कोहलपुरको चौधौं नगर अधिवेशन: संशोधित बजेट पारित 

कोहलपुर नगरपालिकाको चौधौं नगर अधिवेशनले विभिन्न १४ वटा विषयगत प्रस्ताव पारित गरेको छ ।


बुधवार भएको कोहलपुर नगरपालिकाको चौधौ अधिवेशनले नगरसभाका ६ जना सदस्यले राखेको विभिन्न विषयगत धारणा पछि १४ प्रस्ताव पारित गरेको हो ।
नगरसभामा माल्टासँग भगिनी सम्बन्ध कायम गर्ने, अधुरा ठेक्का तथा योजनाहरुको व्यवस्थापन, सवारी साधन खरिद्, कोहलपुर भ्यु टावर तथा बसपार्कको व्यवस्थापन, नगर कोषको ऋण भुक्तानी तथा बेरुजु फछ्यौट गर्ने लगायतका विषयमा व्यापक छलफल भएको बताइएको छ ।


नगरसभामा आयोजित चौधौ नगर अधिवेशनमार्फत चालू आर्थिक बर्षको अहिलेसम्म भएका प्रगति, संशोधित बजेट तर्जुमाका साथै अर्धवार्षिक समीक्षा कार्यक्रम भएको नगरपालिकाले जनाएको छ ।


नगरसभामा सभाध्यक्ष तथा नगर प्रमुख पूर्णप्रसाद आचार्यले विभिन्न विषयमाथि प्रस्ताव गरेका थिए । उनले अखिल नेपाल फुटबल संघको जग्गा भोगाधिकार माग सम्बन्धि सिफारिस सम्बन्धमा र सिटिइभिटीका लागि जग्गा सिफारिस गर्ने सम्बन्धमा नगर सभामा प्रस्ताव पेश गरे । सिटिइभिटीका लागि जग्गा सिफारिस गर्ने सम्बन्धमा उनले बैजनाथपुर सामुदायिक वनले नगरपालिकालाई दिएको निवेदन सुनाए ।


उक्त प्रस्तावमा नगरसभा सदस्य तथा कोहलपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष लालबहादुर रानाले सिटिइभिटीलाई आफ्नो वडाको सामुदायिक वनले पनि जग्गा दिन चाहेको बताएका थिए । उक्त प्रस्तावमा नगर प्रमुखले सो सम्बन्धमा आवश्यक प्रक्रिया पु¥याएर निष्कर्षमा जाने कुरा सुनाएका थिए ।
नगरसभामा कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले अहिलेसम्म भएको प्रगति प्रतिवेदन, संशोधित बजेट तर्जुमाका साथै मध्यवर्ती समीक्षा सहितको प्रतिवेदन पेश गरेकी थिइन् । नगरपालिका अन्तर्गत रहेका विभिन्न शाखागत प्रगतिहरु समेत प्रस्तुत गरेकी थिइन् । विभिन्न विषयगत शाखा अन्तर्गत नगरपालिकाले अपेक्षित उपलब्धि हासिल गरेको उनको भनाइ थियो ।


नगरसभाले संशोधित बजेट योजना तथा कार्यक्रम बहुमतले पारित गरेको छ । विधायन समितिले कोहलपुर नगरपालिकाको बाङमय प्रतिष्ठान ऐनमा संशोधन गर्ने, शिक्षा ऐन संशोधन गर्ने प्रस्ताव पेश गरेकी थिइन् । उपप्रमुखले प्रस्तुत गरेका कार्यक्रम र विधायन समितिले प्रस्तुत गरेका दुई वटा ऐन संशोधन प्रस्तावमा विभिन्न राय सुझावसहित नगरसभाले बहुमतले पारित गरेको हो ।


नगरसभामा प्रस्तुत सम्पूर्ण विषय नगरसभाबाट पारित भएको नगर प्रमुख आचार्यले बताए । उनका अनुसार तत्कालका लागि नगरपालिकामा अत्यावश्यक रहेका विषयहरुमा नगरसभामा छलफल भएको थियो । नगरसभा सदस्यहरुबीच ती विषयमा छलफल भएर अधिकांश विषय पारित गरिएको नगर प्रमुख आचार्यले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया