बाँकेको जानकी गाउँपालिका–३ मा सिकलसेल एनिमियाको सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र निर्माणले औपचारिकता पाएको छ । अनुसन्धान केन्द्रको सहरी विकासमन्त्री मेटमणी चौधरीले शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रममा बोल्दै सहरी विकास मन्त्री चौधरीले अस्पताल निर्माणका लागि सरकारले पूर्ण रुपमा सहयोग गर्ने बताएका थिए । उनले अनुसन्धान केन्द्रका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मी, चिकित्सक र भौतिक पूर्वाधारको व्यवस्थापन आवश्यक रहेको उल्लेख गरे ।
‘बाँके, बर्दिया लगायत पश्चिम नेपालमा रहेका थारु समुदायमा सिकलसेलका बिरामी बढी छन्’, मन्त्री चौधरीले भने, ‘त्यसैले सिकेलसेलका लागि छुट्टै अस्पताल बनाउन लागिएको हो ।’
अस्पताल निर्माणका लागि विभिन्न अगुवाहरुले आर्थिक सहयोग समेत गरेका छन् । सिकलसेल रोगका बिरामीको शरीर, हाडजोर्नी दुख्ने, पटकपटक जण्डिस, रक्तअल्पता र निमोनियाको समस्या देखिने चिकित्सहरु बताउँछन् ।
सिकलसेलको पहिचान हुन नसक्दा अधिकांश पीडितले बाथ, यूरिकएसिड, हाडजोर्नी र नसा रोगको औषधि सेवन गर्न बाध्य छन् । बाँकेको कोहलपुर, राप्ती सोनारी र बैजनाथमा थारु समुदायको बाहुल्य बढी रहेकाले त्यहाँ यसका बिरामी बढी देखिएका छन् । सो रोग पत्ता लगाउन स्क्रिनिङ गराउन आवश्यक हुन्छ ।
पश्चिम नेपालमा थारु समुदायमा बढी पाइने गरेको सिकलसेलको उपचार गर्नुपर्ने बिरामीको संख्या ४ हजार बढी रहेको छ ।
थारु समुदायमा जनस्वास्थ्य समस्यामा रहेको सिकलसेल पहिचान, सचेतना र उपचारका लागि प्रभावित क्षेत्रका लागि तीन तहकै सरकारले बजेट विनियोजन गर्न थालेका छन् । कुनै बेला सिकलसेललाई महत्व नदिएको सरकारले पछिल्ला बर्षहरुमा स्वास्थ्य समस्या मान्दै अन्य जटिल रोगहरुमा जस्तै उपचारका लागि बजेट विनियोजन गर्न थालेको छ । भेरी अस्पतालमा मात्रै करिब ९ सय सिकलसेलका बिरामी फलोअप उपचारमा छन् ।
यसैबीच सहरी विकासमन्त्री चौधरीले नेपालगन्जस्थित भेरी अस्पतालको नवनिर्मित भवनको बिहीबार नै निरीक्षण गरेका छन् । त्यसक्रममा उनले तीन महिनामा भवन निर्माणको कार्य सम्पन्न गर्न निर्देशन दिएका थिए ।
मन्त्री चौधरीलाई अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल र मेडिकल सुपरिटेन्डेन्ट डा बद्री चापागाईंले स्वागत गर्दै अस्पतालले प्रदान गरिरहेको सेवा र समस्याबारे जानकारी गराएका थिए ।










