पछिल्लो समय सामाजिक सञ्जालमा केपी खनालको तीनतले घरलाई लिएर विभिन्न टिप्पणी भइरहेका छन् । ‘बालेनको साथीको घर’ भन्दै तस्बिर भाइरल भएपछि उनले घरको स्रोत र जग्गाको अवस्थाबारे स्पष्ट धारणा सार्वजनिक गरेका छन् ।

रातोपाटीसँगको कुराकानीमा खनालले उक्त घर आफ्नो व्यक्तिगत आम्दानीबाट नभई आमा–बुवाको दशकौँ लामो मेहनतको परिणाम भएको बताएका छन् । घर ऐलानी जग्गामा बनेको भन्ने विषयमा उनले सुदूरपश्चिमको तराई क्षेत्रमा यस्ता जग्गामा बसोबास गर्ने परम्परा व्यापक रहेको उल्लेख गरेका छन् ।
उनका अनुसार, “यो कुनै सार्वजनिक वा सरकारी कार्यालयको जग्गा होइन, बरु दशकौँदेखि बसोबास गर्दै आएको तर लालपुर्जा नभएको जमिन हो । मेरो पहाडतर्फ भने नम्बरी जग्गा रहेको छ ।” उनले निर्वाचनका बेला नै आफू लालपुर्जा नभएका नागरिकमध्ये एक भएको सार्वजनिक रूपमा बताएको पनि स्मरण गराएका छन् ।
घर निर्माणको आर्थिक स्रोतबारे प्रस्ट्याउँदै खनालले भनेका छन् कि उक्त घर आमा–बुवाले विगत १० वर्षदेखि भारतमा दिनरात श्रम गरेर कमाएको मासिक करिब भारु ५० हजार आम्दानीबाट निर्माण गरिएको हो, जुन अझै पूर्ण रूपमा सम्पन्न भइसकेको छैन ।
देशमै बसेर केही गर्ने उद्देश्यसहित अघि बढिरहेका आफूलाई परिवारको दुःख–मेहनतबाट बनेको घरमाथि प्रश्न उठाइएकोमा उनले दुःख व्यक्त गरेका छन् ।











