नेपालमा सबैभन्दा बढी मुनाफा कमाउने पाँच तारे सोल्टी होटलले नेपालगन्जमा आफ्नो शाखा विस्तार गरेको छ । राजधानी काठमाडौमा होटल सञ्चालन गरेको पचास वर्षपछि नेपालगन्जमा चार तारे होटल संचालनमा ल्याएको हो । नेपालगन्जको कारकादौंमा चार तारे बिजनेश होटल, सोल्टी वेष्टेन्ड प्रिमियर नाममा सोमवार देखि आंशिक रुपमा सञ्चालनमा आएको सोल्टी नेपालकै पहिलो ग्रीन होटल रहेको व्यवस्थापनले जनाएको छ । यसले प्राकृतिक संसारलाई क्षय पुर्याउने कुनै काम गर्दैन, अंग्रेजी नयाँ वर्ष सन् २०१८ को स्वागतसँगै होटलको सप्ट ओपेनिंग गरिएको जानकारी दिंदै होटलका प्रमुख कार्यकारी इन्द्र खड्काले भने ।
आइतवार मध्यराती सयौं सेवाग्राही माझ होटल आंशिक रुपमा सञ्चालन खुला गरिएको उद्घोष गरिएको हो । औपचारिक कार्यक्रममा नेपाल र भारतका चर्चित कलाकारहरुको साँगीतिक प्रस्तुति बीच पूर्व राजा ज्ञानेन्द्र शाह सहभागी थिए । पूर्व राजा ज्ञानेन्द्र आफ्ना आफन्त सहित सपरिवार ५ दिनदेखि नेपालगन्ज स्थित सोल्टीमा बसिरहेका छन् ।
नयाँ वर्ष मनाउन नेपाल बोलाइएका पूर्व राजा ज्ञानेन्द्रका भारतीय आफन्तहरुको साथमा पूर्व राजपरिवारका सदस्यहरुले विशेष कक्षमा उत्सव मनाइँरहँदा बाहिर सोल्टी परिसरमा इण्डियन आइडल तोरशा सरकार, नेपाली गायिका श्रेया सोतांग लगायतले प्रस्तुति दिएका थिए । त्यसबीच पूर्व राजा ज्ञानेन्द्र सर्वसाधारण सेवाग्राही सँग कार्यक्रम स्थलमा पुगेर फोटो सेसन देखि भेटघाट सम्मका औपचारिकता निभाएका थिए । आफ्नो महत्वपूर्ण लगानी रहेको सोल्टीको सप्ट ओपेनिंगका लागि नयाँ वर्ष रोज्न पूर्व राजा ज्ञानेन्द्रको परिवारबाट रुचि देखाइएको बताइएको छ ।
होटलको पूर्ण रुपमा सञ्चालन भने आगामी फागुनबाट आउने जानकारी दिंदै प्रमुख कार्यकारी खड्काले दैनिक नेपालगन्ज सँग भने, आज सोमवारबाट ५० रुम खुला गरिएको छ । दुई विघा क्षेत्रफलमा निर्माण गरिएको होटल सोल्टीमा २० वटा क्लब रुम र ४ वटा स्वीट रुम देखि ३० सीट क्षमताको बार समेत सञ्चालनमा आइसकेको व्यवस्थापनले जनाएको छ । विवाह, ब्रतबन्ध लगायतका भोजका लागि ८ सय जना अट्ने ब्यांकेट हल समेत होटलभित्रै रहेको र तीन सय जना अट्ने कन्फ्रेन्स हल प्राकृतिक वातानुकुलित प्रविधि जडान गरिएको बताइएको छ ।
पर्यटकलाई लक्षित गरि होटल सञ्चालनमा ल्याइएको जानकारी दिंदै प्रमुख कार्यकारी खड्काले नेपालगन्जकै मध्यम वर्गका सेवाग्राहीका लागि पनि स्वागत गर्न सकिने योजना बनाइएको बताए । हामीले कैलास मानसरोवर जाने विदेशी पर्यटकलाई लक्षित गर्दै नेपालगन्जमा होटलका व्यवस्थाहरु बनाएका छौं ‘किनकी नेपालगन्ज कैलाश मानसरोवर जाने पर्यटकको लागि प्रवेशद्धार नै हो ।
सम्बद्ध स्रोतका अनुसार, होटलमा सोल्टी र एनई समूहको सिवक्रिम होटल्स एन्ड रिसोर्ट प्रालिको लगानी छ । होटलमा सोल्टी हस्पिटालिटी लिमिटेड, सिबक्रिम ल्यान्ड एन्ड इण्ड्रष्ट्रियल कम्पनी र सोल्टी इन्टरप्राइजेज सञ्चालक छन् । सोल्टी इन्टरप्राइजेज होटल सोल्टीकै बहुमत स्वामित्व भएको कम्पनी हो ।
सोल्टी हस्पिटालिटी, सिबक्रिम ल्यान्ड एन्ड इण्डष्ट्रियलको ३० र सोल्टी इन्टरप्राइजेजको ४६ प्रतिशत शेयर छ । सोल्टीको नेपालगन्जको होटल क्राउन प्लाजा चेनको रुपमा भने नरहेको बताइएको छ । यो होटल नेपालगन्जमा सोल्टी ब्राण्डमा मात्रै सञ्चालन हुनेछ । युवराज हिमालय शम्सेर उनकी श्रीमती प्रिन्सेस राज्यलक्ष्मीले सन् २०२२ सालमा सोल्टी होटल स्थापना गरेका थिए । सोल्टीको अहिले बजार पुँजीकरण २० अर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।
विश्वबजारमा पहुँच स्थापना गर्न सफल सोल्टीले नेपालगन्जमा सोल्टी वेष्टेन्ड प्रिमियर नाममा शाखा विस्तार गर्दा यहाँको पर्यटन विकासमा सकारात्मक सन्देश गएको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले बताए ।
पूर्वराजा ज्ञानेन्द्रले यसबीच होटल प्रवद्र्धनका लागि हरेक क्षेत्रका अगुवाहरुसँग प्रतिनिधिमूलक भेटघाट गरेका छन् । उद्योगी व्यवसायी देखि सुरक्षा अधिकारी संग समेत पर्यटकीय सम्भावना देखि सुरक्षा अवस्था सम्मको जायजा लिएका छन् ।