समाचारदाता
दैनिक नेपालगन्ज
नेपाल राष्ट्र बैंक नेपालगन्जका उपनिर्देशक कमल प्रकाश कालाथोकीले यस क्षेत्रका बैंक तथा वित्तीय संस्थामा निक्षेपको तुलनामा कर्जा प्रवाह उच्च भएको खुलाएका छन् ।
आइतबार एक कार्यक्रममा उपनिर्देशक कालाथोकीले नेपाल राष्ट्र बैंक नेपालगन्जको कार्यक्षेत्रमा निक्षेपको तुलनामा कर्जा प्रवाह उच्च भएको बताए । ‘निक्षेपले कर्जा धान्न सकिरहेको छैन’, निक्षेपको तुलनामा कर्जा बढ्दै गैरहेको तथ्यांक प्रस्तुत गर्दै उपनिर्देशक कालाथोकीले भने, ‘कृषि कर्जा प्रवाह भने निकै कम छ ।’
नेपालगन्ज कार्यक्षेत्रमा ८८ अर्ब निक्षेप संकलन भएको पछिल्लो तथ्यांक दिंदै उपनिर्देशक कालाथोकीले कर्जा भने १ सय ९ अर्ब रुपैयाँ प्रवाह भैसकेको बताए । ‘औद्योगिक कर्जाको तुलनामा कृषि कर्जा प्रवाह निकै कम छ’, कालाथोकीका अनुसार, १ सय ९ अर्ब रुपैयाँ मध्ये ७ अर्ब मात्रै कृषि कर्जामा प्रवाह भएको छ । कालाथोकीले गण्डकी विकास बैंकको नेपालगन्ज शाखा उद्घाटन कार्यक्रममा बैंक तथा वित्तीय संस्थाहरुलाई कृषि कर्जा प्रवाहमा गम्भीर हुन ध्यानाकर्षण पनि गराए ।
बैंकिङ सेवा सहर केन्द्रित मात्रै भैरहेकोमा कालाथोकीले असन्तुष्टि देखाउँदै भने, ‘सहरमा बैंकिङ सेवा जति छ बाहिर पनि पुर्याउन जरुरी छ ।’ उपनिर्देशक कालाथोकीका अनुसार, नेपाल राष्ट्र बैंक नेपालगन्जको कार्यक्षेत्र भित्र २८ वटै राष्ट्रिय स्तरका वाणिज्य बैंकले २ सय १६ बढी शाखा सञ्चालनमा ल्याएका छन् । ११ विकास बैंकका ८१ वटा शाखाले सेवा प्रवाह गरिरहेको नेपालगन्ज कार्यक्षेत्रमा ४ वटा फाइनान्स कम्पनीले ८ वटा शाखा मार्फत कारोबार गरिरहेका छन् । ‘फाइनान्स कम्पनीहरुको उपस्थिति भने कम छ’, उपनिर्देशक कालाथोकीले भने ।