पशुपतिशम्शेर भन्छन्, मुलुक बनाउन एमालेसँग तालमेल

राप्रपाका संस्थापक अध्यक्ष पशुपति जबराले नेकपा एमाले र राप्रपा मिलेर मुलुकलाई नयाँ गति दिनुपर्ने बताएका छन् । आसन्न निर्वाचन मुलुक निर्माणका लागि महत्वपूर्ण भएको भन्दै राप्रपा संस्थापक जबराले मताधिकार प्रयोग गर्दा गम्भीर हुन अपील गरे ।

मंगलवार नेपालगन्जमा संयुक्त प्रतिबद्धतापत्र सार्वजनिक गर्दै पूर्वमन्त्री समेत रहेका राप्रपाका वरिष्ठ नेता जबराले ‘राष्ट्र र राष्ट्रियताको पक्षमा आवाज उठाउदै आएका पार्टी भएकाले चुनावी तालमेल सम्भव भएको’ तर्क राखे ।

‘यो सामान्य निर्वाचन होइन,’ बरिष्ठ राजनीतिज्ञ जबराले मंसिर ४ गतेको निर्वाचनलाई सामान्य वा मामुली रुपमा नलिन आव्हान गर्दै मुलुक बन्ने र नबनेबीचको संघर्षका रुपमा औल्याए । उनको भनाइ थियो, ‘नेपाली नागरिकको भविष्य कहाँ जाने भन्ने निर्णय गर्ने दिन हो, मंसिर ४ को शुभसाइत ।’

एमालेसँगको निर्वाचन तालमेल राष्ट्र निर्माणको अभियान भएको भन्दै वरिष्ठ राजनीतिज्ञ जबराले नेपालको भविष्य बनाउने अठोठका साथ नेपालीको सुनौलो भविष्य निर्माण र राष्ट्र बनाउने अभियानका रुपमा दर्शाए ।

नेपालको महत्वपूर्ण केन्द्रका रुपमा रहेको नेपालगन्जको नेतृत्वले नेपालगन्ज मात्र बनाउन होइन कर्णाली र सुदुरपश्चिम बनाउन महत्वपूर्ण भूमिका टिप्पणी पूर्वमन्त्री जबराको थियो । ‘त्यसैलेपनि सक्षम नेतृत्व र भ्रष्टाचार मुक्त समाज निर्माण गर्न मतदाताहरुले सहि निर्णय लिनुपर्ने’ जबराको भनाइ छ ।

आफुलाई मधेसका पक्षमा आवाज उठाउने व्यक्तिका रुपमा चित्रित गर्दै नेता जबराले भने, ‘नेपालगन्जले मधेस, कर्णाली र सुदूरपश्चिमको निर्माणमा पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।’

प्रतिक्रिया

प्रतिक्रिया