‘स्वच्छ प्रशासन’ अभियान सुरु : सोमबारदेखि देशभर ‘सरसफाइ सप्ताह २०८३’

सरकारले सार्वजनिक सेवा प्रवाहलाई थप मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउने उद्देश्यसहित सोमबारदेखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने भएको छ । ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ नारासहित सुरु हुन लागेको यो अभियान सङ्घीय, प्रादेशिक र स्थानीय तहका सरकारी कार्यालयका साथै सार्वजनिक शैक्षिक संस्थामा समेत लागू गरिने भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको विशेष मार्गदर्शनअनुसार सबै सरकारी निकायलाई अभियानमा सक्रिय सहभागिता जनाउन निर्देशन दिइएको छ । अभियानको औपचारिक उद्घाटन सोमबार बिहान ८ः३० बजे वीर अस्पतालमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताको उपस्थितिमा हुने जनाइएको छ ।

सरकारले जारी गरेको ‘सरसफाइ सप्ताह सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८३’ मा न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरकारी कार्यालयहरूमा सरसफाइ मापदण्ड कार्यान्वयन गर्ने लक्ष्य उल्लेख गरिएको छ । साथै, स्वच्छ र सुरक्षित कार्य वातावरण कायम गर्न प्रभावकारी सरसफाइ व्यवस्थापनलाई अनिवार्य बनाइएको छ ।

मार्गदर्शनअनुसार सरकारी सूचना बोर्ड, नागरिक बडापत्र तथा सङ्केत चिह्नहरू स्पष्ट र व्यवस्थित राख्नुपर्नेछ । चर्किएका वा उक्किएका भित्ताको मर्मत तथा रङरोगन गरिनेछ भने मुख्य सेवा क्षेत्र र प्रवेशद्वार सफा र आकर्षक बनाइनेछ ।

त्यसैगरी, शौचालयलाई दुर्गन्धरहित राखी नियमित पानीको व्यवस्था सुनिश्चित गरिनेछ । हात धुने स्थानमा साबुन अनिवार्य राख्नुपर्नेछ भने दैनिक सरसफाइको अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ । महिलामैत्री तथा सम्भव भएसम्म अपाङ्गतामैत्री शौचालय निर्माण गर्न र सेनेटरी डिस्पोजल सुविधा उपलब्ध गराउनसमेत निर्देशन दिइएको छ ।

कार्यालयहरूमा कम्तीमा दुई प्रकारका डस्टबिन राखेर कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने व्यवस्था गरिएको छ । पुराना तथा काम नलाग्ने सामग्रीको उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ भने खुला रूपमा फोहोर जलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ ।

त्यस्तै, कार्यालय परिसरको एक सय मिटर क्षेत्रभित्र नाली तथा ढल सफा राख्न, पार्किङ व्यवस्थापन सुधार गर्न र अव्यवस्थित तार तथा पोस्टर हटाउन निर्देशन दिइएको छ । सेवाग्राहीलाई सहज र सम्मानजनक वातावरण प्रदान गर्न सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरी सूचना प्रणाली प्रभावकारी रूपमा सञ्चालन गर्न पनि मार्गदर्शनले जोड दिएको छ ।

अभियानलाई दीगो बनाउन प्रत्येक सरकारी निकायले ‘सरसफाइ सम्पर्क व्यक्ति’ तोक्नुपर्ने व्यवस्था गरिएको छ । हरेक हप्ता सरसफाइ कार्यतालिका तयार गरी मासिक स्वमूल्याङ्कन गर्नुपर्नेछ । अभियानको कार्यान्वयन तथा अनुगमनको सम्पूर्ण जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई दिइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया