वामपन्थी व्यापारीको चासो, नेपालगन्जको भविष्य

तत्कालीन नेकपा एमाले र पूर्व माओवादी केन्द्र एकता घोषणा भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी निकट व्यापारीहरुले पहिलो पटक नेपालगन्जमा बृहत जमघट गरेका छन् । विभिन्न पर्वलाई लक्षित गर्दै शुभकामना आदानप्रदान गर्न बुधबार नेकपा सम्बद्ध उद्योगी, व्यापारीहरुको बृहत जमघट भएको हो ।

 
नेकपा सम्बद्ध संघीय सांसददेखि प्रदेश सभा सदस्य, स्थानीय निकायका प्रतिनिधिहरु सम्मलित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा अधिकांस उद्योग, व्यवसायिक क्षेत्रका प्रतिनिधिहरुले नेपालगन्जको भविष्यप्रति चिन्ता व्यक्त गरे । त्यसलाई सम्बोधन गर्दै जनप्रतिनिधिहरुले बाँके जिल्लाको भविष्यका लागि राजनीतिक संरक्षणको सुनिश्चितता गरेका छन् ।
‘पदको बागवण्डा होइन, देश बनाउन केन्द्रित हुनुस्’, सामाजिक क्षेत्रका अगुवा समेत रहेका राष्ट्रिय वाणिज्य संघका केन्द्रीय वरिष्ठ सल्लाहकार मधुसुदन शर्मा रिजालले भने, ‘अब तपाईहरु निजी स्वार्थ र राजनीतिक भागवण्डामा केन्द्रित हुनुभयो भने देशले दुर्गती व्यहोर्नु पर्छ ।’ संघका जिल्ला अध्यक्ष भाष्कर काफ्लेले नेपालगन्जको भविष्यप्रति गम्भीर चिन्ता गर्दै जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराए । ‘नेपालगन्जको भविष्य दाङको कोइलाबास र बर्दियाको राजापुर जस्तो नहोस्’, राज्य पुनर्संरचनाका क्रममा बाँके जिल्लालाई सबै तिरबाट वेवास्ता गरिएको भन्दै वाणिज्य संघका अध्यक्ष काफ्लेले भने, ‘बेलैमा नेपालगन्जको भविष्य जोगाउन राजनीतिक प्रतिबद्धताको खाँचो छ ।’

 
ठूलो संख्यामा उद्योगी, व्यवसायीहरुको सहभागिता रहेको कार्यक्रममा प्रमुख अतिथि, प्रतिनिधिसभा सदस्य नन्दलाल रोकायले मुलुकलाई उत्पादनसँग जोडेर हिड्न सकेमात्र समृद्धिको बाटो तय हुने बताए । उद्योगी, व्यवसायीहरु बीच राजनीतिक विचार प्रकट गरेका सांसद रोकायले वर्तमान सरकारले गरेका राम्रा कामहरुको प्रतिफल आउने बेला भएको बताए । ‘त्यसैले काँग्रेस अत्तालिएको छ’, सांसद रोकायले भने ।

 
प्रदेश सभा सदस्य आइपी खरेलले सरकारका सकारात्मक कदमहरुको खुलेर प्रशंसा गर्न आव्हान गरे । प्रदेश सभा सदस्य खरेलसँगै अर्का प्रदेशसभा सदस्य कृष्णा केसीले प्रदेश ५ को राजधानी सबैलाई पायक पर्ने ठाउँमा हुने कुरामा आफुहरु विश्वस्त रहेको बताए । अर्का सांसद बाबुराम गौतमले नेकपाको सरकारले प्रदेशदेखि केन्द्रसम्म मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउने गरी योजनाबद्ध काम गरिरहेको बताए ।

 
राष्ट्रिय वाणिज्य संघ र राष्ट्रिय उद्योग व्यापार संगठन बाँकेले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा वक्ताहरुले राजनीतिक स्थिरतासँगै समृद्धिको बाटोमा सरकार जनतासँग एकाकार भएर अगाडि बढ्नु पर्ने कुरामा जोड दिए । संगठनका केन्द्रीय उपाध्यक्ष दामोदर आचार्यले मातृ पार्टी नेकपासँगै उद्योगी, व्यवसायीहरुको संगठनमा पनि स्थानीय स्तरसम्म सांगठनिक एकिकरण हुने बताए । ‘छिट्टै एकता प्रक्रिया टुङ्गिदैछ’, १ सय ५१ सदस्यीय केन्द्रीय समिति बनेको, विधान तयार भएको जानकारी दिंदै आचार्यले भने, ‘एकतापछिको संगठन एउटा सशक्त ऊर्जावान शक्तिका रुपमा स्थापित हुनेछ ।’

