नरैनापुरको बजेट पारित

४० करोड बजेटमा पूर्वाधार विकासका लागि ११ करोड विनियोजन
नरैनापुर गाउँपालिकाले सोमबार आर्थिक बर्ष ०७५÷७६ को बजेट तथा कार्यकम पारित गरेको छ । गाउँपालिकामा सोमबार आयोजित दोस्रो गाउँसभाले बजेट तथा कार्यकम पारित गरेको हो ।

 

 

यसअघि नरैनापुरले असार १० गते नीति तथा कार्यक्रम ल्याएको थियो । सोही नीति अनुसार नै बजेट पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले जानकारी दिए । गाउँसभामा गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले ४० करोड ४ लाख ३१ हजार आय र ४२ करोड ४ लाख ३१ हजार व्ययको बजेट प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको बजेटमा आय भन्दा व्याय २ करोडले बढी छ । जुन संघीय सरकार र प्रदेश सरकारसँग माग गरी तथा आन्तरिक स्रोत परिचालन क्षमतामा अभिबृद्घि मार्फत पूर्तिको लक्ष्य राखिएको बजेट वक्तव्यमा उल्लेख छ ।

 
बजेटमा पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखिएको छ । जसका लागि मात्रै २६ प्रतिशत अर्थात् ११ करोड रुपैयाँ विनियोजन गरिएको छ । बजेटले गरिबी न्यूनीकरण, शिक्षा, स्वास्थ तथा सरसफाई, कृषिको आधुनिकीकरण, विविधिकरण, व्यवसायीकरण, उत्पादन र उत्पादकत्व बृद्धि, वातावरण संरक्षण, मौलिक संस्कृतिको संरक्षण, सामाजिक सुरक्षा तथा लक्षित कार्यक्रम, सार्वजनिक प्रशासन र सेवा प्रवाहमा सुधारलाई प्राथमिकतामा राखेको छ ।

 
बजेटमा सौर्य उर्जाका लागि ३ करोड, स्वास्थ्यमा ८२ लाख, कृषि र पशुका लागि ६२ लाख, विद्यालयको भौतिक सुधारका लागि १ करोड २० लाख, लैंगिक समानता तथा समावेशीकरणका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया