खालसा साजना दिवस मनाउँदै शिख समुदाय

बाँकेका शिख समुदायले नयाँ वर्षसँगै खालसा साजना दिवस तथा वैशाखी पर्व हर्षोल्लासका साथ मनाएका छन् ।

शिख समुदायको धर्म उत्पत्ति भएको दिनका रुपमा यो दिवस मनाउन थालिएको श्री गुरुनानक सिंह सभा गुरुद्वारा नेपालगञ्जका अध्यक्ष राजेन्द्र सिंह सरदारले बताउनुभयो । दिवसका अवसरमा गुरुद्वारामा अखण्ड पाठको आयोजना र भण्डाराको व्यवस्थापन गरिएको छ । देशमै बाँकेमा सबैभन्दा धेरै शिख समुदायको बसोबास छ ।

नेपालभर करिब २५ हजार शिख समुदायको जनसङ्ख्या छ । त्यसमध्ये बाँकेको डुडुवा गाउँपालिका–६ सिख्खनपुर्वा, नेपालगञ्ज–१५ जमुनाह, नेपालगञ्ज–१९ वसुदेवपुर र जानकी–२ बेलभारको बनकटवामा गरी करिव सात हजारको सङ्ख्यामा छन् ।

आजदेखि सुरु भएको खालसा साजना दिवस तथा वैशाखी पर्व तीन दिनसम्म मनाइने श्री गुरुनानक सिंह सभा गुरुद्वाराका कोषाध्यक्ष जोगेन्द्र सिंहले बताउनुभयो । उहाँका अनुसार गुरुद्वारामा विगत ४० वर्षदेखि प्रत्येक आज गरिब तथा दीनदुःखीका लागि भण्डारा चल्दै आएको छ । श्री गुरुनानक सिंह सभा गुरुद्वारा नेपालगञ्जका कार्यसेवक मायासिंह शिखले खाल्साले सबै शिखलाई पाँच निसानी दिएको बताउनुभयो ।

शिख समुदायले हातमा लगाएको कडा, टाउकोमा पगरीभित्र कङ्गी, कम्मरमा सानो चक्कु, एउटा भित्री वस्त्र र दाह्री कहिल्यै नकाट्ने खाल्साको पाँच निसानी रहेको उहाँको भनाइ छ ।

नयाँ वर्ष २०८१ तथा सिख समुदायको खालसा साजना दिवसका अवसरमा नेपालगञ्जस्थित विशेष कार्यक्रममा लुम्बिनी प्रदेशका विनाविभागियमन्त्री भण्डारीलाल यादव, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, सुरक्षा निकायका प्रमुख र सिख समुदायका अगुवाहरुको सहभागिता रहेको थियो । (रासस)

प्रतिक्रिया

प्रतिक्रिया