स्थानीय सरकारको असहयोगले अप्ठ्यारोमा नीलसागर सेवा आश्रम

‘कैलाश भवन’ पुरा गर्न महायज्ञ

नेपालगन्जलाई सडक मानवमुक्त घोषणा गरिएपछि असहाय तथा जेष्ठ नागरिक, अभिभावकविहीन बालबालिकाको आश्रयस्थल बन्दै गएको नीलसागर सेवा आश्रमले जनसहभागितामै ‘कैलाश भवन’ बनाउने भएको छ ।

त्यसका लागि नेपालगन्जस्थित रामलिला मैदानमा धार्मिक महायज्ञ आयोजना गरेको नीलसागरले महायज्ञमा कोभिड–१९ पितृमुक्ति श्रीमद भागवत, धनबृद्धि ज्ञान विज्ञान महायज्ञलगायतका धार्मिक अनुष्ठान गर्न लागेको हो ।

नीलसागरले सडकमा बास हुनेगरि घरबाट निकालिएका, आफन्तबिहीन असहाय जेष्ठ नागरिक, महिला, मानसिक अवस्था ठिक नभएका महिला, पुरुष र सडक बालबालिकालाई आश्रय दिन निर्माण थालेको ‘कैलाश भवन’ पूरा गर्न आर्थिक संकट भएपछि महायज्ञको उपाय निकालेको छ ।

‘मानवसेवा सबैभन्दा ठुलो धर्म हो,’ आगामी २७ चैतदेखि ४ बैशाखसम्म संचालन हुने महायज्ञबाट आश्रम सञ्चालन र आश्रम निर्माणका लागि अपुग रकम संकलनको अपेक्षा गरेकी नीलसागरका अध्यक्ष सरीता खनालले भनिन्, केही उपाय नदेखेपछि आफै अग्रसर भएर यो अभियानमा लागेका छौं ।’ उनका अनुसार, सडक मानवमुक्त नेपालगन्ज घोषणा गर्दा आश्रम सञ्चालन खर्चमा नेपालगन्ज उपमहानगरले सहयोग गर्ने र भवन निर्माणमा प्रदेश सरकारले आर्थिक अनुदान दिंदै जाने प्रतिबद्धता जनाइएको थियो । ‘दुबै प्रतिबद्धतामा अपेक्षित सहयोग भएन, ढिला हुने भएपछि हामी आफै नागरिक समुदाय समक्ष पुग्न बाध्य भइयो,’ अध्यक्ष खनालले दैनिक नेपालगन्जसँग भनिन्, ‘भोलिका दिनमा सबैलाई काम लाग्ने गरि कैलाश भवन तयार गर्न लागिएकाले सबैको साथ पाउनेमा ढुक्क छौं ।’

नीलसागर सेवा आश्रमका निर्देशक अमन सुवेदीले महायज्ञ निकै प्रभावकारी आयोजना हुने बताएका छन् । आध्यात्मिक चेतका सुवेदीले आवश्यक श्रीयन्त्रको ब्यवस्था सहित महायज्ञ गर्न लागिएको जानकारी दिए ।

पाँच करोड लागतमा निर्माण हुने योजना रहेको कैलाश भवनका लागि लुम्बिनी प्रदेश सरकारले ५० लाख रुपैँया दिएको छ । ‘अघिल्लो वर्षको बजेट ल्याप्स भइदिंदा निर्माणमा ढिलाइ भयो,’ एक सय ५० जना अट्ने क्षमताको भवनलाई बढ्दो चापका कारण तीन सय क्षमताको प्रयाउनुपर्ने आवश्यकता औल्याउँदै अध्यक्ष खनालले भनिन्, ‘सरकारले दिएको रकम थोरै भएकोले रकम संकलन गर्न धार्मिक अनुष्ठान आयोजना आवश्यक भयो ।’

प्रतिक्रिया

प्रतिक्रिया