आँखाको शल्यक्रियापछि अक्षय कुमारले लिए अभिनयबाट छोटो विश्राम

बलिउड अभिनेता अक्षय कुमार ले अभिनयबाट केही समयका लागि विश्राम लिएका छन् । वर्षमा तीनदेखि चार फिल्मसम्म गर्ने व्यस्त कलाकारका रूपमा परिचित अक्षयले स्वास्थ्यका कारण छोटो ब्रेक लिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बलिउड मिडियाका अनुसार उनले मे ६ को बिहान आँखाको सामान्य शल्यक्रिया गराएका हुन् । दृष्टि सुधारका लागि गरिएको उक्त शल्यक्रियापछि चिकित्सकको सल्लाहअनुसार उनी केही दिन आराममा रहनेछन् र स्वास्थ्यमा ध्यान केन्द्रित गर्नेछन् ।

अक्षयले हालै फिल्म ‘केरलम’ को सुटिङ सम्पन्न गरेका थिए । मे ५ मा फिल्मको सुटिङ सकेपछि उनी भोलिपल्ट बिहानै अस्पताल भर्ना भएका थिए । सुटिङ पूरा भएपछि सामाजिक सञ्जालमार्फत उनले आफ्नो अनुभव पनि साझा गरेका छन् ।

उनले पोस्टमा लेखेका छन्, “सुन्दर स्थानमा उत्कृष्ट मानिसहरूसँग काम गर्नु भन्दा राम्रो अनुभव अरू केही हुन सक्दैन । निर्देशक अनीस बज्मी, सह–कलाकार विद्या बालन, राशी खन्ना तथा सम्पूर्ण टोलीप्रति आभार व्यक्त गर्दछु । यो प्रोजेक्ट मेरो लागि निकै विशेष रहेको छ ।”

अक्षय कुमार बलिउडका सबैभन्दा व्यस्त र धेरै फिल्म गर्ने अभिनेतामध्ये एक मानिन्छन् । पछिल्लो समय उनको हरर–कमेडी फिल्म भूत बंगला प्रदर्शनमा आएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया