सहकारी अपचलन प्रकरण : तिहार पनि पीडामा


बिदा पछि बहस

नेपालगन्ज
सहकारी वित्तीय विकास संस्थाका पीडितहरुले आफ्ना रकम विना अभावमा ठूला पर्वहरु मनाउनु परेको छ । गत जेठमा सहकारी समस्यामा आएपछि बचतकर्ताले आफ्नो रकम फिर्ता पाउन नसकेका हुन् । ईद, बकरईद, दशैं र तिहार जस्ता पर्वका बेला आफ्नै रकम फिर्ता लिन उनीहरु सडकमै उत्रनु पर्यो ।


आवश्यकताका बेलाका लागि बचतकर्ताले राखेको रकम फिर्ता नपाउन नसकेपछि उनीहरुमा तनाव र आक्रोश पाइन्छ । बचतकर्ताहरुले रकम फिर्ताका लागि अनेकन पटक आन्दोलन गरेपनि अझै रकम कहिले फिर्ता हुन्छ भन्ने टुंगो छैन । ‘बिरामी भएर थलिदा समेत सहकारीमा राखेको पैसा बचतकर्ताले फिर्ता पाउन सकेनन्’, बचतकर्ताको रकम फिर्ताका लागि पहल गर्न गठित संघर्ष समितिका अध्यक्ष विजय गुप्ता भन्छन् ।


बचतकर्ताहरु दोषीलाई कारवाहीसँगै आफ्नो बचत रकम फिर्ता गर्ने वातावरण बनाउन आन्दोलित हुँदै आएका हुन् । परसपुरका अकबाल बेहनाले ८ लाख भन्दा बढी रकम सहकारीमा फँसेको बताए । उनी पर्वका बेला पनि पैसा नपाएको दुखेसो गर्छन् ।


प्रेमलाल लोहारले १० लाख रुपैयाँ सहकारीमा बचत गरेका थिए । लोहार पर्वका बेला मात्रै नभई अप्ठ्यारो अवस्थामा पनि पैसा पाउन नसकेको बताउँछन् । सहकारीले सुरुमा १० प्रतिशत रकम फिर्ता गर्दा समेत लोहारले एक रुपैयाँ पाउन सकेनन् । ‘टोकन विहान नै बाँडिन्थ्यो, म पुग्दा टोकन बन्द हुन्थ्यो’, उनी भन्छन् । आफ्नो रकमका लागि काम छाडेर आन्दोलनमा गर्नुपरिरहेको बताउँछन् । बिर्ताका बिर्खु प्रसाद पनि अप्ठयारो पर्दा काम लाग्न भनेर राखेको ६ लाख रुपैयाँ सहकारीबाट पाउन नसकेको बताउँछन् ।


सहकारी समस्यामा आएपनि कर्मचारीबाट असुल गरी सहकारी सञ्चालनमा ल्याउने, समस्याग्रस्त घोषणा गर्ने लगायतको प्रयास भएपनि सफल हुन सकेन । धितो राखेर ऋण लिएकाहरुलाई कहाँ ऋण तिरेर आफ्नो बन्दक रहेको सम्पत्ती फिर्ता लिने हो भन्ने अन्योलमा छन् ।
प्रहरीले अनुसन्धान पनि ४१ विरुद्ध अदालत दायरको मुद्दामा बहस जारी छ । पक्राउ परेका प्रतिवादीको बयान सकिएपछि थुनछेक बहस सुरु भैसकेको छ । पर्व बिदाका कारण रोकिएको बहस अब बिहीबार अदालत खुलेपछि सुरु हुनेछ ।

प्रतिक्रिया

प्रतिक्रिया