नेपालगन्जमा बुटिक फेसन शो गरिंदै

नेपालगन्जमा पहिलो पटक ‘बुटिक फेसन शो’ आयोजना गरिने भएको छ । विक्रम सम्वत २०७९ को पूर्व सन्ध्यामा चैत्र ३० गते साइनो क्रियसनले फेसन शो गर्न लागेको हो ।

आयोजक साइनो क्रियसनले पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार, बाँकेका अग्रणी २० जना मोडेललाई र्याम्पमा उतारेर फरक बुटिक फेसनलाई दर्शक माझ पुर्याइनेछ । ‘ब्राण्ड प्रमोसन गर्ने उद्देश्यले पहिलो पटक यो थालनी गर्न खोजेका हौं’, बुटिक फेसन शोका परिकल्पनाकार, साइनो क्रियसनका प्रमुख, उत्कर्ष शाक्यले पत्रकारहरुसँग भने, ‘विजनेश प्रपोज भन्दा नेपालगन्ज सहरलाई फेसनका दृष्टिले पनि चिनाउने रहर हो ।’

तीन वटा बुटिकले आ–आफ्नो सिर्जनात्मक डिजाइनलाई ब्रान्डिङ थिममा तयार गरिएका मोडेल र्याम्पमा उतार्नेछन् । आयोजकका अनुसार, लुम्बिनी र नेपालगन्जको ऐतिहासिक विरासतलाई एकै ठाउँमा राखेर फेसन शो गर्न खोजिएको छ । ‘मोडेलहरु भन्दा र्याम्पमा बुटिकका डिजाइनले प्रतिस्पर्धा गर्नेछन्’, त्यसका लागि सिटर्स बुटिक, पटुकी डिजाइन्स र गोल्डेन थ्रिएट बुटिकले आयोजक साइनो क्रियसनसँग हातेमालो गरेका छन् ।

‘यसले नेपालगन्जको हेरिटेजलाई सबै सामु पुुर्याउन हामीले गर्न खोजेको पहलकदमी सार्थक होला भन्ने विश्वास छ’, लक्षित एक हजार बढी दर्शक माझ चर्चित गायिका इन्दिरा जोशीको प्रस्तुति सहित फोटोग्राफी र मेकअपलाई एकै ठाउँमा राखेर इभेन्ट आयोजना गर्न लागिएको जानकारी दिंदै शाक्यले भने ।

प्रतिक्रिया

प्रतिक्रिया