होटल व्यवसायी संघ नेपालगन्ज बाँकेको आसन्न निर्वाचनका लागि भीम लाल कंडेलको नेतृत्वमा उम्मेदवारी घोषणा हुने भएको छ । यसअघि एउटै प्यानलले वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष उमा ग्राण्डनको नेतृत्वमा उम्मेदवारी घोषणा गरिसकेको छ । कंडेल महासचिव हुन् ।
‘सकभर सर्वसम्मत कार्यसमिति बनोस् भन्ने कुरामा कसरत गरिंदा उम्मेदवारी घोषणा ढिलो भएको हो’, संघका पूर्व अध्यक्ष भाष्कर काफ्लेले दैनिक नेपालगन्जसँग भने, ‘अझै पनि प्रयास जारी राख्ने गरी टिम चाही तयार गरेका छौं ।’ काफ्लेले आज बिहीबार पत्रकार सम्मेलन गरी टिम घोषणा गरिने भएकाले बाँकी कुरा त्यही सार्वजनिक गरिने बताए ।
सम्बद्ध स्रोतका अनुसार, नेतृत्वको दाबेदारी गरिरहेका रंग बहादुर खड्का र कंडेललाई सहमत गराई प्यानल घोषणा गर्न लागिएको हो । कंडेल अध्यक्ष र खड्का महासचिव रहने गरी बनाइएको प्रस्तावित उम्मेदवारी आज औपचारिक घोषणा गरिने बताइएको छ ।
आगामी माघ १३ गते होटल व्यवसायी संघ नेपालगन्ज बाँके बार्षिक साधारणसभा तथा अधिवेशन गर्दैछ ।