विभिन्न भन्सार कार्यालयले अर्बौं रुपैयाँका सामान लिलाम बिक्रीका लागि प्रक्रिया थालेका छन् ।
यसरी लिलाम बिक्रीमा राखिएका वस्तु आयात प्रतिबन्धित वस्तुसमेत छन् । १३ चैतमा सुक्खा बन्दरगाह भन्सार कार्यालय सिर्सिया पर्साले निकालेको लिलामी सूचनामा सुपारी, पोस्ता दाना, मुसुरो दाल, कालो मास दाल, वाइनजस्ता वस्तुको मात्रा अधिक देखिएको छ ।

सरकारले कोभिड-१९ महामारीपछि आयातमा प्रतिबन्ध लगाएका वस्तु लिलामी सूचीमा परेका छन् । भन्सार विभागका निर्देशक पुण्यप्रसाद खड्काका अनुसार भन्सार विभागले आफ्नो सामान छुटाउन कानुन अनुसार दिइएको समयभित्र दाबी–विरोधका लागि कोही पनि नआएका वस्तु क्रमशः लिलामीमा राख्न थालेको छ । सोही क्रममा सुक्खा बन्दरगाहले ती सामान लिलामीमा राखेको उनले बताए ।
भन्सार विभागका अनुसार देशभरि १० अर्ब रुपैयाँभन्दा बढीको मालवस्तु लिलामी गर्नुपर्ने अवस्था छ । सुक्खा बन्दरगाहमा मात्र साढे ३ देखि ४ अर्ब रुपैयाँको मालवस्तु यस्तो अवस्थामा रहेको पाइएको छ ।भन्सार भित्रैबाट वैधानिक रूपमा हुने तस्करीका लागि धेरैजसो सामग्री भन्सार गोदाम भित्रिएर थन्किएको हुन सक्ने अनुमान छ ।
विभागका निर्देशक खड्काका अनुसार यी सामान कतै गलत नियतले ल्याइएका थिए कि भन्ने शंका गर्ने ठाउँ पर्याप्त देखिएको थियो । भन्सार राजस्व कम भएपछि सामान दाबी गर्न विभागले आह्वान गर्दा समेत दाबी नपरेपछि यस्तो शंका गरिएको उनले बताए ।
सुक्खा बन्दरगाहमा मात्र ३ सयभन्दा बढी वस्तु लिलामी गर्नुपर्ने अवस्था रहेको उनले बताए । सुक्खा बन्दरगाहमा खाली छन् भनी दाबी गरिएका कन्टेनरमा यस्ता वस्तु भेटिएका थिए ।
सुक्खा बन्दरगाहमा रेल्वेमार्फत सिधै कन्टेनर आउन सक्छन् । लामो समयदेखि कन्टेनर राखिएको र भन्सार क्लियरेन्सका लागि नआएपछि विभागले स्थानीय प्रशासनको रोहवरमा जाँच गर्दा प्रतिबन्धित वस्तु र एउटा प्रज्ञानपन पत्रबाट अर्को सामान भित्र्याउन खोजेकोसम्म भेटिएको उनले जानकारी दिए ।
केही महिना अगाडिमात्र यस्ता शंकास्पद कन्टेनर खोलिएका थिए । त्यस क्रममा सरकारले आयातमा प्रतिबन्ध लगाएको समयमै आएका वस्तु भेटिएको थियो ।
‘एकातर्फ भन्सार राजस्व घटिरहेको र अर्कातर्फ भन्सारमा सामान आएर थुप्रिएपछि क्लियरेन्स गर्न कार्यालयहरूलाई ताकेता गरिएको थियो,’ निर्देशक खड्काले भने, ‘त्यस क्रममा कन्टेनर खोलेर हेर्दा आयात प्रतिबन्धित, कर छल्ने नियतले समेत सामान ल्याएको पाइएको थियो ।’
भन्सारमा गाडीसमेत आएर लामो समय थन्किएका थिए । विभागले व्यापारीलाई ताकेता गर्न थालेपछि गाडीहरू भने वैधानिक रूपमा छुटिरहेको निर्देशक खड्काले जानकारी दिए ।
कोभिडका समयमा अर्थतन्त्रमा असर गर्ने र विलासिताका वस्तुको आयात नियन्त्रण गर्न सरकारले केही वस्तुमा आयात प्रतिबन्ध लगाएको थियो । कुनैमा कोटा तोकेर आयात प्रतिबन्ध लगाएको थियो । यसको उद्देश्य विदेशी मुद्रा सञ्चितिमा चाप पर्न नदिनु थियो ।
सरकारले आयात प्रतिबन्ध लगाएपछि पनि आयात भएका धेरै वस्तु भन्सारमा आएर थन्किएका थिए । वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले अघिल्लो महिना समेत पोस्ता दाना र सुपारी बिक्रीका लागि लिलामी सूचना निकालेको थियो ।



