आन्तरिक राजश्व विभागले करको विवरण नबुझाएका, मुअकर नबुझाएका करदाताहरुका लागि ब्याज तथा जरिवाना मिन्हाको ‘स्किम’ ल्याएको छ । ‘लामो समयदेखि करको विवरण नबुझाएका व्यवसायीहरुलाई कर तिर्न आकर्षित गर्न स्किम ल्याइएको हो’, अन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख कर अधिकृत जनक राज शर्मा भन्छन्, ‘यसले राजश्व असुलीमा सकारात्मक प्रभाव परेको छ भने करदाताहरुले पनि लाभ उठाउने अवसर प्राप्त भएको छ ।’ उक्त सुविधा सरकारले जेठ १५ गतेदेखि लागु हुने गरी ल्याएको हो ।
प्रमुख कर अधिकृत शर्माका अनुसार, बर्षौदेखि स्थायी लेखा नम्बर लिई कारोबार गरिरहेका, कारोबार गर्न छाडेका आ.व. ०७२÷०७३ अघि वा सो भन्दा अघिसम्मको आय विवरण पेश नगरेका करदाताले आ.व. ०७१÷०७२ र ०७२÷०७३ को आय विवरण र सो मा लाग्ने आयकर २०७५ साल पुस मसान्तसम्म बुझाएमा सोम भन्दा अघिका बर्षहरुको आय विवरण पेश गर्नु नपर्ने र सोमा लाग्ने कर, शुल्क तथा ब्याज समेत मिनाह हुने व्यवस्था रहेको छ ।
त्यस्तै आन्तरिक राजश्व कार्यालयले मूल्य अभिवृद्धि कर विवरण बुझाउने करदातालाई जरिवाना, थप दस्तुर र ब्याज मिन्हाको स्किम पनि ल्याएको छ । प्रमुख कर अधिकृत शर्माका अनुसार, ०७४ असार मसान्तसम्म मूल्य अभिवृद्धि कर विवरण पेश नगरेका करदाताले मुअकर रकम २०७५ पुस मसान्त भित्र बुझाएमा सोमा लाग्ने जरिवाना, थप दस्तुर र ब्याज मिन्हा हुने व्यवस्था गरिएको छ । ‘तर, उक्त अवधि भित्र पनि अवसरको सदुपयोग नगरेका, ०७१ असार सम्म वा सो भन्दा अघिदेखिको कर विवरण पेश नगर्ने करदाताहरुको दर्ता खारेज हुनेछ’, प्रमुख शर्माले भने । ‘यो करदाताहरुका लागि महत्वपूर्ण अवसर हो’, प्रमुख कर अधिकृत शर्मा भन्छन्, ‘सरकारले दिएको अवसर सदुपयोग नगर्ने करदातालाई सुरुदेखि जरिवाना, ब्याज सहित सरकारले कुनै पनि बेला असुलीको कारवाही अगाडि बढाउन सक्छ ।’
निरन्तर अनुगमन
आन्तरिक राजश्व कार्यालयले राजश्व सम्बन्धित अनुगमनलाई निरन्तरता दिइरहेको प्रमुख कर अधिकृत शर्मा बताउँछन् । ‘निरन्तर करदाता कहाँ पुगेर आवश्यक सुझाव र नियमित विपरित गर्ने करदातालाई कारवाहीको दायरामा ल्याउँदै आएका छौं’, शर्माले भने । चा.लु आ.व.मा राजश्वको नियम विपरित रहेका १७ व्यवसायीलाई कारवाही गरिएको आन्तरिक राजश्व कार्यालयले जानकारी दिएको छ । आन्तरिक राजश्व कार्यालयले चालु आ.व.मा २ सय ९८ पटक अनुगमन गरिसकेको छ ।
१२ हजार बढी करदाता थपिए
मध्य र सुदुरका १० जिल्ला हेर्ने आन्तरिक राजश्व कार्यालय नेपालगन्जमा १२ हजार बढी करदाता थपिएका छन् । यसले संघीयतासँगै मुलुकमा करको दायरामा आउने र नयाँ व्यवसायिक प्रतिष्ठानहरु थपिएको देखिन्छ ।
चालु आ.व. ०७४÷०७५ मा १२ हजार ४ सय ९६ करदाता थपिएको आन्तरिक राजश्व कार्यालय नेपालगन्ज प्रमुख जनक राज शर्माले जानकारी दिए । उनका अनुसार, यससँगै आन्तरिक राजश्व कार्यालय नेपालगन्ज अन्तर्गत दर्ता भएका करदाताको संख्या ९२ हजार ५ सय ६९ पुगेका छन् ।
आन्तरिक राजश्व कार्यालय नेपालगन्ज अन्तर्गत चालु आ.व.मा मात्रै मुअकरमा १ हजार २ सय ७६ दर्ता भएका छन् । यससँगै मुअकरमा दर्ता हुनेको संख्या ७ हजार ९ सय ९० पुगेको छ । त्यस्तै चालु आ.व.मा १ हजार ४६ अन्तशुल्क दर्तामा हुनेको संख्या थपिएको छ । यससँगै आन्तरिक राजश्व कार्यालय नेपालगन्जमा मुअकरमा दर्ता हुने व्यवसायी संख्या ४ हजार २ सय ४३ पुगेको छ ।