एमाले सचिवालय बैठक आज, कार्यविभाजन र स्थानीय चुनाव तयारी मुख्य एजेन्डा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । पार्टी कार्यालय सचिव भीष्म अधिकारीका अनुसार अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा दिउँसो १ बजे बैठक आयोजना गरिएको हो ।

यसअघि जेठ २ गतेका लागि तय गरिएको बैठक आवश्यक तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो । ११औँ महाधिवेशनपछि नेताहरूको कार्यविभाजन टुंगो नलागेकाले आजको बैठक मुख्यतः जिम्मेवारी बाँडफाँटमा केन्द्रित रहने बताइएको छ ।

पार्टीका एक पदाधिकारीका अनुसार केन्द्रीय सदस्यहरूलाई पालिका तहको इन्चार्ज बनाएर आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरणको जिम्मेवारी दिइने तयारी गरिएको छ । साथै केन्द्रीय विभाग तथा विभिन्न निकायमा समेत जिम्मेवारी बाँडफाँट गरिने जनाइएको छ ।

बैठकले गत फागुनमा सम्पन्न निर्वाचनको समीक्षा गर्न केन्द्रीय कमिटी बैठकको मिति समेत तय गर्ने तयारी गरेको छ । त्यसैगरी सरकारले हटाएका सुकुमबासीहरूको व्यवस्थापन, सरकारका पछिल्ला गतिविधि तथा त्यसले जनतामा पारेको प्रभावबारे पनि छलफल हुने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया