नेपालगन्जको शितलन केन्द्र प्रभावकारी बन्दै

अत्यधिक गर्मी हुने नेपालगन्ज मा करिब छ महिनाअघि स्थापना गरिएको शितलन केन्द्र (कुलिङ सेन्टर) प्रभावकारी बन्दै गएको छ । नेपालगन्ज उपमहानगरपालिका–४ स्थित बसपार्क परिसरमा सञ्चालनमा रहेको उक्त केन्द्रमा यात्रु तथा श्रमिकहरूले निःशुल्क रूपमा शितलता र आरामको सुविधा लिन थालेका छन् ।

शितलन केन्द्रमा विशेषगरी दिउँसो १२ बजेदेखि ३ बजेसम्म लामो दूरीका यात्रु, यातायात कर्मचारी तथा श्रमिकहरूको चाप बढ्ने गरेको जयश्री बागेश्वरी यातायात व्यवस्थापन समितिका कर्मचारी नवीन बुढाथोकी ले जानकारी दिए । उनका अनुसार केन्द्रबारे जानकारी नभएका नागरिकलाई समेत निःशुल्क सेवा उपलब्ध रहेको जानकारी गराएर केन्द्रसम्म ल्याउने गरिएको छ ।

नेपालगन्जमा पहिलो पटक यस्तो प्रकारको शितलन केन्द्र सञ्चालनमा आएकाले धेरै नागरिक अझै यसबारे जानकार नभएको उनले बताए ।

नेपालगन्ज उपमहानगरपालिकाका विपद् सम्पर्क व्यक्ति दीपेन्द्र श्रेष्ठ ले केन्द्रको मर्मत, सम्भार तथा व्यवस्थापनका लागि निजी क्षेत्रसँग सहकार्य गरिएको जानकारी दिए । उनका अनुसार यो परियोजना नमूना अभ्यासका रूपमा सञ्चालन भएकाले यसको दीर्घकालीन प्रभाव मूल्याङ्कन गर्न अझै समय आवश्यक छ ।

उनले शितलन केन्द्रलाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्न सञ्चालन मोडेल परीक्षणकै चरणमा रहेको बताए । साथै प्रचार–प्रसारको अभावका कारण धेरै नागरिकले केन्द्रबारे जानकारी नपाएको उल्लेख गर्दै व्यापक सूचना प्रवाह आवश्यक रहेको धारणा व्यक्त गरे ।

नेपालगन्ज उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटी को संयुक्त सहकार्यमा निर्माण गरिएको उक्त केन्द्र नेपालगन्ज उपमहानगरपालिकाको करिब २७ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो । नेपाल रेडक्रस सोसाइटीले करिब १२ लाख रुपैयाँ बराबरका उपकरण तथा सामग्री सहयोग गरेको जनाएको छ ।

१ हजार २९१ वर्गफिट क्षेत्रफलमा निर्माण गरिएको वातावरणमैत्री संरचनायुक्त केन्द्रमा कुलिङ सिस्टम, आपतकालीन स्वास्थ्य सेवा, पिउने पानी लगायतका सुविधा उपलब्ध छन् । केन्द्रमा युपिभिसी छाना, जिप्सम बोर्ड सिलिङ, चारवटा दुई टन क्षमताका इन्भर्टरयुक्त एसी, आठवटा पंखा, वाटर कुलर, पानी ट्यांकी, ६० सिट क्षमताका फलामका कुर्सी तथा एलइडी बत्ती जडान गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले ‘सुपर परियोजना’सँगको सहकार्यमा हिटवेभ व्यवस्थापनसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । साथै उपमहानगरपालिकाले वडा नं. १२ मा समेत यस्तै प्रकारको अर्को शितलन केन्द्र निर्माण गर्ने तयारी गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत कोहलपुर कार्यालयका अनुसार पछिल्लो समय नेपालगन्ज क्षेत्रमा तापक्रम निरन्तर वृद्धि भइरहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया