आज नेतृत्व छान्दै जडिबुटी व्यवसायी, सर्वसम्मत प्रयास असफल

नेपाल जडिबुटी व्यवसायी संघको आगामी निर्वाचनका लागि आज आइतबार निर्वाचन गरिंदैछ । आगामी कार्यकालका लागि नेतृत्व चयन गर्न हुने निर्वाचन कार्यक्रम विहान ८ बजेदेखि राखिएको निर्वाचन समितिले जनाएको छ ।

 
आगामी कार्यसमिति सर्वसम्मत गर्ने प्रयास भैरहेकाले निर्वाचन कार्यक्रम केही पर सर्न बताइएको छ । यद्यपि, सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास शनिबार राती अबेरसम्म सफल हुन सकेन । ‘हामी सकभर सर्वसम्मत नेतृत्व चयन गरांै भनेर प्रयास गरिरहेका छौं’, संघका अध्यक्ष मो. याकुव अन्सारीले दैनिक नेपालगन्जसँग भने, ‘आइतबार विहान बसेर टुङ्गो लगाउँछौं ।’

 
सम्बद्ध स्रोतका अनुसार, अध्यक्षमा अन्सारी निरन्तरता दिने पक्षमा छन् । तर, उपाध्यक्ष सकिल अहमद जसगढ र महासचिव टंक प्रसाद शर्मा वर्तमान नेतृत्वलाई निरन्तरता दिन चाहिरहेका छैनन् । उनीहरु मध्येबाट एक जना नेतृत्वमा आउने कुरामा पनि अन्सारी सकारात्मक छैनन् । ‘तीनै जनाले अडान छोडेनन्’, छलफलमा सहभागी एक अगुवा व्यवसायीले दैनिक नेपालगन्जसँग भने, ‘हामी त विकल्प दिने पक्षमा पनि छौं ।’

 
विकल्पका रुपमा संघका सल्लाहकार रविन्द्र नाथ शुक्ललाई अघि सारिएको छ । यद्यपि, शुल्क निर्वाचनमा जाने पक्षमा छैनन् । सर्वसम्मत दिने पक्षमा अरु छैनन् । यो सबै भूमरी बीच आज आइतबार हुने निर्वाचनले नयाँ नेतृत्व चयन गर्ने भने निश्चित छ । ‘तीन कार्यकाल उपाध्यक्ष बसिसकेकाले म नेतृत्वमा किन जान नपाउने ?’, अध्यक्षका दाबेदार जसगढले दैनिक नेपालगन्जसँग भने । महासचिव शर्मा पनि तीन÷तीन कार्यकाल महत्वपूर्ण जिम्मेवारी सम्हालेका नेतृत्वको दाबेदारी स्वभाविक रहेको बताउँछन् ।

प्रतिक्रिया

प्रतिक्रिया