महानगर यात्रामा रहेको नेपालगन्ज कुनै बेला २४ घण्टे सहरका रुपमा देख्न पाउनुहुनेछ । त्यो पनि धेरै पर्खनु पर्ने छैन । पर्यटकीय गेटवेका रुपमा रहेको नेपालगन्जलाई कहिले सद्भावको सहर त कहिले ‘क्यासिनो सिटी’का रुपमा चर्चा गरिंदै आएको छ । सामाजिक सद्भावका कारण सद्भावको सहर परिचय बनाएको नेपालगन्जलाई यहाँ रहेका झण्डै आधा दर्जन तारे होटलहरुमा क्यासिनो खुल्ने लहरसँगै यसलाई क्यासिनो सिटीका रुपमा चर्चा गर्न थालिएको हो ।
‘क्यासिनो खुलेसँगै आउने पर्यटकहरुलाई निर्बाध आवागमनको वातावरण बनाउन रात्रीकालीन बजार आवश्यक छ’, क्यासिनो सिटीको मोडेलबारे निरन्तर चर्चामा सकारात्मक रहेका नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले भन्दै आएका छन्, ‘नेपालगन्जको विकासका लागि क्यासिनो सिटी एउटा राम्रो सम्भावना बन्नेछ ।’ डा. राणाले आगामी बजेटबारे दैनिक नेपालगन्जसँग उज्यालो सहरका रुपमा नेपालगन्जलाई विकसित गर्दै रात्रीकालीन बजार समेतको अवधारणा हामीले अघि सार्दैछौं ।
रातभर उज्यालोका लागि चोकचोकमा हाइमाष्ट जडान भैरहेका छन् । नेपालगन्जलाई उज्यालो सहरका रुपमा विकसित गर्न सुरुवात भएको तर्क गर्दै नगरप्रमुख डा. राणा भन्छन्, ‘विपी चोकमा हाइमाष्ट जडान भैसकेको छ भने थप आठ ठाउँमा त्यसखालको बत्ती जडान कार्य भैरहेको छ ।’
रातीको सहरलाई विभिन्न चोकलाई उज्यालो बनाउन नेपालगन्ज उपमहानगरपालिकाले हाइमास्ट लाइट जडान गर्ने भएको छ । उपमहानगरपालिकाले नेपालगन्जका आठ वटा चोकमा हाइमास्ट लाइट जडान गर्न लागेको हो ।

उपमहानगरपालिकाले त्यसका लागि ५८ लाख १६ हजार ३ सय ४३ रुपैयाँमा टेण्डर आव्हान गरी काम सुरु भैसकेको छ । काठमाडौं इनर्जी प्रा.लि.ले असार मसान्तसम्म आठ वटै चोकमा लाइट जडान गरिसक्ने उपमहानगरपालिकाले जानकारी दिएको छ ।
नेपालगन्जको भेरी अञ्चल अस्पताल चोक, गणेशमान चोक, वीरेन्द्र चोक, पुष्पलाल चोक, कारकाँदो चोक, सेतु विक चोक, त्रिवेणीमोड, फुल्टेक्रामा हाइमास्ट लाइट जडान गर्न लागेको हो । ‘आवश्यकता अनुसार थप चोकहरुमा पनि त्यसखालको लाइट जडान गरिनेछ’, नगर प्रमुख डा. राणाले भने ।
सुरक्षालाई प्रमुखताका साथ लिएर उज्यालो नेपालगन्जको अवधारणा अघि सारेको उपमहानगरपालिकाले क्रमशः रात्रीकालीन बजारको अवधारणालाई कार्यान्वयनमा ल्याउने भएको हो । ‘कैलाश मानसरोवरका लागि आउने पर्यटकहरु निर्बाध आवागमनका लागि पनि उज्यालो महानगर आवश्यक छ’, डा. राणाले भने । नगर प्रमुख डा. राणाका अनुसार, नेपालगन्ज आएका पर्यटकहरुको थप समय व्यतित गर्न र मनोरञ्जनका लागि विभिन्न ताल तलैयाहरुको आधुनिकीकरणदेखि सहर सुन्दरीकरणसम्मका लागि आगामी बजेटले रकम छुट्याउन लागेको नगर प्रमुख डा. राणाले जानकारी दिए ।










