पोखरालाई चीनको लिन्जी सहरबाट साढे तीन करोड बराबरका स्वास्थ्य सामग्री सहयोग

भौगोलिक हिसाबले देशकै ठूलो महानगर पोखरा को स्वदेश तथा विदेशका विभिन्न स्थानीय सरकारसँग बलियो कूटनीतिक तथा सहकार्य सम्बन्ध रहेको छ । पोखरा महानगरपालिकाको हाल १८ विदेशी र चार स्वदेशी सहरसँग भगिनी सम्बन्ध कायम रहेको महानगरले जनाएको छ ।

यही भगिनी सम्बन्धअन्तर्गत चीनको जिजाङ प्रान्तस्थित लिन्जी सहरले सहयोगस्वरूप प्रदान गरेका अत्याधुनिक स्वास्थ्य सामग्री शनिबार पोखरा आइपुगेका छन् ।

सहयोगस्वरूप प्राप्त सामग्रीमा अत्याधुनिक उपकरण जडित एम्बुलेन्स, भेन्टिलेटर, अक्सिजन सिलिन्डर तथा अक्सिजन इन्सिनेटरलगायत स्वास्थ्य सामग्री रहेका छन् । करिब साढे तीन वर्षअघि हस्तान्तरण गरिएका ती सामग्रीको नेपाली बजार मूल्य करिब साढे तीन करोड रुपैयाँ बराबर रहेको पोखरा महानगरपालिका ले जनाएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य ले ती सामग्री केवल स्वास्थ्य उपकरण मात्र नभई दुई सहरबीचको मित्रता, सहकार्य र विश्वासको प्रतीक भएको बताउनुभयो ।

“यी सामग्री पोखरा महानगरपालिका परिसरमा आइपुग्दा यो केवल उपकरणहरूको आगमन मात्र रहेन, मित्रताको सम्मान, निरन्तर प्रयासको परिणाम र नागरिकप्रतिको दायित्व पूरा भएको अनुभूति पनि बनेको छ,” प्रमुख आचार्यले भन्नुभयो ।

प्रमुख आचार्य लिन्जी भ्रमणमा गएका बेला प्रदान गरिएका ती सामग्री केही समयमै रसुवाको केरुङ नाका पुगे पनि भन्सारसम्बन्धी प्रावधानका कारण लामो समयसम्म त्यही रोकिएका थिए । पछि भन्सार छुटसम्बन्धी सीमा हटाइएपछि करिब साढे तीन वर्षपछि ती सामग्री पोखरा ल्याउन सम्भव भएको महानगरले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया