नेपाल प्रेस युनियनको ३५औँ स्थापना दिवस आज, काठमाडौँमा विधान महाधिवेशन हुँदै

नेपाल प्रेस युनियनले आज देशभर विविध कार्यक्रम आयोजना गरी आफ्नो ३५औँ स्थापना दिवस मनाउँदैछ। स्थापना दिवसका अवसरमा युनियनका देशभरका शाखाहरूले विभिन्न कार्यक्रम सञ्चालन गरेका छन् भने केन्द्रीय समितिले काठमाडौँमा विधान महाधिवेशन आयोजना गरेको छ।

महाधिवेशनको पूर्वसन्ध्यामा बिहान ७ बजे माइतीघर मण्डलामा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो। युनियनका अध्यक्ष शिव लम्सालका अनुसार बिहान ९ बजेदेखि विधान महाधिवेशन औपचारिक रूपमा सुरु हुनेछ। महाधिवेशनको उद्घाटन नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादवले गर्ने कार्यक्रम तय गरिएको छ।

युनियनका उपाध्यक्ष जीवन भण्डारीले विधान महाधिवेशनका लागि देशभरका शाखाबाट अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा तोकिएका प्रतिनिधिहरू काठमाडौँ आइपुगेको जानकारी दिए।

वि.सं. २०४८ साल जेठ १३ गते श्रमजीवी पत्रकारहरूको हकहित संरक्षणका लागि भएको ट्रेड युनियन आन्दोलनको उपलब्धिका रूपमा नेपाल प्रेस युनियनको स्थापना भएको थियो। सञ्चारकर्मीहरूलाई संगठित गर्दै श्रमजीवी पत्रकारहरूको पक्षमा निरन्तर वकालत गर्दै आएको युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघबाट नेपालमा सदस्यता प्राप्त गर्ने पहिलो संस्था समेत हो।

युनियनको पहिलो तदर्थ समितिको संयोजक पूर्वमन्त्री तथा तत्कालीन पत्रकार जेपी गुप्ता रहेका थिए। संस्थापक सदस्यहरूमा हरि अधिकारी, रमेश तुफान, राजेश ढुंगाना, शिरीषबल्लभ प्रधान, शोभाकर पराजुली, जगदीश घिमिरे, कन्हैयालाल केशरी, राजेश्वर नेपाली, हरिहरप्रसाद श्रेष्ठ, गणेशप्रसाद नेपाल, तारानाथ दाहाल, कृष्ण कँडेल, योगेश उपाध्याय, यादव थपलिया, रामचन्द्र उप्रेती र गणेशबल्लभ प्रधान रहेका थिए।

युनियनको नेतृत्व हालसम्म हरि अधिकारी, रमेश तुफान, तारा बराल, कुलचन्द्र वाग्ले, मुरारीकुमार शर्मा, समीरजंग शाह, किरण पोखरेल र बद्री सिग्देलले गरिसकेका छन् भने हाल शिव लम्सालले नेतृत्व सम्हालिरहेका छन्।

युनियनका महासचिव दिलीप पौडेलका अनुसार नेपाल प्रेस युनियनले श्रमजीवी पत्रकारहरूको हकअधिकार, प्रेस स्वतन्त्रता, लोकतन्त्र तथा मिडियामैत्री नीतिगत व्यवस्थाका पक्षमा निरन्तर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ।

प्रतिक्रिया

प्रतिक्रिया