भेरी अस्पताल नेपालगन्ज विरुद्ध परेका पाँच वटा रिट उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले खारेज गरिदिएको छ । अस्पतालले सौन्र्दयीकरणका लागि भन्दै अस्पतालको स्वामित्वमा रहेको सटर तथा भवनहरु भत्काउन पत्राचार गरेपछि अस्पताल विरुद्ध रिट परेको थियो । निजी व्यवसायीहरुलाई भाडामा दिइएको सटर अस्पतालले समय दिएर भत्काएपनि रेडक्रस बाँकेद्वारा सञ्चालित क्षेत्रीय रक्तसञ्चार केन्द्र र केन्द्रद्वारा निर्मित सटरमा व्यवसाय सञ्चालन गर्ने व्यवसायी, चिकित्सक संघ भेरीले अस्पतालको कदम विरुद्ध अदालतमा रिट दायर गरेका थिए ।
रेडक्रसले २ वटा, रेडक्रसले बनाएको सटरमा बस्ने व्यवसायीले १ र चिकित्सक संघ भेरीले दुई वटा रिट दायर गरेको थियो । ‘अदालतका वरिष्ठतम् न्यायाधीश डा. रत्न बहादुर बागचन र बामदेव ज्ञवालीको संयुक्त इजलासले रिटहरु खारेज गर्ने निर्णय गरेको छ’, अस्पतालका तर्फबाट बहस गरेका कानुन व्यवसायी अधिवक्ता विश्वजित तिवारीले भने ।
अदालतको आदेश पछि अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले अस्पताल सौन्र्दयीकरणका लागि बाटो खुलेको बताएका छन् । ‘अदालतको निर्णय स्वागत योग्य छ, अब अस्पतालले आफ्ना योजना अगाडि बढाउन सक्छ’, उनले भने, ‘अब व्यवस्थापन समितिको निर्णय अनुसार थप योजनाहरु अगाडि बढाइनेछ ।’
अस्पताल विकास समितिले संघ र रेडक्रस सोसाइटीले अस्पतालको स्वामित्वमा सटरहरु अब भत्काउन बाटो खुलेको बताए ।










