किन भेटे एसपीले पत्रकार ?

बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले आइतबार बाँकेका पत्रकारहरुसँग भेटघाट गरेका छन् । भर्खरै सरुवा भई बाँके प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका कार्कीले नयाँ बर्षको शुभकामना आदानप्रदानसँगै पत्रकारहरुसँग विभिन्न सुझाव लिएका थिए ।

कार्यक्रममा बोल्दै बाँके प्रहरी प्रमुख कार्कीले आफुले समस्या उजागर मात्रै गर्ने नभई समाधान पनि गर्ने बताए । उनले पत्रकारले दिएका सुझावहरु कार्यान्वयन गर्दै जाने प्रतिबद्धता समेत जनाए ।

‘न तर्सिन्छु, न तर्साउँछु’, प्रहरी प्रमुख कार्कीले कानुनको अधिनमा रहेर आफुले जिम्मेवारी वहन गर्ने प्रतिबद्धता जनाउँदै भने ।

प्रहरी प्रमुख कार्कीले मिडियामैत्री हुने प्रतिबद्धता समेत जनाउँदै सूचना दिन प्रवाह सहजै गरिने बताए । यद्यपि, कतिपय सूचना तत्कालै प्रवाह हुँदा अनुसन्धानमा असर पर्न सक्ने भएकाले सूचनाको सुरक्षा गर्न पत्रकारलाई आग्रह गरे ।

कार्यक्रममा बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीले चालु आ.व.को नौ महिनाको मुद्दाको विवरण, जिल्लामा भएका पछिल्ला घटना र अनुसन्धान बारे जानकारी गराएका थिए ।

प्रहरी प्रवक्ता डाँगीले चैत्र मसान्तसम्म १ हजार ८६ मुद्दा दर्ता भएको र ५ हजार ८१ जनालाई पक्राउ गरिएको जानकारी दिए । चैत्रसम्म जघन्य प्रकृतिका ६४ मुद्दामा ५४ वटा मुद्दाको फस्र्यौट गरेको उनले बताए । (दैनिक नेपालगन्जबाट)

प्रतिक्रिया

प्रतिक्रिया