नेपालगञ्ज उपमहानगरपालिकाद्वारा निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन

नेपालगञ्ज उपमहानगरपालिकाले निःशुल्क लोक सेवा पूर्व तयारी कक्षा सञ्चालन गरेको छ । सुरु भएको कक्षा ७५ दिनसम्म सञ्चालन हुने नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । 

सामाजिक विकास शाखा प्रमुख कृष्ण प्रसाद जोशीका अनुसार विगत ६ बर्षदेखि निरन्तर सञ्चालन गरिँदै आइएको निःशुल्क लोक सेवा पूर्व तयारी कक्षामा यसपटक २०० जना सहभागी भएका छन् । द सक्सेस इन्स्टिच्युटसंगको सहकार्यमा सञ्चालित कक्षामा लोक सेवा आयोगसम्बन्धि अप्रविधिकतर्फ नायब सुब्बा, खरिदार तथा प्राविधिकतर्फ हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अहेब र अनमी पदको लिखित परीक्षाको तयारी गराइनेछ । 

पूर्व तयारी कक्षाको नगर उपप्रमुख कमरुद्दिन राईले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख राईले हिम्मत नहारेर दृढ संकल्पका साथ अघि बढ्न यो कक्षाले उत्प्रेरणा प्रदान गर्ने विश्वास ब्यक्त गर्दै आत्मविश्वासका साथ लोक सेवाको तयारी जुट्न आग्रह गर्नुभयो । सामाजिक विकास शाखा प्रमुख जोशीले ज्ञानमा आधारित प्रविधिलाई आत्मसाथ गर्दै धैर्यता र लगनशीलताका साथ तयारी गर्न आग्रह गर्नुभयो । 

प्रशिक्षक एवम् जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्द प्रसाद पाण्डेले मेहनत, उत्प्रेरणा र अठोटले लोक सेवाको तयारीलाई मूर्तरुप दिने भन्दै उच्च मनोबलका साथ तयारी गर्न आग्रह गर्नुभयो । द सक्सेस इन्स्टिच्युटका सञ्चालक सुमित केसीले लोक सेवाको तयारीमा रहेका विद्यार्थीहरुलाई सहयोग गर्न कक्षा सञ्चालन गरिएको बताउँदै जिज्ञासु भएर अघि बढ्न आग्रह गर्नुभयो । 

उद्घाटन कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार नवीन गिरी र द सक्सेस इन्स्टिच्युटका सञ्चालक राजन शाहीको पनि उपस्थिति थियो । कार्यक्रमको सञ्चालन पत्रकार कमल खत्रीले गर्नुभएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया