले भने । बैंकको प्रगति विवरण सुनाउँदै प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार रावतले बैंक निरन्तर प्रगति उन्मुख रहेको बताए ।
बार्षिकोत्सवमा योङ परफरमेन्स अफ द इयर २०७६ पुरस्कारबाट केन्द्रीय कार्यालयका हरिकृष्ण बिसी र बिजौरी शाखाका रञ्जु मल्ललाई प्रमुख कार्यकारी अधिकृत रावतले पुरस्कृत गरे । ब्रान्च मेनेजर अफ द इयरबाट तुल्सीपुर शाखाका सुमन बस्नेतलाई राष्ट्र बैंकका निर्देशक मुक्ति सापकोटा, उत्कृष्ट कार्यसम्पादन लमही शाखाका सागर थापा र गुलरियाका सुमन गौतमलाई नगरप्रमुख डा. धवल समशेर राणाले पुरस्कार प्रदान गरे । उत्कृष्ट शाखा प्रमुख सुमन बस्नेत र लाइफ टाइम एचिभमेन्ट अवार्डबाट केन्द्रीय कार्यालयका नरजित बस्नेतलाई कार्यकारी अध्यक्ष राजेन्द्र वीर रायले पुरस्कृत गरेका थिए ।