 
संघका अध्यक्ष भाष्कर काफ्ले र संगठनका अध्यक्ष बसन्त लामिछानेले संयुक्त अध्यक्षता गरेको कार्यक्रमको संघका सचिव मुकुट ढकालले गरेका थिए । कार्यक्रममा नेकपाका नेता अशोक कोइराला, अक्कल बहादुर बम, गोपाल गिरी, व्यापारी नेता कपिल अधिकारी, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारु लगायतले आफ्ना धारणा राखेका थिए ।
नेकपाले प्रदेश स्तरीय शुभकामना कार्यक्रम गर्दै
बुटवल÷समाचादाता
दैनिक नेपालगन्ज

 
नेकपाले शनिबार बुटवलमा गर्ने शुभकामना कार्यक्रमलाई प्रदेश स्तरको विशेष बनाउने भएको छ । नेकपा रुपन्देहीले बुधबार पुष्पलाल स्मृति भवन बुटवलमा पत्रकार भेटघाट गर्दै कार्यक्रमका बारेमा जानकारी गराएको छ । बुटवलमा मण्डपमा आयोजना हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको नेकपा रुपन्देहीले जनाएको छ ।

 
बडा दशैं, तिहार, नेपाल संवत ११३९, छठ, ल्होसारलगायतका समस्त नेपाली चाडपर्वहरुका उपलक्ष्यमा आयोजना हुने उक्त शुभकामना कार्यक्रममा पाँच नम्बर प्रदेशका सबै जिल्लाको प्रतिनिधित्व रहने नेकपा नेताहरुले बताएका छन् । ‘नयाँ संविधान लागु भएर तिनबटै निर्वाचन सम्पन्न गरी मुलुक समृद्धिको अभियानमा हिडिरहेको वर्तमान अवस्थामा राज्यका सबै निकाय, राजनीतिक दल, नागरिक समाज तथा विकासका साझेदार मित्रहरुका बिचमा बलियो एकता र आपसी विश्वास अभिवृद्धि गर्नुपर्नेछ’ पत्रकार भेटघाटमा नेकपाका नेताहरुले सोही कामका लागि शुभकामना कार्यक्रम राखिएको जानकारी गराए ।

 
‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक तथा बहुधार्मिक विविधताले भरिपुर्ण राष्ट्र हो । विविधता भित्रको एकता, आपसी सद्भाव, सहिष्णुता तथा समझदारी र सहकार्यको आफ्नै विशेषता अनि सदियौंदेखि चल्दै आएका परम्पराले नेपाली समाजलाई सप्तरंगी इन्द्रेणी जस्तै बनाएको छ ।’ नेकपाका तर्फबाट शिवराज सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘नेपाली समाजमा चलिआएका चाडपर्व तथा संस्कृतिहरुले नेपाली–नेपाली बिचको एकतालाई अझ मजबुत र अटुट बनाएको छ ।’

 
नेकपाले नेपालीहरुले मनाउँदै आएका चाडपर्व र साँस्कृतिक पर्वहरुका अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आइरहेको छ । उक्त शुभकामना कार्यक्रममा पार्टीका नेता कार्यकर्ता तथा आम जनसमुदायहरु, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशका सांसदहरु, उद्योगी ब्यापारी, शिक्षक, प्राध्यापक, बिद्यार्थी, कलाकार, मजदुर, युवा, महिला, पत्रकार, विभिन्न कार्यालयका प्रमुखहरु, सुरक्षा अंगका प्रमुखहरु, विभिन्न तहमा निर्वाचित जनप्रतिनिधिहरु, विभिन्न पार्टीका नेताहरु, विभिन्न पेशा तथा समुदायका विशिष्ट ब्यक्तित्वहरु लगायतलाई आमन्त्रण गरिएको नेताहरुले बताएका छन् । शुभकामना कार्यक्रमका लागि निमन्त्रणा गर्ने जिम्मेवारी वडा तहका कमिटीहरुलाईसमेत दिइएको छ ।

 
कार्यक्रममा कम्तिमा एक लाख जनाको सहभागिता रहने आयोजकले अनुमान गरेका छन् । उक्त कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र महासचिव तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायतका नेताहरुको सम्बोधन रहने छ । हाल अस्पतालमा उपचाररत प्रधानमन्त्री ओली स्वस्थ भइसकेको र उक्त कार्यक्रममा सरिक हुने आयोजकले दाबी गरेका छन ।

 
नेकपा नेता शिवराज सुवेदीको अध्यक्षता र नेता निर्मलकुमार जिसीको सञ्चालनमा भएको पत्रकार सम्मेलनमा नेकपा नेताहरु केन्द्रीय सदस्य लिला गिरी, दधिराम न्यौपाने ‘एमएस’, एकराज विश्वकर्मा तथा नेकपा कार्यदलका सदस्य अनुप बराल र बिमला पन्थीलगायतका नेताहरु उपस्थित थिए ।

प्रतिक्रिया

प्रतिक्रिया