हाम्रो बारेमा

सम्यक प्रतिबद्धता

नेपालगन्जन्यूज डट कम नेपालगन्ज र पश्चिम नेपालका जनचासोका विविध आयामहरुमा केन्द्रित रहेर समाचार र विचार प्रकाशन गर्ने माध्यम हो । हामी सत्य, तथ्य र विश्वसनीय सामाग्रीहरुको सम्प्रेषण गर्ने छौं । जीवन र जगतका समग्र आयामहरुलाई समानान्तर रुपमा पस्किने जमर्को गर्दै नेपालगन्जन्यूज डट कम उपस्थित भएको छ । पत्रकारिताका मूलभूत मूल्य मान्यतामा सम्झौता नगरी लोकतान्त्रिक संस्कार, मानिसको बाँच्न, गरिखान र बोल्न पाउने मानवअधिकारको पक्षमा अघि बढिरहने छ ।

लोकतन्त्रको मूल मर्म विविधतालाई स्वीकार्नु हो । सबैको आत्मसम्मानको कदर गर्नु हो । हामी आवधिक निर्वाचन मात्रको लोकतान्त्रिक अभ्यासलाई होइन, नागरिकको प्रत्यक्ष सहभागिता रहने सहभागितामुलक लोकतन्त्रलाई प्रवद्र्धन गर्ने उपयुक्त थलोको रुपमा यस पोर्टललाई चिनाउन चाहन्छौं । यसका लागि नागरिक पत्रकारितालाई अबलम्बन गर्नु हाम्रो कार्यपद्धती हो ।

मुलतः नेपालगन्ज केन्द्रित हुँदै, पश्चिम नेपालको सेरोफेरोमा रहेर विचार र समाचार सम्प्रेषण गर्नु हाम्रो ध्येय हो । सकारात्मक परिवर्तनका लागि स्वस्थ, विश्वसनिय, समसामयिक समाचार र विचारहरुको प्रकाशन हाम्रो दैनिकी हुनेछ ।

देश भित्र रहेका मात्र हैन, गैर आवासिय नेपालीहरुको स्थानीय समाचारप्रतिको आकर्षणको सम्मान गर्दै उद्घोषण गर्दछौं कि समाचारको राष्ट्रिय स्वरुप काठमाडौं डेटलाइन मात्र हो भन्ने मान्यताबाट हामी मुक्त छौं । देशको संघीय संरचनालाई मध्यनजर गर्दे नेपालगन्जमा रहि सूचना प्रवाहको सहयोगी बन्न चाहन्छौं ।

व्यक्तिका दिनानुदिनका समस्या, संघर्ष, सफलता र उत्प्रेरणाका कथाहरु हाम्रो न्यूज रुमको मुख्य चासोका विषयवस्तु हुन् । जनताले पाउनुपर्ने सुविधाहरुको गुणस्तरिय सेवा प्रवाहमाथिको निगरानी सधैं हाम्रो प्राथमिकतामा रहन्छ । व्यक्तिलाई आर्थिक, शारीरिक र सामाजिक रुपमा गरिने भेदभाव, ज्यादती, उत्पीडन र शोषणका विरुद्धमा अभियानको रुपमा खबरदारी गर्ने कर्मबाट हामी कहिल्यै पछि हट्नेछैनौं । हामी आक्षेप, कसैलाई आरोपित वा कसैको भक्तिभावमुखी हैन, सवालको गुण र दोषको आधारमा कलम चलाउन प्रतिवद्ध छौं ।

सम्यक आफैमा एउटा सुन्दर शब्दको संयोजन हो, जसले सन्तुलन र उत्कृष्ट भन्ने जनाउँछ । युवा पत्रकारहरुको समूह, सम्यक मिडिया हब लामो समयदेखि नेपालगन्जमा पत्रकारिताका लागि अभ्यासरत छ । हाम्रो टिम लेख्नेमात्र भन्दा पनि यी कुराहरु व्यवहारत अपनाउन प्रतिवद्ध छ । सम्यक मिडिया हबले प्रकाशन गरिरहेको दैनिक नेपालगन्ज पत्रिकालाई यहाँहरुले गर्नुभएको सहयोगको लागि अनुग्रहित हुँदै नेपालगन्जन्युज डट कमलाई समेत सल्लाह, सुझाव र सहयोग दिनु हुनेछ भन्नेमा विश्वस्त छौं ।


 

 

 

झलक गैरे, अध्यक्ष
सम्यक मिडिया हब प्रा. लि.