मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउँदा गत वैशाख महिनामा देशभर १२४ वटा सवारी दुर्घटना भएको नेपाल प्रहरी ले जनाएको छ । ती दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने १७४ जना घाइते भएका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्ले का अनुसार काठमाडौँ उपत्यकाभित्र मात्रै वैशाख महिनामा मापसेका कारण ३७ वटा दुर्घटना भएका छन् । ती दुर्घटनामा दुई जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएका छन् ।
प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा ३५ दुर्घटनामा दुई जनाको मृत्यु तथा ५३ जना घाइते भएका छन् । मधेस प्रदेशमा २० दुर्घटनामा २७ जना घाइते भएका छन् भने बागमती प्रदेशमा १२ दुर्घटनामा एक जनाको मृत्यु र १९ जना घाइते भएका छन् ।
त्यसैगरी गण्डकी प्रदेशमा पाँच दुर्घटनामा चार जनाको मृत्यु तथा तीन जना घाइते भएका छन् । लुम्बिनी प्रदेशमा नौ दुर्घटनामा तीन जनाको मृत्यु र १५ जना घाइते भएका छन् । कर्णाली प्रदेशमा तीन दुर्घटनामा तीन जना घाइते भएका छन् भने सुदूरपश्चिम प्रदेशमा भएका तीन दुर्घटनामा चार जना घाइते भएको प्रहरीले जनाएको छ ।
प्रवक्ता काफ्लेले मापसेका कारण सवारी दुर्घटनाको जोखिम उल्लेखनीय रूपमा बढ्दै गएको भन्दै सबै चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेका छन् । विशेषगरी रातिको समय, सार्वजनिक बिदा तथा पर्व–उत्सवका अवसरमा मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति बढी देखिने गरेको उनले बताए ।
उनका अनुसार मापसे गरी सवारी चलाउनु गम्भीर कानुनी अपराध मात्र नभई मानव जीवनका लागि अत्यन्त जोखिमपूर्ण कार्य हो । मादक पदार्थ सेवनपछि चालकको निर्णय क्षमता कमजोर हुने, सवारी नियन्त्रणमा कठिनाइ हुने तथा तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति बढ्ने भएकाले दुर्घटनाको सम्भावना उच्च रहने उनले उल्लेख गरे ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी ले पछिल्लो समय देशभर मापसे नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाइएको जानकारी दिए । उनका अनुसार शहरी क्षेत्र, राजमार्ग, व्यस्त चोक तथा रातिको समयमा ट्राफिक चेकजाँचमा कडाइ गरिएको छ ।
उनले मापसे गरी सवारी चलाउने चालकलाई कानुनअनुसार कारबाही गर्नुका साथै जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन भइरहेको बताए । सुरक्षित यात्राका लागि जिम्मेवार बन्न र ट्राफिक नियमको पालना गर्न उनले सम्पूर्ण चालक तथा सर्वसाधारणलाई आग्रह गरेका छन् ।










