Monday, May 11, 2026
घर ब्लग पृष्ठ 1096

नेपालगन्जमा कप : क्रिकेट टिम बिक्री

आगामी बैशाख ३ गतेबाट कोहलपुरमा आयोजना हुन लागेको नेपालगन्ज कप प्रतियोगिताका लागि बनाइएका टिमहरु मंगलबार नेपालगन्जमा बिक्री गरिएको छ ।

नेपालगन्जमा भएको अक्सनमा सबैभन्दा बढी २ लाख ४० हजारमा बाँके बलष्टर टिम बिक्री भएको छ । महेश क्षेत्रीकाे कप्तानीमा रहेकाे बाँके ब्लास्टर्स अन्नपुर्णले किनेको हो ।
बर्दिया टाइगर १ लाख ७० हजारमा बिक्री भयो ।

लुम्बिनी यात्रीलाई रु १५०,००० मा किन्याे जिशानले ।

दंगाली गाेर्खाज रु १३०,००० मा बिक्री, पाण्डा इभेन्ट्ले किन्याे ।

राेल्पा गुरिल्लाज १३०,००० मा बिक्री, मध्यपश्चिम क्रिकेट क्लबले किन्याे ।

पाल्पा याेद्धाज ११०,००० मा अाशिर्वाद पेन्ट्सले किन्याे ।

 

बैंक बन्न खोजेपछि डुब्छन् सहकारी

आज सहकारी दिवस

दैनिक नेपालगन्ज

गरिबी रेखामुनिका ब्यक्तिहरुको आयआर्जन र ऋण लेनदेनमा सजिलो गर्नका लागि सरकारले वि.सं.२०१० सालमा सहकारी विभाग गठन गरेको थियो । विभागमा दर्ता गरेर २०१३ साल चैत्र २० गते चितवनमा पहिलो बखान सहकारी संस्थाको स्थापना भयो । पहिलो सहकारी संस्था स्थापना भएको दिनको सम्झनामा देशभरि सहकारी दिवस मनाउने गरिन्छ ।

 
सो अनुसार आज मंगलवार बाँकेमा पनि विभिन्न कार्यक्रमहरु आयोजना हुँदैछन् । सहकारिता, अर्थात संगै मिलेर काम गर्ने पद्दतीलाई जनाउँछ । सहकारीको नामबाटै थाहा हुन्छ यो कुनै वित्तिय संस्था नभई सेवामुखी संस्था हो ।
तर, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय बाँकेका प्रमुख दिल कुमार वलीले, सहकारीहरु बैंकझैं ब्यवहार र कारोबार गरेका कारण डुब्ने गरेको बताएका छन् । ‘सहकारी आफ्नो सदस्यविच मात्र कारोबार गर्न पाउने संस्था हो’, उनले भने, ‘गैर सदस्य, गैर मुनाफा क्षेत्र, गैर सिद्धान्तको लगानीले सहकारी डुबेका छन् ।’

 
‘सहकारी सिद्धान्त र नियम ऐन विपरीत ठूलो पुँजी हाउजिङमा लगानी हुनु, १८ देखि ५० प्रतिशतसम्म ब्याज दिनु, आर्थिक अनुशासन कायम नरहनु, आर्थिक प्रलोभनमा कर्मचारी संलग्न हुनु, गैर सदस्यलाई ऋण दिनु सहकारी डुब्ने कारक तत्व हुन्’, वलीले भने, ‘आर्थिक अनुशासन कायम नरहँदा संस्था घाटामा जानु स्वभाविक हो ।’
‘२०६५ सालमा सरकारले सहकारीमा कृषि कारोबारका लागि अनुदान दिने घोषणा गरेपछि सहकारी संस्था दर्ता र संचालनको होड चल्यो’, वलीले भने, ‘तर दर्ता बमोजिम संचालन सजिलो काम होइन ।’

 
सहकारी ऐन, नियम र प्रक्रियालाई लत्याउँदै झोला देखि करोड बढिको आफ्नै भवन सम्म सहकारी संस्थाका कार्यालयहरु खुले । ऋण लगानी र रकम संकलनमा केहि समय निजी बैंकलाई चुनौती दिएका सहकारी पछिल्लो समयमा डुब्ने कगारमा छन् । ‘संचालन गरेर बुझ्नु भन्दा बुझेर संचालन गरेको भए सहकारीमा यति समस्या आउँदैन्थ्यो’, प्रमुख वली भन्छन्, ‘सहकारी संचालनको क्रममा बैंकिग विधिलाई अवलम्बन गरेकोले निकै जोखिम उत्पन्न भएको हो ।’ सहकारी संस्था बैंक वा वित्तिय संस्था होइन ।

 
बैंक र सहकारी फरक फरक विषय हुन्, तर संचालनकर्ताले बैंक सरह मुल्य मान्यतामा उभ्याएपछि समस्या देखिएको हो । सहकारीले आफ्नो सदस्यहरुको ब्यवसायिक हितका लागि काम गर्ने संस्था हो । सदस्यहरुको आर्थिक विकास, रोगजार, जीविको पार्जनमा लगानी गरि उत्पादनमूलक काम गर्ने मात्र सहकारी ऐनमा ब्यवस्था छ ।
‘कुल सदस्यहरुले गरेको बचतलाई आवश्यकता परेको सदस्यलाई ऋण दिएर पूँजी परिचालन गर्नुको सट्टा घर जग्गा, सवारी साधन, ठूला भौतिक संरचना, प्लटिंगमा लगानी हुन थालेकोले समस्या भयो’, वलीले भने, ‘उपभोक्ताले पनि सहकारीलाई बैंक सरह बुझ्न थाले र आफु शेयर सदस्य भएको कुरा नै विर्से ।’

 
वित्तीय सहकारीमा खाता रहेको हरेक ब्यक्ति शेयर सदस्य हो । कृषिमा समूह वा सदस्यहरु नै शेयर सरह हुने ब्यवस्था छ । ‘सबै सदस्यलाई शेयर प्रमाण पत्र वार्षिक आर्थिक अवधि समाप्त भएपछि नाफा घाटाको दायित्व बहन गर्ने हिसाबको जिम्मेवार बनाउने पर्ने त्यसो हुन् सकेन’, वलीले भने, ‘सहकारीमा सदस्यले गरेको लगानी र सहकारीबाट उसले प्राप्त गर्ने लाभको विषयमा पहिले नै प्रष्ट जानकारी दिनु पर्छ ।’

 
‘सहकारी संचालनमा समस्या उत्पन्न हुने कारणहरु नीति र सिद्धान्त पालना नहुनु नै मुख्य कारण हो’, डिभिजन प्रमुख वली भन्छन्, ‘सरकारी अनुदानको लोभमा दर्ता भएका सहकारीहरुले यस क्षेत्रमा गैरकानूनी लगानी गरेका छन् ।’
विशेष गरि सदस्यले गरेको बचत सुरक्षित हुने किसिमले ऋण लगानी गर्नु पर्छ । ऋण दिने ब्यक्तिलाई पूर्ण रुपमा पूँजी परिचालन र बचतको तरीका पनि सहकारीले सिकाउनु पर्छ वली भन्छन्, ऋण लिए पछि सदस्यले तिर्नु पर्ने ब्याज र उसले गर्ने उत्पादनमूलक क्रियाकलाप बारे निश्चितता उत्तिकै आवश्यक विषय हो ।

 
‘लगानी गरेपछि सदस्यले जग्गा खरीद गरेमा त्यसबाट हुने आम्दानीले ऋण तिर्न नसक्ने हुँदा अधिकाँश सहकारीहरुको पूँजी असूल हुनमा समस्या देखा पर्छ’, डिभिजन प्रमुख वलीले भने, ‘त्यस कारण सहकारीले ऋण दिने भनेको ब्यवसायिक क्रियाकलापमा मात्रै हो ।’

 
‘कार्यक्षेत्र बाहिर पूँजी परिचालन गर्दा सुरक्षाका नियम, नीति र ब्यवस्थालाई हुबहु पालन गर्नु पर्छ’, वलीले भने, ‘लहलहैमा बढि ब्याज पाउने आशमा सुरक्षाको नियममा चुक्नु पूँजी डुब्ने अर्को कारण हो ।’ऋण लगानी गर्दा ऋण असूल हुन सक्ने खालको धितो पनि राख्नु पर्छ । ‘सहकारीको मान्यता र सिद्धान्तलाई टेकेर सबै काम गर्ने हो भने डुब्ने जोखिम नै हुँदैन’, वलीले भने, ‘मनोमानी गरेका कारण समस्याहरु श्रृजना भएका हुन् विस्तारै समाधान तिर पनि छन् ।’

 
बाँकेमा डुबेका केहि सहकारीहरु माथि अझै कारवाही चलिरहेको छ । बाँके बचत बारे सहकारी विभागले समितिनै गठन गरेर पूँजी फिर्ताको तयारी गरिरहेको वलीले बताए । ‘सदस्यहरुको पूँजी फसेको उजुरीका आधारमा जाँच समितिले छिनोफानो गर्ने हिसाबले काम गरिरहेको छ’, उनले भने, ‘सबै सेवाग्राही पीडितले रकम फिर्ता पाउँछन् ।’
बाँकेमा अहिले ४०९ वटा सहकारी संस्थाहरु संचालनमा रहेको सहकारी डिभिजन कार्यालयले जनाएको छ ।
कडा ऐन संग सामना

अहिले सम्म सिद्धान्त र आधारमा संचालित सहकारीहरु अब सहकारी ऐन २०७४ को सामना गर्नु पर्ने भएको छ ।
ऐन अनुसार सरकारी योजना, अनुदान र लगानी स्थानीय तह मार्फत संचालन हुने ब्यवस्था भएपछि सहकारीहरुको सुविधा र अधिकार क्षेत्र पनि स्थानीय तह तिर नै सरेको छ । सहकारी डिभिजनलाई राख्ने कि खारेज गर्ने भन्ने सन्दर्भमा अझै यकिन छैन, यद्यपि सहकारीको अधिकार क्षेत्र स्थानीय तहमा सरेको छ । गाउँपालिका र नगरपालिकाबाट नै सहकारीहरुले सेवा सुविधा लिनु पर्ने र दायित्व निर्वाह गर्नु पर्ने नयाँ कानूनमा ब्यवस्था रहेको छ ।

 
ऐन अनुसार दर्ता नगरी सहकारी चलाएमा, सहकारी शव्द प्रयोग गरेमा, तोकिएको भन्दा बढी ऋण विना धितो लगानी गरेमा, ऋण प्रयोजन भन्दा अन्यत्र लगानी गरेमा, लेखा परिक्षण गरेको झुटो विवरण तयार गरेमा एक वर्षसम्म कैद र एकलाख रुपैयाँसम्म जरिवाना हुने नयाँ सहकारी ऐनमा ब्यवस्था भएको छ । एउटा संस्थामा धितोमा रहेको सम्पती पुनः अर्को संस्थामा राखी ऋण दिएमा २ लाख सम्म जरिवाना र २ वर्षसम्म कैद हुने ब्यवस्था ऐनमा उल्लेख छ । सदस्यको बचत संस्थाले तोकिएको भन्दा अन्य प्रयोजनमा प्रयोग गरेमा बिगो बराबरको जरिवाना र तीन वर्षसम्म कैद हुने भनिएको छ ।

 
संचालक, कर्मचारीले संस्थाको बचत तथा सम्पती दुरुपयोग गरेमा, ऋण असुल हुन नसक्नेगरी संचालकका नातेदार वा अन्य व्यक्तिलाई ऋण दिएमा, संचालकले संस्थाको सेयर वा बचत आफुखुशी प्रयोग गरेमा, गलत विवरण राखि ऋण लिएमा, ऐन विपरित घरजग्गा कारोबार, सेयर खरिदमा संस्थाको बचत प्रयोग गरेमा, कृतिम व्यवसाय खडा गरी ऋण दिए वा लिएमा, धितोको अस्वभाविक मूल्यांकन, धितो लिलामी गर्दा कम मूल्यांकन गरी संस्थालाई हानी पुर्याएमा, संस्थालाई हानि नोक्सानी पुग्ने काम गरेमा, कसुरमा बिगो भराई बिगो बमोजिम जरिवाना हुने नयाँ ऐनमा ब्यवस्था छ ।
ऐनमा १० लाखको विगोमा एक वर्ष कैद, ५० लाख बिगोमा २ वर्ष देखि तिन वर्ष कैद, एक करोड रुपैयाँमा तीन देखि चार वर्ष कैद, १० करोड रुपैयाँमा चार देखि ६ वर्ष कैद, एक अर्व रुपैया भएमा ६ देखि ८ वर्ष कैद, एक अर्वभन्दा बढीमा ८ देखि १० वर्षसम्म कैद तोकिएको छ ।

 
जालसाजी कार्य गरेमा १० वर्ष कैद तोकिएको छ । ऐनले कसुर गर्न सघाउनेलाई पनि मुख्य कसुरदारलाई हुने भन्दा आधा सजाय हुने व्यवस्था गरेको छ । यसअघि सहकारी ऐन २०४८ मा भने ठगी गर्नेलाई अधिकतम एक हजार पाँच सय रुपैयाँ जरिवाना हुने र ठगी मुद्दामा कारवाही गरिने व्यवस्था थियो । कमजोर कानुनका कारण सहकारीमा ठगी बढ्दै गएको पाइएपछि नयाँ ऐनमा कारवाहीको व्यवस्थामा कडाइ गरिएको हो । सहकारीको संख्या र कारोबार बृद्धि भएपछि समयनाकुल ऐन र गल्ती गर्नेलाई कारवाहीको व्यवस्था नहुँदा सहकारीमा विकृती समेत बढिरहेको थियो ।

समिर फोनिज अध्यक्ष निर्वाचित

जनजाति पत्रकार महासँघ (फोनिज) बाँकेको अध्यक्षमा समिरमान श्रेष्ठ सर्वसम्मत अध्यक्ष निर्वाचित भएका छन् ।

आइतबार नेपालगन्जमा भएको ५ औं अधिबेशनले श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको हो । नवगठित कार्यसमितिको उपाध्यक्ष विमला चौधरी, सचिव भगत राम थारु, सह सचिव लक्ष्मी चौधरी र कोषाध्यक्षमा सोम गुरुङ रहेका छन् ।

त्यस्तै, सदस्यहरुमा सम्भु प्रसाद चौधरी, खम्ब पुन, निकिता कर्माचार्य र ममता थापा चयन गरिएको छ ।

[2074-12-18]

‘युग परिवर्तनको जिम्मेवारी’

लायन्सको छैठौं नेशनल कन्भेन्सन उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेल । (तस्वीर : विशाल रानामगर/दैनिक नेपालगन्ज)

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले युग परिवर्तनको जिम्मेवारी काँधमा आएको बताएका छन् ।
शनिबार नेपालगन्जमा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ को छैठौं नेशनल कन्भेन्सनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले राजनीतिक संघर्षको दुष्चक्रलाई तोडेर मुलुकलाई विकास र समृद्धिको बाटो लग्नुपर्ने धारणा राखेका हुन् ।

 

 
मुख्यमन्त्री पोखरेलले पटक–पटकका राजनीतिक क्रान्तिले पनि मुलुकको अवस्था परिवर्तन हुन नसकेको प्रति चिन्ता व्यक्त गरे । दुनियाँमा एउटा राजनीतिक क्रान्ति सफल हुँदा युग नै परिवर्तन हुने गरेको सुनाउँदै मुख्यमन्त्री पोखरेलले नेपालमा तीन वटा राजनीतिक क्रान्ति भएपनि त्यसले युग परिवर्तन गर्न नसकेको बताए ।

 

 
‘यो युग बदल्ने समय हो’, मुख्य मन्त्री पोखरेलले भने, ‘त्यसका लागि राजनीतिककर्मीहरुको प्रयासले मात्र सम्भव हुँदैन । देशलाई विकास र समृद्धि तर्फ अगाडि बढाउन नागरिक समाज, नागरिक समाजका अगुवाहरु, सामाजिक संघ, संस्थाहरु, निजी क्षेत्र सबैको सहभागिता र हातेमालोको आवश्यक छ ।’

 

 
देशको अर्थ व्यवस्थाप्रति टिप्पणी गर्दै मुख्यमन्त्री पोखरेलले विगतका अभ्यासले अर्थतन्त्रले बाटो बिराएको उल्ल्ेख गरे । ‘अर्थनीति सही नहुँद राष्ट्रको ढुकुटी खाली भएको छ’, मुख्यमन्त्री पोखरेलले भने, ‘तर त्यसलाई ट्रयाकमा ल्याउन सकिन्छ ।’ उनले अर्थव्यवस्थालाई ट्रयाकमा ल्याउन केन्द्र सरकारले श्वेत पत्र ल्याएको उल्लेख गरे ।

 

 
संघीयतालाई सफल बनाउने प्रदेशको जिम्मेवारी लिएको मुख्यमन्त्री पोखरेलको भनाइ थियो । उनले जनताको समृद्धिको चाहना पूरा गर्ने यात्रा सजिलो भने नभएको उल्लेख गर्दै भने, ‘राज्य संयन्त्रमा उत्साह छैन, डियुटी मात्रै निर्वाह गर्ने मनोवृत्ति हाबी छ, राजनीतिक अस्थिरताबाट आक्रान्त भएको समाजको मनोविज्ञान छ ।’ मन्त्री पोखरेलले त्यसलाई फेरि सकारात्मकता तर्फ फर्काउने कुरा चुनौतिपूर्ण भएपनि असम्भव भने नभएको बताए ।

 

 
‘म मा के विश्वास छ भने आञ्चलिक मनोविज्ञानलाई साझा विज्ञानमा बदल्न सकिन्छ, जनतामा रहेको निराशालाई आशामा बदल्न सकिन्छ’, मुख्यमन्त्री पोखरेलले भने, ‘तर, त्यसका लागि प्रशासन र राजनीतिक नेतृत्व आत्मविश्वासका साथ हिड्नका लागि तयार हुनुपर्छ ।’ उनले परिवर्तका लागि आफुले संकल्प गरेको बताए ।

 
समाजमा व्याप्त प्रतिष्ठाको होडबाजी विकासको बाधक भएको बताउँदै मुख्यमन्त्री पोखरेलले जीवनमा गरेको आर्जन फजुल खर्च नगर्न आग्रह गरे । ‘यदी राष्ट्र बनाउने हो भने होडबाजीको मानसिकतालाई त्याग्नुस्, उद्यमशीलतामा लगानी गर्नुस्’, मुख्यमन्त्री पोखरेलले भने । ‘व्यापारिहरुले बाहिरबाट सामान भित्र्याएर आफ्नो जीवन निर्वाह गरिरहनु भएको छ’, मुख्यमन्त्री पोखरेलले भने, ‘राष्ट्र त्यसैमाथिको करबा बाँचिरहेको छ ।’ ‘तर, यो प्रकारको आर्थिक सम्बन्धबाट राष्ट्रको निर्माण हुन सक्दैन’, उनले भने, ‘समृद्धिका लागि उत्पादनशीलता बढाउनु पर्छ ।’

 

 
परम्परागत कृषिको व्यवसायिकरण आवश्यकता औंल्याउँदै मुख्यमन्त्री पोखरेलले भने, ‘यूरोपियन देशमा १० प्रतिशतले कृषि गर्दा बाँझो खेत भटिदैन तर, हाम्रो यहाँ ७० प्रतिशत जनसंख्या कृषिमा लाग्दा पनि खेतहरु बाँझै छन् ।’
कन्भेन्सनमा बोल्दै मुख्यमन्त्री पोखरेलले लायन्स अभियानले आत्मविश्वास वृद्धि र समाजसेवाप्रति अभिप्रेरित गरेको पाएको बताए । ‘त्यसले जीवनमा सन्तुष्टि प्राप्त हुन्छ’, मुख्यमन्त्री पोखरेलले भने, ‘सेवाबाट प्राप्त हुने सन्तुष्टि मूल्यवान हुन्छ ।’ अधिवेशनमा लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ बी–२ का गभर्नर मधुसुदन शर्माले लायन्स क्लबले नेतृत्व विकासका साथसाथै समाजसेवामा उदाहरणीय काम गरेको बताउँदै आफ्नो कार्यकालमा भएका प्रगतिबारे जानकारी गराएका थिए ।

 

 

कार्यक्रममा लायन्सवादको विकासमा सक्रिय भूमिका निर्वाह गर्ने पूर्वडिष्ट्रिक्ट गभर्नर सेम शाक्य, डिके ढुंगाना, घनश्याम भट्टराईलाई सम्मान गरिएको थियो । कन्भेन्सन सुरु हुनु अघि साँस्कृतिक झाँकीसहित वृहद् प्रभातफेरि निकालिएको थियो ।

बर्दियामा मुख्यमन्त्री
मुख्यमन्त्रीले स्थानीय सरकारलाई भने, ‘कम्तिमा २० बर्षका लागि सोचेर योजना बनाउनुस् ।’
दैनिक नेपालगन्ज

 
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले स्थानीय तहका जनप्रतिनिधिहरुलाई सबैभन्दा नजिकको सरकारको अनुभूति दिन आग्रह गरेका छन् । मुख्यमन्त्री निर्वाचित भएपछि पहिलो पटक प्रदेश ५ को केन्द्रबाट सबैभन्दा किनारको जिल्ला बर्दिया पुगेका पोखरेलले शनिबार जिल्ला समन्वय समितिको आयोजना स्वागत, सम्मान ग्रहण गर्दै भने, ‘नयाँ नेपालको जग तपाईहरुले हाल्नुपर्नेछ ।’

 

 
स्थानीय तहलाई जिम्मेवार जवाफदेही बन्न जोड दिंदै मुख्यमन्त्री पोखरेलले अबका योजनाहरु दीर्घकालीन हुनुपर्ने बताए । ‘कम्तिमा २० बर्षका लागि योजना बनाउनुस्’, मुख्यमन्त्री पोखरेलले स्थानीय सरकारका प्रतिनिधिहरुसँग भने, ‘आफ्ना कार्यालयहरु व्यवस्थापन गर्दा पनि गाउँमा सिंह दरबार भन्ने भावनालाई अनुभूत गर्ने गरी तयारी थाल्नुस् ।’
संविधानले पर्याप्त अधिकार दिएको औंल्याउँदै मुख्यमन्त्री पोखरेलले जिल्ला तहका धेरै कार्यालयहरु खारेज भई स्थानीय तह मार्फत सञ्चालनमा आउने भएकाले आफ्ना कार्यालयहरुमा ती कर्मचारी र सेवाग्राही थेग्ने व्यवस्थापन बारे अहिलेदेखि सोच्न ध्यानाकर्षण गराए ।

 

 
प्रदेश राजधानीको विवाद चलिरहेको बर्दियामा त्यसतर्फ संकेत गर्दै मुख्यमन्त्री पोखरेलले राप्ती र बबई सभ्यता अटुट आस्था बीच निरन्तरता रहेको बताए । उनको भनाइ थियो, ‘राप्ती र बबई सभ्यताले बाँके, बर्दिया र दाङलाई जोडेको छ ।’ मुख्यमन्त्री पोखरेललाई बर्दियामा सांसद संजय गौतम, जिल्ला समन्वय समिति बर्दियाका संयोजक शंकर प्रसाद थारु लगायतले स्वागत, सम्मान गरेका थिए । त्यसक्रममा मुक्त कमैया समाज बर्दियाका तर्फबाट ज्ञापनपत्र समेत बुझाइएको थियो ।

प्रदेश पाँच धार्मिक पर्यटनको आकर्षणको केन्द्र विन्दु

मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश पाँच धार्मिक पर्यटनको आकर्षणको केन्द्र विन्दु रहेको बताउनुभएको छ । लायन्स क्लवको कन्भेन्सन सम्मेलनलाई आज नेपालगन्जमा सम्वोधन गर्दै मुख्यमन्त्री पोख्रेलले गौतमबुद्धको प्रवित्र जन्मस्थल कपिलबस्तु प्रदेश पाँचमै रहेकाले यसलाई धार्मिक पर्यटनको केन्द्रको रुपमा विकास गरिने बताउनुभयो ।

 

अवको समय सम्बृद्धि र विकासको समय भएको भन्दै उहाँले आर्थिक क्षेत्रमा लगानी आवश्यक रहेको वताउनुभएको छ । अस्थीर राजनीतिका कारण सर्वसाधारणमा अविश्वास रहेकाले उनिहरुको विश्वास जितेर काम गर्न आफु प्रतिवद्ध रहेको उहाँले वताउनुभएको छ । लायन्सको कनभेन्सले विकासमा साझेदारी गर्ने मार्गचित्र बनाउनु पर्ने मुख्यमन्त्री पोख्रेलको भनाइ थियो ।

उद्घाटन पूर्व नेपालगन्जमा सामाजिक सद्भाव झल्कने झाँकीसहितको प्रभातफेरी निकालिएको थियो । दुइ वटा हात्ति पनि सहभागी गराईएको प्रभातफेरीमा थारु समुदायको शखीया, मयुर नाच, शिख समुदाय र नेपाल प्रहरी व्याण्ड वाजामा प्रस्तुत भएका थिए । धम्वोझीवाट सुरु भएको प्रभातफेरीलाई विपिचोकमा नेपालगन्ज उपमहानगरपालीकाले स्वागत गरेको थियो ।

 

त्रिभुवनचोकमा नेपालगन्ज उद्योग वाणिज्य संघको स्वागतसंगै वागेश्वरी टोल हुदै घरवारी टोलवाट पुनः धम्वोझी पुगेको सदभाव ¥याली कार्यक्रम स्थल कारकादो पुगेको थियो । कार्यक्रमको उद्घाटन प्रदेश ५ का मुख्यमन्त्रि शंकर पोखरेलले गर्नुभएको थियो । कन्भेन्सनमा करीव ३ हजार लायनको उपस्थीति रहेको छ । कन्भेन्सनले नेपालगन्जको सांस्कृतिक, पर्यटकिय विकासमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ । कन्भेन्सनले आगामी कार्यकालका लागी आजै नयाँ नेतृत्व पनि चयन गर्दै छ ।

समाज सेवाको ‘ओपेन युनिभर्सिटी’ हो लायन्स

लायन्स क्लबलाई विश्वव्यापी सन्जाल भएको स्वयंमसेवी संस्थाको रुपमा चिनिन्छ । ‘हामी सेवा गर्छौं’ भन्ने भावनाका साथ विश्वभर लाखौ व्यक्तिहरु लायन्स क्लबमा आबद्ध छन् । सन् १९१७ मा माल्भिन जोन्सले स्थापना गरेको लायस नेपालमा पनि लायनवादको अभियानका रुपमा देशैभरि फैलिएको छ ।
भनिन्छ, लायनवाद प्रत्येक सफल व्यक्ति आफ्नो समुदायको लागि केही गर्नुपर्छ भन्ने सेवाको भाव पनि हो । लायन्स क्लब अन्र्तगत हाल नेपालमा आँखा, दाँत, मातृशिशु, रक्तसञ्चार लगायतका विभिन्न स्वास्थ्य सेवाहरुसमेत प्रदान गरिँदै आएको छ । महिला तथा युवाहरुको नेतृत्व क्षमताको विकास पनि लायन्सको उद्देश्य हो ।
आज शनिवार नेपालगन्जमा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ नेपालको छैठौं राष्ट्रिय सम्मेलन हुन गइरहेको सन्दर्भमा सम्मेलनले लिएको उद्देश्य र दिने सन्देशका बारेमा जनमानसमा चासो छ । तसर्थ, लायन्स क्लबले कसरी काम गर्छ, समाज सेवामा के कस्तो योगदान दिएको छ, सम्मेलनमा के विषयहरुमा छलफल हुँदैछन् र समग्र देशको विकासमा लायन्सको यो सम्मेलनले कस्तो सन्देश प्रवाह गर्छ भनेर हामीले लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ नेपालका डिष्ट्रिक गभर्नर मधुसुदन शर्मा रिजाल, कन्भेनर मुकुट ढकाल, आर्थिक संयोजक सन्जय थापा, डिष्ट्रिक कोषाध्यक्ष चिन्तामणि धिताल र एनएलएफ शशि स्वाँरसँग छलफल गरेका छौं । दैनिक नेपालगन्जका लागि झलक गैरे र बिशाल रानामगरले गर्नुभएको संवादको संपेक्षित अंश आजको सम्यक संवादमाः

यो सम्मेलन नेपालगन्जमा गर्नु र यसले आम जनतालाई दिन खोजेको दिने सन्देश के हो ?

मुकुट ढकालः यो डिष्ट्रिक बि २ को छैठौं सम्मेलन हो । हाल भएका गभर्नरले आफ्नो क्षेत्रमा लायनिज्म विकासको लागि आयोजना गरिने ठुलो चाड हो । नेपालगन्जका लागि यो तेस्रो कन्भेन्सन पनि हो । हरेक कन्भेन्सनमा नेपालगन्जले एउटा इतिहास बनाएको छ । समाजमा यसले दिने सन्देश भनेको नेपालगन्ज सक्षम छ है भन्ने पनि हो ।
त्यसका लागि हामीले सम्पूर्ण तयारीहरु पुरा गरेका छौं । ऐतिहासिक नेपालगन्ज नगरीलाई यहाँको स्थायी बसोबास गरिरहेका र व्यस्त रहेको बजारलाई लायन्समा आवद्ध भएका विभिन्न जिल्लाबाट आउने २५ सय देखि ३ हजार लायन्सलाई नेपालगन्ज चिनाउने यो अवसर पनि हो ।

 

धम्बोझीबाट ¥याली सुरु भएर विपिचोकमा नेपालगन्ज नगरपालिकाले सम्मान ग्रहण गर्दै त्रिभुवनचोकमा उद्योग वाणिज्य संघले गर्ने सम्मान ग्रहण गरेर बागेश्वरी मन्दिर हुँदै धम्बोझी चोकमा आएर ¥यालीको समापन गर्ने कार्यक्रम छ । नेपालगन्ज नगरपालिकाको सहकार्यमा नगरका तीनवटा चोकहरु सिंगारिएका छन् । विशेषतः हामीले नगर सफा गर्नको लागि सन्देश दिने हाम्रो प्रयास हो । जसका लागि हामीले नेपालगन्ज उपमहानगरपालिकासँग पनि समन्वय भएको छ । छैठौं कन्भेन्सनले नेपालगन्जमा आजभन्दा २० वर्ष अगाडी रोपिएको लायन्सको बिउलाई उमार्ने र फलाउने काम गर्छ । नेपालगन्ज सूदुर र मध्यपश्चिमको ब्यापारिक हब हो र लायनबाद विकासको एउटा जग पनि हो ।
यति ठुलो सम्मेलनका लागि श्रोतको व्यवस्थापन कसरी गर्नुभएको छ । साथै लायन्सले गर्ने अन्य सेवामुलक गतिविधिहरुको श्रोत कसरी संकलन हुन्छ ?

संजय थापाः म यस सम्मेलनको आर्थिक व्यवस्थापनमा सहयोगीको भूमिकामा रहेको हुनाले लायन्सको यो सम्मेलनलाई सफल बनाउनका लागि हामीले खुला रुपमा आव्हान गरेका थियौं । यसमा सबैले साथ दिनुभयो र हामीले करिब दुई हप्तामै श्रोतको व्यवस्थापन गर्न सक्यौं । यसले पनि नेपालगन्जमा लायनवाद प्रतिको प्रेम छ भन्ने देखाउँछ । हामीले लायनमा आवद्ध भएका र नभएकाहरुलाई पनि समेटेका छौं । श्रोत परिचालन पनि एक खालको कला हो । श्रृजनात्मक तरिकाले श्रोत संकलनमा लाग्यो भने हामी सफल हुन सक्दो रहेछौं ।
तपाईहरु आफै पनि विभिन्न व्यवसायमा संलग्न हुनुहुन्छ, विभिन्न संघसंगठनले कुनै कार्यक्रम गर्नुपर्यो भने व्यापारीलाईनै सताउँछन्, सहयोग माग्छन् भन्ने पीडा व्याप्त छ । लायन्सले चाहीं त्यो गर्दैन भन्ने पनि छ । त्यसैले श्रोत व्यवस्थापन कत्तिको सहज भयो ?

सन्जय थापाः मैले पहिले पनि भनें सम्मेलनको श्रोत संकलनका लागि हामीले खुला आव्हान गरेका थियौं । अरुले कसरी गर्छ भन्दा पनि हामीले लायनवादलाई अघि बढाउनका लागि र हाम्रो क्षेत्रको नेतृत्वलाई नेतृत्व गर्न सहज बनाउनका लागि पनि हामीले सहयोगका लागि आव्हान गरेका थियौं ।

नेपालगन्जमा कुनै ठुला सभा सम्मेलन हुने भयो भने त्यसबाट पीडित यहाँका व्यापारी हुने गर्छन । यस्ता खालका सम्मेलनलाई श्रृजनात्मक बनाएर श्रोत संकलन गर्ने उपायहरु के हुन् ?


चिन्तामणि धितालःलायन्सले गर्ने खर्च हामी आफैले जुटाउने गरेका छौं । अन्य श्रोत भनेको समाजमा प्रभाव पार्ने कामले हामीलाई समाजसँग जोड्न मद्दत गरेको छ । सदस्यता नविकरणका लागि केही पैसा हामीले इन्टरनेशनललाई पठाउनुपर्ने हुन्छ । तर त्यसवापत हामीले यहाँका जनतालाई फाइदा पुग्ने विभिन्न कामका लागि श्रोत पनि पाउने गरेका छौं । हामीले सदस्यता शुल्क वापत बुझाउने भन्दा बढि पैसा हामीले लायन्स क्लब इन्टरनेशनलबाट पाउने पनि गरेका छौं । यो राम्रो कुरा पनि हो । यीनै श्रोतहरुले हामीलाई विभिन्न स्वास्थ्य शिविरहरु, अस्पताल चलाउन पनि सक्षम बनाएको छ । हामीले दिने मात्र होइन श्रोत लिएर पनि आएका छौं । सम्मेलनको सन्दर्भमा हामी आफैले पनि रकम संकलन गछौं । हरेक सहभागीले सम्मेलनमा भाग लिन शुल्क तिर्नु पर्छ । नपुगेको सन्दर्भमा विज्ञापन, शुभकामना माग गर्छाैं ।

 

लायन्स प्रवेश गर्नुअघि र अहिले लायन्सको नेतृत्व तहमा पुगीसक्दा तपाईको लायन्स प्रतिको बुझाइमा के फरक पाउनुहुन्छ ?

शशि स्वाँरःम लायन्समा आवद्ध भएको भनेको हामी सेवा गर्छौं भन्ने भावनाबाट प्रेरित भएर हो । लायन्समा आवद्ध भएपछि म नेतृत्व तहमा पुगीसकेको छु । मैले लायन्सबाट धेरै कुरा सिक्न पाएको छु जस्तै ममा आएको नेतृत्व विकासको क्षमता, कसैसँग बोल्न छलफल गर्दा आउने असहजता हराएको छ । बास्तवमा मलाई नेतृत्वकर्ता बनाउन लायन्सले धेरै सहयोग गरेको छ । लायन्सबाट मैले धेरे चिज पाएको छु । कन्भेन्सनको सन्दर्भमा कुरा गर्दा म आर्थिक व्यवस्थापनको जिम्मेवारीमा रहेर काम गरिरहेको छु । विशेष गरी यसमा सहभागी हुन आउने लायन्सहरुले तिर्ने दर्ता शुल्क मुख्य आर्थिक श्रोत हो । नपुग कुराहरुमा हामीले विज्ञापन र शुभकामना संकलन गरेका छौं । तालिम केन्द्रको छेउमा लायन्सको तीन कठ्ठा जग्गा छ । त्यसलाई लायन्स सर्भिस सेन्टर खोल्ने भनेर यो सम्मेलन गर्दै छौं । सम्मेलनकै बेला हामीले सर्भिस सेन्टरको सिलन्यास गर्ने योजना पनि छ ।

तपाईजस्तै महिला लायन्समा आकर्षण कस्तो छ ?

शशि स्वाँरः म सुरुमा लायन्समा आवद्ध हुँदा धेरै कम महिलाहरु हुनुहुन्थ्यो । अहिले हामी डिष्ट्रिकमा हेर्ने हो भने २२–२३ प्रतिशत महिलाहरु छौं । महिला सहभागिता अपेक्षित रुपमा रहेको छ । यसमा हाल हाम्रा गभर्नर मधुसुदन शर्मा रिजाल ज्यूको ठुलो हात छ । उहाँ गभर्नर भैसकेपछिनै महिलाको उपस्थितिको लागि महिलालाई प्राथमिकतामा राख्नु भएको छ ।

समाजको लागि लायन्स किन जरुरी छ ?

सन्जय थापाःमानिस जन्मजात दया र करुणा लिएर आउने प्राणी हो । सेवा गर्छु भनेर नेपालमा मात्र होइन संसारभरी फैलिएको लायन्स एउटा चौतारी हो । संस्थागत रुपमा सेवा भाव लिएर जानका लागि लायन्स एक उत्कृष्ठ संस्था हो । हाम्रो आर्थिक व्यवस्थापनको बारेमा मलाई थप्न मन लागेको कुरा भनेको हामीले हाम्रा सदस्यहरुसँग नेै सहयोग माग्छौं । कुनै खालको करकाप, जबर्जस्ती भन्ने शब्द लायनिज्ममा हुँदैन । हामीले गर्ने भनेको अनुरोध हो । अर्को कुरा हाम्रा अग्रजहरुले लायन्स क्लबलाई अगाडी बढाउनु भएको छ, यसले ठुलो लायन्सप्रति ठुलो आकर्षण पैदा गरेको छ । जसले महिला नेतृत्व पनि तयार गरेको छ । सेवा भावको संस्कारलाई लायन्सले अगाडि बढाएको छ । हामी के आव्हान गर्छौं भने यदि तपाई समाजसेवामा जान चाहनुहुन्छ भने तपाईको योगदानलाई लायनिज्मबाट अगाडि बढाउन सक्नुहुन्छ । हामी सेवा भाव गछौं तर प्रचार त्यति गर्दैनौं । सेवा प्रचारमुखी हुनुहुँदैन भन्ने हाम्रो मान्यता हो ।

गभर्नरज्यू, तपाई आफै नेतृत्वमा हुनुहुन्छ, आफ्नो कार्यकालको एक वर्षमा तपाईले केके गर्न सक्नु भयो ?, केके योजनाहरु पुरा हुन सकेनन् या आउने नेतृत्वलाई त्यो जिम्मेवारी हस्तान्तरण गर्नुहुन्छ ?

मधुसुदनः कन्भेन्सनको तयारीमा साथी पूर्ण रुपमा खट्नु भएको छ । कन्भेन्सनमा सहभागी हुन आउने साथीहरुलाई नेपालगन्जको रियालिटिसँग जोड्ने वातावरण बनाएका छौं । यहाँको साँस्कृतिक पक्ष, विकासको पक्ष र यहाँका जनताहरुसँग लायनिज्म कसरी गइरहेको छ भन्ने बारेमा देखाउन खोजेका छौं । यसमा नेपालगन्ज उपमहानगरपालिका पनि हामीसँग जोडिएर गएको छ । लायनिज्मलाई समुदायसँग जोडेर अगाडि जानुपर्छ भन्ने मान्यतालाई स्थापित गर्न हामी यो सम्मेलन गर्दैछौं । यो मान्यता स्थापित हुन्छ भन्नेमा म विश्वस्त छु ।

 

मेरो गभर्नरशीपको पालामा मैले बनाएको योजना मध्येमा आपतकाल कोषको स्थापना थियो । यसलाई मैले एक लायन, एक रुपैया प्रतिदिन नारा दिएर अगाडि बढाएको थिए । हामीले दान दिने संस्कृतिको विकास गर्यौं भने त्यो धनराशीले आपत् विपत्मा परेका जनतालाई सहयोग गर्न सक्छौं भन्ने मान्यताको आधारमा कोषको स्थापना गरेको थिएँ । जसका लागि डिष्ट्रिक टिमले सुरुवातमैे दुई लाख रुपैयाँ राखेको थियो । अरुबाट लिने भन्दा पनि सुरुवात आफैबाट गर्नुपर्छ भनेर हामीले सुरु गरेका हौं । आजको दिनसम्म करिब १९ लाख रुपैया त्यो कोषमा जम्मा भएको छ । त्यो पैसा स्थायी कोषको रुपमा रहन्छ र त्यसको ब्याजबाट आवश्यकता अनुसार सहयोग गरिन्छ । यो कामले लायन्सलाई ब्राण्डिङ्ग गर्ने काम पनि गर्छ । मैले सुरु गरेपछि अन्य डिष्ट्रिकले पनि यस्तै कोषको स्थापना गरेका छन् । हालै विराटनगरमा भएको डिष्ट्रिक ३२५ ए १ ले पनि यस्तो कोष गर्ने निर्णय गरेको छ ।

 

अहिले नेपालमा २९ हजार भन्दा बढि लायन्सहरु छन् । यो एउटा ठुलो सामाजिक संगठन हो । संख्याको हिसाबले पनि लायन्स मजबुत संस्था हो जसमा चार वटा डिस्ट्रिकहरु सक्रिय छन् । त्यसमध्ये भूगोलको हिसाबले करिब ४० प्रतिशत भूभाग हामीले ओगटेका छौं । डिस्ट्रिक हिसाबले हामी दोस्रो ठुलो हौं । अहिले हामीसँग ९ हजार भन्दा बढि सदस्यहरु छन् ।

 

तपाई गभर्नर भएपछि विदेश भ्रमण पनि गर्नुभएको छ । बाहिरको अभ्यास, काम गर्ने शैली र समाजको स्वीकृत कत्तिको फरक छ ?

मधुसुदनः विदेशमा जाँदा तपाई लायन्सको पिन लगाएर कुनै सार्वजनिक स्थलमा जाँदा मानिसहरुले झट्ट चिन्ने गर्छन । किनभने १९१७ मा विश्वयुद्ध भैसकेको र क्षतविक्षत रहेको अवस्थामा एकले अर्कोसँग कुरा गर्ने वातावरण थिएन । एकले अर्कोलाई शंकाको दृष्टिकोणले हेर्ने गर्थे । त्यो अवस्थामा सेवाको कार्य मार्फत मानिसको मानसिक तनावलाई कम गरी सहज वातावरण बनाउन लायन्सले काम गरेको थियो । लायन्सलाई मानिसले सम्मानको रुपमा हेर्ने गर्छन । लायन्सको पिन लगाएकाहरुलाई बाहिर देशमा पनि यो राम्रो व्यक्तित्व भएको सम्मानित व्यक्तिको रुपमा हेर्ने गरिन्छ ।

 

के अझैपनि हामीले लायन्स सेवाभाव लिएर काम गर्ने संस्था हो भनेर बुझाउन नसकेका हौं ? अहिल लायन्सले समाजमा पारेको प्रभावसँग तपाई कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

मधुसुदनः केही कुरामा हामी ब्राण्डिंग गरेर जानुपर्छ भनेर लागेका छौं । नेपालको सन्दर्भमा अहिले पनि लायन्स भनेपछि आँखा अस्पतालसँग जोडिएको संस्था हो भनेर जो कोहीले अनुभूति गर्न सक्छ । पछिल्लो समयमा भुकम्प जाँदा लायन्सहरु पनि पीडित भएका थिए । यद्यपी आफ्नो पीडाका बिच पनि लायन्सहरु अरुलाई सहयोग गर्न अघि सरेका थिए । यसमा लायन्स इन्टरनेशनलले पनि तत्कालै एक लाख डलर दिएर हामीहरु तत्कालै सेवाको काममा लागेका थियौं । हामी नेपाल सरकार पुग्न नसकेको ठाउँमा पनि पुगेका थियौं । भूकम्प पछिको सहयोगमा नेपालका लायन मात्र होइन, भारत तथा अन्य देशका लायनहरुले पनि हामीलाई सहयोग गरेका थिए । हामी ५० करोडको लागतमा विद्यालयहरु निर्माण गरिरहेका छौं ।

 

तपाईको नेतृत्वमा बि २ ले बनाएका र निरन्तरता पाउनुपर्ने योजनाहरु के के छन् ?

मधुसुदनः लायनिज्ममा लिडरसिप, फेलोसिप र सर्भिस तीन कुराहरु महत्वपूर्ण छन् । जस अन्तर्गत युवा, मध्यम र अनुभवी जमात छन् । ती सबैलाई सँगै लिएर जानुपर्ने आवश्यकता छ । त्यसका लागि एउटा लिडरशिप एकेडेमी गठन गरेर जानुपर्छ भनेर लक्षित गरेको छु । जसले तीनै तहलाई जोड्ने काम गर्छ । जसले समाजमा परिवर्तन ल्याउन सक्छौं । अबको दुई महिनामा मैले यो कामलाई पुरा गर्नुपर्ने छ । त्यसैले अधुरो रहने हो कि भन्ने डर पनि छ । यसको विधान बनाउने काम पनि मुकुटजीले गर्दै हुनुहुन्छ ।

 

अहिले ठुलो सम्मेलन नेपालगन्जमा हुँदैछ यसबाट नेपालगन्जले के लिन सकोस् भन्ने चाहनुभएको छ ?

मधुसुदनः हामी लायन्समा लागेकाहरु आफ्नै पैसा खर्च गरेर हरेक काम गर्छांै । बेलायतबाट निस्कँने आर्थिक पत्रिकाले पनि संसारको सबैभन्दा आर्थिक पारदर्शी संस्थाको रुपमा राखेको छ । हामीले गाभरमा पनि पार्क बनाएका छौं जुन अघिल्लो कन्भेन्सको बेला गरिएको हो । त्यो भन्दा अगाडि सोसाइटीबाट उठाएको केही पैसाले अस्पताल बनायौं । हामीले समाजलाई केही दिइरहेका छौं त्यसैले यिनीहरुले आर्थिक अनियमितता गर्दैनन् है भन्ने विश्वास छ । अहिले पनि हामीले सम्मेलनबाट बचेको पैसाले लायन्स सर्भिस सेन्टर बनाउने योजनामा छौं । त्यसैले हाम्रो पारदर्शितानै हामीलाई आर्थिक सहयोग आउने आधार हो ।

लायन्समा धेरै व्यपार व्यवसायमा संलग्न हुनुहुन्छ । लायनवाद अभियानमा जोडिँदा यसले लायन्स अभियानलाई प्रवद्र्धन गर्न कस्तो सहयोग गर्छ ?

मुकुटः यहाँ हामी विभिन्न व्यापार व्यवसाय गर्नेहरु छौं । एकजनाको व्यपार अर्कोसँग मिल्दैन । यदि लायन्समा नभएको भए एक अर्कासँग चिनजान नहुन पनि सक्थ्यो । विभिन्न विधामा रहेका व्यवसायीहरुलाई एक ठाउँमा ल्याउन लायन्सको सेवा भावले मद्दत गरेको छ । लायन्सको सुन्दरता भनेको पनि त्यही हो । व्यवसाय भित्र पनि सामाजिक भाव ल्याउनलाई लायन्सले मद्दत गरेको छ । लायन्स जन्मघुटी हो ।लायन्सहरु थाक्दैनन । किनकि हरेकको एक वर्षको कार्यकाल हुन्छ र आफुलाई सक्रिय राख्न केही न केही गरिराख्नु पर्छ । यो यस्तो संस्था हो जसले हामीलाई केही गर्नुपर्छ भन्ने तागत दिन्छ । यो एउटा ओपन युनिभर्सिटी हो ।

 

शशि स्वाँर ः हाम्रो एक वर्ष मात्र कार्यकाल हुने भएकोले हरेक दिन केही न केही गर्नुपर्छ । यो अध्यक्षमुखी संस्था भएकाले कोरम नपुगेपनि फरक पर्दैन । किनकी हामी एक्सन ओरियन्टेड छौं । एक पटक एउटा पदमा लिएको व्यक्ति अर्कोमा पटक फेरी त्यो पदमा बस्छु भनेर भन्न पाउँदैन । किनकी नेतृत्व हामी भित्रैबाट जन्मिन्छ ।
लायन्सले सन्चालन गर्ने अन्य अभियानहरु केके छन् ?
शशि स्वारः हामीले आँखा, दाँत, मधुमेहको बारेमा काम गरिरहेका छौं । यसका साथै निरन्तर रुपमा रक्तदान गर्दै आएका छौं । स्वास्थ्य शिविरका साथै, महिलाहरुको पाटेघर सम्बन्धि स्वास्थय शिविर पनि चलाइरहेका छौं ।
सम्मेलनले के के गर्छ ?

 

शशि स्वाँरः हाम्रो रिति अनुसार जुन ठाउँमा गर्भनर हुनुहुन्छ उहाँकै होमटाउनमा कन्भेन्सन हुने गरेको छ । सम्मेलनमा संस्थाको नयाँ नेतृत्व चयन गर्छ । यसका साथै विगतमा गरेका कामको अनुमोदन गरिन्छ र संस्थालाई राम्रो र मजबुत गराएर जानुपर्ने केही नीतिहरु पारित गर्नेछ ।

 

मधुसुदनःहामीलाई त्रिभुवन विश्वविद्यालयले तीन रोपनी जग्गा दिएको छ । त्यसमा हामीले ब्लड बैंक बनाउँदै छौं । अहिलेसम्म नेपाल सरकारले अन्य संस्थालाई ब्लड बैंक बनाउन दिएको छैन । पहिलो पटक नेपालमा लायन्सले पनि ब्लड बैंक सन्चालन गर्दैछ । हाम्रो संस्थाको संरचनाले हामीलाई के विश्वास छ भने हामी ४ देखी ५ वर्ष भित्रमा यसलाई देशव्यापी बनाउन सक्छौं । यसमा हामीलाई सबैभन्दा फाइदाजनक कुरा भनेको हामी त्रिभुवन विश्वविद्यालयसँग जोडिएका छौं । हामीले यसलाई टियु लायन्स ब्लडट्रान्सफ्युजन एण्ड रिसर्च सेन्टर नाम दिएका छौं । भोली यसलाई रिसर्च सेन्टरको रुपमा बृहत रुपमा लैजाने तयारीमा छौं ।

 

हामी वातावरण, भोक विरुद्ध, युवा र महिलाको बारेमा काम गरिरहेका छौं । युवाहरुलाई लियो क्लवको माध्यमबाट युवाहरुको नेतृत्व विकासमा जोड दिएका छौं । बच्चाको क्षेत्रमा Sight first Kid भनेर कामगरिरहेका छौं । हामीलाई यसका लागि १९ हजार डलर आएको छ यसलाई पनि सम्पन्न गर्ने मेरो योजना छ । मैले महिला नेतृत्वलाई जोड दिएको छु । जसमा मैले खोलेको ५४ क्लबमा १६ वटामा महिला नेतृत्व छ । बदलिंदो परिस्थिति अनुसार लायनिज्म पनि परिवर्तन र परिष्कृत भएर जाँदैछ ।

कारागारमा झडप र आगलागीमा ६८ जनाको मृत्यु

भेनेजुएलाको भ्यालेन्सिया सहरमा रहेको एक कारागार र त्यससँगैको प्रहरी चौकीमा थुनुवा र सुरक्षाकर्मीबीचको झडप र त्यसपछिको आगलागीमा परी ६८ जनाको ज्यान गएको समाचार छ ।

उक्त सहरमा रहेको कारागार र त्यससँगैको प्रहरी चौकीमा अकस्मात दंगा फैलिएपछि त्यहाँ आगलागी सुरु भएको थियो । कतिपयको आगोमा जलेर ज्यान गएको छ ।

केही आगलागीको घटनामा परेर तथा अरु कतिपय आपसी हानाहानमा परी कम्तीमा ६८ जनाको ज्यान गएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

भेनेजुएलाका एकजना प्रमुख सरकारी वकिल तारेक साबले यस अकस्मातको दुर्घटनाको छानबिनका लागि समिति बनाइएको बताउनुभएको छ ।

खचाखच बन्दीहरु राखिएको सो बन्दीगृहभित्र अकस्मात दंगा फैलिन पुगेको र त्यसका कारण थुनुवाहरू भाग्न खोजेका थिए । त्यस क्रममा उनीहरुले उक्त गृहमा राखिएका विछ्यौनाहरुमा आगो लगाएका थिए ।

त्यसपछि आगलागी शुरू भएको प्रहरी अनुसन्धानको पछिल्लो विवरणमा जनाइएको छ । थुनुवाहरुलाई भेट्न गएका आफन्तहरुले पनि आगोका कारण धेरैका ज्यान गएको बताएका छन् ।

यस झडप र आगलागीको खबरपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । त्यस क्रममा थुनुवालाई भेट्न पुगेका उनीहरुका आफन्त पनि परेका बताइएको छ ।

प्रहरीले उनीहरुलाई सो दुर्घटनास्थलबाट हटाउन खोजेको भए पनि थुनुवा र प्रहरीको भिडन्तको बीचमा उनीहरु परेका थिए । प्रहरीले त्यस क्रममा अश्रु ग्यास प्रहार गरेको र बल समेत प्रयोग गरेको थियो ।

उक्त बन्दीगृह काराबोबो राज्यमा पर्दछ । सो राज्यका एक सरकारी अधिकारीले जानकारी दिए अनुसार आगलागीको घटनापछि थप प्रहरी परिचालन गरिएको र त्यसपछि झनै ठूलो दंगा भएको थियो ।

त्यस क्रममा कारागारभित्र भने धूँवाले निसासिएर धेरैजनाको ज्यान गएको प्रहरीले बताएको छ । मृत्यु हुनेमा थुनुवाहरूलाई भेट्न गएका महिला र बालबालिका परेका छन् ।

भेनेजुएलाका बन्दीगृहमा क्षमताभन्दा पनि बढी कैदीहरु राख्ने गरिन्छ । जसका कारण यहाँका कारागारहरुमा यस्ता हिंसात्मक झडपहरू समय समयमा हुने गरेको छ । -रासस/सिन्ह्वा

यस्तो थियो २००१ सम्मको नेपालगन्ज

सनत रेग्मी

जुद्ध समशेर महाराज भएपछि नेपालमा ठूलो दुर्घटना भयो । १९७० सालको भुकम्पले देशभरी ठूलो क्षति भयो । गजुर र झिंगटीले छाएको बागेश्वरी मन्दिरको छत भत्कियो । रानी तलाउको लोक भक्तेश्वर महादेवको पगौडा शैलीको मन्दिर भत्कियो । बागेश्वरी मन्दिर नजिकको जेलको पर्खाल चर्किएका थिए । यी सबैको पुनर्निर्माण गर्नका लागि बनाउने अड्डामा डिठ्ठा विश्वजङ्ग विष्ट खटिएर नेपालगन्ज आए । उनले बागेश्वरी मन्दिरलाई पुनर्निर्माण गराएर गुम्बद शैलीको छत निर्माण गराए । लोक भक्तेश्वर महादेव मन्दिर पनि गुम्बद शैलीमै निर्माण भयो । यसो हुनाको कारण तराईतिरका डकर्मीहरुलाई पगौडा शैलीको अभ्यास थिएन र उनीहरुले हिन्दुस्थानमा चलेको गुम्बद शैलीमै त्यसको पुनर्निर्माण गरेका हुन् ।
१९९० सालपछि नेपालगन्ज बजारको आवश्यकता अनुसार, विभिन्न जाति समूहका मानिसहरुको आगमन र स्थायी बसोबास बढ्न थाल्यो । बाँके जिल्ला थारुहरुको बस्ती थियो । चौधरी र जिमिदारहरुमा एक दुई जना थारु बाहेक बाँकेका गाउँहरुमा कुर्मीहरु नै थिए । अधिकांस थारु र अवधि मान्ने समुदायहरु लाख र गिलटका गहनाहरु लगाउँथे । हुने खाने ठूला जमिन्दार र चौधरीहरु मात्र सुन चाँदीको प्रयोग गर्दथे । तिनीहरुको आवश्यकता पूर्ति गर्न केही लखेर परिवारहरु पाटन प्रिटिङ प्रेसबाट उत्तर तर्फ एकलैनीको मोडसम्ममा फाटफुट बसोबास गर्न थाले र त्यस टोलको नाम लखेरन टोल भयो ।

 

अहिलेको दुर्गा मन्दिरको सामुदेखि एकलैनी कौवाखानी टोल, हालको नाम देवीगन्जसम्म दुई चार घर कुमालहरु बसोबास गरेर आँवा लगाउने र माटोका भाँडा बनाउने काम गर्न थाले र त्यो कुम्हारन टोल (कुमाल टोल) कहिन थाल्यो ।
त्यस समय संयुक्त परिवारको प्रचलन थियो । प्रत्येक घरमा पितल, काँस मिसिएको ढलोटको कसौडी, काँसको थाल र पितलको लोटा र गिलास, ठूलाठूला बाटा र परातहरुको प्रचलन थियो । यी भाँडाहरु टुटेर, फुटेर वा प्वाल पारेर काम नलाग्ने भएपछि तिनीहरुलाई गलाई पुनः नयाँ भाँडा बनाउने सीप भएका कसेराहरु, त्रिभुवन चौकको पश्चिमपट्टिको नीमको बोटदेखि उत्तरतर्फको खाली ठाउँमा मुस्लिम कसगर र हिन्दु ठठेरहरु बसोबास गर्ने र काँस र पितलको भाँडा बनाउन थालेपछि त्यहाँ बसेको आठ दश घरहरुलाई ठठेरहरु बसोबास गरेको तिर ठठेरुटोल र मुस्लिम कसेराहरु बसोबास गरेको तिर कसगर टोल बस्यो । यसरी नेपालगन्जमा भित्रि खाली ठाउँमा जातीय टोलहरुको निर्माण हुँदै गयो । १९९० सालसम्म नेपालगन्जमा मुस्लिम आवादी पनि बढिसकेको थियो ।

 

अधिकांस मुस्लिम परिवारहरु एकलाइनीबाट गगनगन्ज जाने बाटोमा बस्ती बसाई बसाबास गर्न थाले । सुरुमा त्यहाँका मुस्लिमहरु प्रति असहिष्णु भएका हिन्दुहरुले कौवा खानेहरुको बस्ती भनेर त्यसको नामाकरण कौवा खानी टोल गरेका थिए । अल्पसंख्यक मुस्लिमहरु आफुलाई हिन्दुहरुको संरक्षक भन्ने राणाहरुका समयमा विरोध गर्न सकेनन् र त्यो कौवाखानी टोल भनिन थालियो पछि उनीहरुले हिन्दुहरुलाई भाइचारा र सद्भावको पाठ सिकाउँदै त्यस टोलको नाम देवीगन्ज गरिदिए ।
वि.सं. १९९० चैत्र ५ गते जुद्ध समशेरले, रुद्र समशेर, महावीर समशेर आदी सी क्लासका राणाहरुलाई काठमाडौं उपत्यकाबाट बाहिर धपाएपछि जनरल रुद्र समशेरलाई पाल्पा धपाए । रुद्र समशेर पाल्पा आएपछि उनलाई आफ्नो छोराहरुको चिन्ता भयो र उनले नेपालको पुरानो सहर नेपालगन्जलाई आफ्नो नातीका लागि रोजे र उनले फुल्टेक्रा गाउँभन्दा पूर्व तर्फ प्रशस्त जग्गा लिएर आफ्नो दरबार बनाए । त्यो दरबार पहेंलो रंगले रंगाइएकाले पिलीकोठीको नामले प्रसिद्ध भयो । त्यसमा मेघराज समशेर, राज समशेर आदी उनका छोराहरु बस्दथे । मेघराज समशेर पनि जनरल भैसकेका थिए ।
मेघराज समशेरले आफ्ना जुवाईलाई पनि अभिप्रेरित फुल्टेक्रा भन्दा पश्चिम तिर दरबार बनाउन लगाए । उनका जुवाई जाजरकोटका प्रतिष्ठित शाह परिवारका फत्तेजंग शाहले पनि दरबार बनाएर बसे । जो अहिले फत्तबाल आँखा अस्पतालको नामले प्रसिद्ध छ । पिलिकोठी मेघराज समशेरको निजी नाममा दर्ता भएको र उनी बडाहाकिम पनि भएको हुनाले राज समशेर पिलीकोठीको ठिक पश्चिम पट्टि अर्को दरबार बनाए । जसमा उनी र गोपाल समशेर आदी भाईहरु बस्दथे । दुई वटा कोठीहरुको बीचमा भएको हुनाले यस दरबारको नाम बीचकोठी हुन पुग्यो ।
सल्यानीबागबाट निर्जन खाली राप्तीरोड वरिपरि खेतहरु थिए । त्यसपछि कप्तान साहेबको कोठी अनि फेरि खेतखेत र फुल्टेक्रा गाउँ राप्तीपारी रोडको दुवैपट्टि थियो । यो गाउँ ठूलै थियो । फुल्टेक्रा गाउँ छिचोले पछि ‘राज भवन’ (बीच कोठी) र मेघालय (पीलीकोठी) थियो । १९९१ सालका आसपाससम्म बिस्तारित नेपालगन्जको आकारप्रकार यस्तो थियो । बीचकोठी (राजभवन) बाट दुई वटा बाटो राप्ती जान्थे । एउटा पुरैनी, शाहपूर्वा हुँदै बाटो राप्ती तर्फ जान्थे । एउटा पुरैनी, शाहपूर्वा हुँदै कम्दी वालापुर भएर राप्ती पुग्थ्यो । अर्को पुरैना बेतहनी हुँदै राप्ती पुग्थ्यो ।
वि.सं. १९९० सालमा मंसिर महिनामा जुद्ध समशेर सर फेडरिक ओटनरका साथ शिकारका क्रममा बाँकेमा टुर मुकाम रहेका बेलामा मुस्लिमहरुले जुद्ध समशेर सँग आफ्नो कुल परम्परा अनुसार अन्त्येष्ठी कर्म गर्ने थलो ‘साहवा’को सारै अभाव भएकाले व्यवस्था गरीपाउँ भनेर निवेदन टक्रयाए पछि हाल माचाकुसी (फासि पाएका अपराधीहरु काट्ने ठाउँ) भएको जेल पछाडि र हाल साहवा भएको ठाउँ मध्ये एउटा ठाउँ दिने विचार गरेछन् ।

 

जेल पछाडि शक्तिपिठ बागेश्वरी माताको छायाँ पर्ने ठाउँ भएकाले हाल साहवा भएको ठाउँ नै उनीहरुलाई मसान स्थल बनाउन दिने निर्णय गरेछन् । त्यस ठाउँमा भएको भाचाकुसी स्थल, हाल नर्सिङ होम भएको ठाउँ भन्दा पश्चिम तिर पेडवा भन्ने ठाउँमा सारिएको रहेछ ।
त्यतिबेला राणाहरुले नेपालगन्जमा दुई वटा भाचाकुसी स्थल राखेका थिए । हिन्दुहरुलाई बागेश्वरी पश्चिम पट्टि बालदा तलाउ निर फाँसीको सजाए पाएकाहरुलाई काटिने गरिन्थ्यो भने मुस्लिमहरुलाई हाल साहवा भएको ठाउँ निर काटिन्थ्यो । १९९१ साल पछि साहवामा भएको भाचाकुसी तीन पेडवामा सारियो ।
१९९५ सालमा भोग्य समशेर बडाहाकिम भएर नेपालगन्ज आएपछि उनले आफ्नो साथमा लिई आएका पं. चुडामणि रेग्मीलाई शिक्षक नियुक्त गरी तुलसीपुर स्टेट अन्तरगत रहेको बेलामा बाँकी किल्लामा काम गर्ने कर्मचारीका छोराछोरी पढाउन बनाएको ४ कोठो पाठशाला भएको बागेश्वरी मन्दिर नजिकैको भवनमा भाषा पाठशाला, पहिले सरकारी मान्यता प्राप्त विद्यालय खोलियो । यसभन्दा पूर्व मंगलप्रसाद साहूँले १९८१ सालमा आफ्ना निवासमै निजी तवरमा मंगल स्कुल खोल्नु भएको थियो भने १९९१ सालमा औतारदेयी चौधराइन (कसौधन)ले आफ्ना पतिका नाममा नारायण स्कुका लागि ५ कोठाको नारायण विद्यालय भवन निर्माण गरी पठनपाठन प्रारम्भ गराएकी थिइन् । तर, हेडमास्टर नियुक्ति सम्बन्धी सरकारसँग विवाद पर्न गएकाले सो सार्वजनिक विद्यालय बन्द गरिएको थियो । मंगलप्रसाद साहूले आफ्नै घरमा पठनपाठन गराउने र विद्यालयलाई सार्वजनिक विद्यालय घोषणा नगरेकाले बन्द गरिएन ।
नेपालगन्जमा त्यतिबेला सवारी साधन भनेको हात्ती र घोडा मात्रै थिए । गाउँघर तिर भने वयलगाडा र लढु (मान्छे बोक्ने सानो बयल गाडा) मात्र थियो । कि म्याना (डोली) प्रयोग हुन्थ्यो । लोग्ने मान्छेहरु घोडा, टाँगामा हिड्थे भने महिलाहरु म्यानामा कहारहरुले बोकेर हिड्थ्ये । कहारहरु छालाको भिस्तीमा पानी बोकेर राणाहरुको दरबार र ठूलो साहु महाजनहरु कहाँ पानी छिडकाव गरेर धुलो साम्य पार्ने काम गर्दथे । तिनीहरु पनि जातिगत टोल बनाएर एकै ठाउँमा बस्थे । घाँस काट्ने र त्यही घाँस बेच्ने गरेको घसियारहरु तत्कालीन सरायको बाहिर उत्तरपट्टि घसियारन टोल बनाएर बसे । डोले र पानीका काम गर्नेहरु नारायण विद्यालयको पछाडि पट्टि कहार टोल बसाएर बसे । डसना, सिरक बनाउने, रुवा फटकारने आदी काम गर्ने मुस्लिम जो लाहाहरु सरायको पछाडिपट्टि जोलाहनपुर टोल बनाएर बसे ।
तराईमा त्यति बेला राँगा, सुगुर, बंगुर सार्वजनिक रुपमा पसल राखेर बेच्ने चलन थिएन । मात्र खसीबोकाको प्रचलन थियो । केही मुस्लिमहरु दुईचार घरमात्र खसिबोका काट्ने बेच्ने काम गर्दथे । तिनीहरुको जात, थर था छैन शायद कुरैशीहरु हुन् कि ? तिनीहरुलाई स्थानीय भाषामा चिकुवा भनिन्थ्यो । बगरे शब्द त सभ्रान्त राणाहरु र काठमाडौंबाट आएका हाकिमहरुलाई मात्र थाहा थियो । उनीहरुलाई चिकुवा भनिने हुँदा मंगल माष्टर साहबको घरदेखि चौक पूर्वलाइनमा जोडिने गरी बसेको भुभागलाई चिकुवन टोल (बगरे टोल) भनिन्थ्यो ।
बाँकी गाउँको दक्षिणतिर ठूलो बगैचा भएको मैदान थियो । त्यस ठाउँलाई बाँकेबगिया भनिन्थ्यो । बाँके बगियामा दशैंको दश दिन दशहरा मेला र रामलिला लाग्थ्यो । राम लिलाको प्रारम्भ वि.सं. १९२५ देखि प्रारम्भ भएको हो । बलदेव हलवाईको प्रेरणा र निर्देशनमा नेपालगन्जकै नागरिकहरुले रामलीला मण्डली बनाई खेल्थे । पहिला पहिला यो सराय भित्र देखाइथ्इो र रावण बध बाँके बगिया दशहरा मेलामा गरिन्थ्यो ।
सम्वत् २००१ सालमा जुद्ध समशेरका नाममा जुद्ध मिडिल स्कुल खोलियो र पी.पीर अस्पतालको छेउमा स्कुल भवन बनाइयो । ९० सालमा भुकम्पले भत्केको चोकको भन्सारलाई पानी ट्यांकी नजिक सारिएको र निकासी पैठारीको अन्तिम नाका भएकाले त्यस टोललाई नाका टोल भनिन्थ्यो । भक्तिएको भन्सार भएको ठाउँमा जुद्ध समशेरको राजसी कल्की भएको अर्धकदको शालिक बनाइयो ।
२००१ सालसम्ममा बिस्तारित नेपालगन्ज बजारको पुनः विस्तार भने २०३० सालपछि दु्रत गतिले बढेको हो । २००१ सालसम्म नेपालगन्ज पूर्वमा मेघालय (पीलीकोठी)देखि बागेश्वरी मन्दिर हुँदै धम्बोझी सम्म । उत्तरमा महाकाली मिलदेखि दक्षिण त्रिवेणीमोड सम्म बिस्तारित भैसकेको थियो । आजको उपमहानगरपालिकाका कतिपय बस्तीहरु बसेकै थिएनन् । वि.सं. १९१७ देखि बस्न थालेको नेपालगन्ज २००१ सालमा आएर जुन रुपमा तयार भयो । मेरो सम्झनाले सम्झेसम्म त्यही रुपमा नै २०३० सालसम्म कायम थियो । हो बीचमा खाली भएका जग्गाहरुमा घरहरु बन्दै गए । जनसंख्या बढ्दै गयो । स–साना टोलहरु बिस्तारित हुँदै गए । नेपालगन्जको पहिलो चरणको विकास २००१ सालमा पूरा भएको हो । त्यस बखतको नेपालगन्ज बजारको तस्वीर टोनी हेगेनको ‘नेपाल’ पुस्तकमा छापिएको छ ।

नेपालगन्जमा विमानस्थल विस्तारको औपचारिक पहल



मुख्यमन्त्री देखि प्रधानमन्त्री सम्मलाई दबाब दिने योजना सहित
नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय
स्तरको बनाउन औपचारिक पहल लिएको हो ।



हिमाल गैरे/दैनिक नेपालगन्ज

पश्चिम नेपालकै सबैभन्दा चाप व्यहोरिरहेको नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउन औपचारिक पहल थालिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल देखि प्रधानमन्त्री केपी शर्मा ओली सम्मलाई दबाब दिने योजना सहित नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउन औपचारिक पहल लिएको हो । त्यसका लागि बुधवार नगरप्रमुख डा. धवल समशेर राणाले सर्वपक्षिय/सर्वदलीय बैठक डाकेका हुन् ।

‘सर्वदलीय बैठकले राझास्थित नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमान स्थलका रुपमा विकास र विस्तार गर्न आवश्यक प्रक्रिया अगाडी बढाउन नेपाल सरकारसँग अनुरोध गरेको छ,’ नगर प्रमुख राणाले दैनिक नेपालगन्ज सँग भने ।

नगर प्रमुख डा. राणाको अध्यक्षतामा भएको बैठकमा प्रदेश सभा सदस्य, वडाध्यक्ष, सम्वद्ध निकायका अधिकारी, नागरिक समाजका अगुवाहरु, राजनीतिक दलका प्रतिनिधि, नेपालगन्ज उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघका अध्यक्ष तथा प्रतिनिधिहरु सहभागी रहेको उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले जानकारी दिए । उनका अनुसार, बैठकले नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमान स्थलको रुपमा विस्तार गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन ५ नं. प्रदेश सरकार र संघीय सरकार आवश्यक दबाब दिन पनि पहलको जिम्मेवारी नगरप्रमुख डा. राणालाई दिएको छ ।

‘यो निर्णय लिएर छिट्टै मुख्यमन्त्री र प्रधानमन्त्री सँग भेटघाट गर्दैछु,’ नगरप्रमुख राणाले भने, ‘हामीले खोजे र सोंचे अनुसारका भौतिक पूर्वाधार र विकासका संरचना नेपालगन्जमा बन्यो भने राजधानी हुनु र नहुनुसँग हाम्रो ठुलो गुनासो रहनेछैन ।’ डा. राणाले पश्चिम नेपालको प्रवेश विन्दु र व्यापारिक नाका भएको नेपालगन्जमा सुख्खाबन्दरगाह निर्माण प्रक्रिया अघि बढिरहेको र मानसरोवरलगायत अन्य धार्मिक स्थलहरु सम्मको पर्यटकीय रुट विस्तार हँुदै गरेको सन्दर्भमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने आवश्यकता बढ्दै गएको बताए ।

‘सरकारले छिट्टै नेपालगन्ज विमानस्थलको विकास र विस्तारका लागि पूर्वाधार निर्माण सम्बन्धी एक अध्ययन टोली गठन गरी प्रक्रिया बढाउने काम सुरु गरोस् भन्नेमा तत्काल पहल लिइएको छ,’ नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले भने । ‘चाप बढ्दै गएकाले पनि विमानस्थल विस्तार आवश्यक हुँदै गएको छ,’ बैठकमा नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका प्रमुख प्रताप बाबु तिवारीले भने । तिवारीले विभिन्न संरचनाहरु सुधारका काम भइरहेको जानकारी पनि दिए ।

बैठकमा भारतीय शहरहरुमा उडानको व्यवस्था गरिदिन पनि माग आइरहेकाले पनि मानसरोवर लगायत अन्य धार्मिक पर्यटकीय स्थलमा आउने भारतीय तिर्थयात्रुहरु, व्यापारिक तथा अन्य यात्रुहरुलाई मध्यनजर विमानस्थलको विकास आवश्यक देखिएको बताइएको थियो । ‘हवाई यातायात उपलब्ध गराउन तत्काल भारतका शहरहरुमा हवाई उडान गर्न आवश्यक व्यवस्थापनका लागि अनुरोध गर्ने निर्णय गरिएको छ,’ उपमहानगरपालिकाका सूचना अधिकारी पौडेलले भने ।

प्रदेश सभासदस्य सुरेन्द्र हमाल, आइपी खरेल, पार्वती (उषा) पुन, मो. याकुब अन्सारी, जिल्ला समन्वय समितिका प्रमुख अजय श्रीवास्तव, नेकपा एमालेका अध्यक्ष अशोक कोइराला, राजपा नेता केशवराम बर्मा, जिल्ला प्रहरी प्रमुख टेक बहादुर तामाङ, पत्रकार महासंघ बाँके अध्यक्ष ठाकुर सिंह थारु, निवर्तमान केन्द्रीय सदस्य झलक गैेरे, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य लगायतले बैठकमा नेपालगन्जको विकासका विमानस्थलको बृहत विस्तारमा सबैतिरबाट पहलको धारणा औल्याइएको थियो ।

‘नेपालगन्जबाट कहाँ कहाँ नयाँ उडानको आवश्यकता छ भन्नेबारे विमान कम्पनीहरुसँग पनि छुट्टै छलफल गरिंदैछ,’ भारतका विभिन्न सहरमा उडानका इच्छा व्यक्त भइरहेको जानकारी दिंदै नगरप्रमुख डा. राणाले भने । विमानस्थल विस्तार, उडानका अवस्था सुधारका लागि एअरलाइन्स र आम उपभोक्ताको सामुहिक माग आइरहेकाले पनि उपमहानगरपालिकाले पहल लिएको नगर प्रमुख डा. राणाको भनाइ छ ।

नेपालगन्ज विमानस्थल क्षेत्रमा रहेका जग्गा मुआब्जा सम्बन्धी सवाल सम्बोधन बाँकी नै रहेको विषयमा पनि छलफल गरिएको छ । ‘केही व्यक्तिले मुआब्जा प्राप्त गरेको तर कतिपयले हाल सम्म मुआब्जा नपाएको विषयमा टुङ्गो लगाउन यथाशिघ्र प्रारम्भिक अधिकारी तोकी प्रक्रिया अगाडि बढाउन पनि नेपाल सरकार समक्ष अनुरोधसहितको माग गरिएको’ नेपालगन्ज २० का वडाध्यक्ष कृष्ण कार्कीले जानकारी दिए । वडाध्यक्ष कार्कीले अन्तर्राष्ट्रिय स्तरको उडान भर्न विमानस्थलको विस्तारका लागि जग्गा अधिग्रहण आवश्यक रहेकाले त्यसअघिनै पुराना मुआब्जाका सवाल सम्बोधन आवश्यक भएको बताए ।

यात्रुलाई सुविधा कक्ष

दैनिक नेपालगन्ज

नेपालगन्ज विमानस्थलमा यात्रुहरुका लागि सुविधा कक्ष थप गर्न माग गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले नागरिक उडड्यन प्राधिकरण नेपालगन्जलाई विमानस्थलमा यात्रु सुविधा कक्ष व्यवस्था गर्न माग गरेका हुन् ।

खासगरी मानसरोवरका लागि आउने भारतीय श्रद्धालु भक्तजन यात्रुहरुको व्यवस्थापनमा निकै असुविधा परेको गुनासो आएकाले सुविधा कक्ष व्यवस्थाका लागि माग गरिएको डा. राणाले जानकारी दिए । ‘भारतीय राजदुतावास बाट समेत गुनासो आइसकेको छ’, डा. राणाले दैनिक नेपालगन्जसँग भने, ‘त्यसका लागि नेपालगन्ज उपमहानगरपालिका आवश्यक पहल लिन तयार छ ।’

प्राधिकरण प्रमुख प्रतापबाबु तिवारीले सुविधा कक्ष निर्माणका लागि आवश्यक प्रक्रिया सुरु गरिएको जानकारी दिए । नगर प्रमुख राणाले भने स्थायी निर्माण अघि तत्कालै देखि अस्थायी रुपमै भएपछि वातानुकुलित यात्रु सुविधा कक्ष व्यवस्था गर्न दबाब दिएका छन् ।

‘स्थलगत अवस्थाको अवलोकन गर्न बिहिबार (आज) विमानस्थल पुग्दैछौं’, डा. राणाले भने, ‘जसरी हुन्छ यात्रुहरुलाई लामो समयसम्म उडान प्रतिक्षा गर्दा बाधा महसुस नहुने गरी विश्रामको व्यवस्था गर्नुपर्छ भन्नेमा हाम्रो जोड छ ।’

प्रेरणाका श्रोत हुन् जेष्ठ नागरिक

आज कैयौ बृद्ध आमा–बुवाहरु बुढेसकालमा सहजताको जीवन जीउन पाइरहेका छैनन । अहिलेका युवा पीढिको ब्यस्त र स्वछन्द जीवनशैलीका कारण सबै बृद्धबृद्धाहरुले उचित संरक्षण पाएको देखिदैन । काममा लागेका कतिपय युवापीढिले ब्यस्तता र आधुनिकताका नाममा बृद्धबृद्धालाई सम्मान र आदर गर्ने भन्दा पनि हेला र उपहासका पात्र बनाउने प्रबृत्तीका कारण कैयौ बृद्धाबृद्धाले अपमान र कष्टपुुर्ण जीवन जीउन बाध्य भइरहेका छन् ।
पछिल्लो समय आधुनिकताका नाममा ब्यक्तिहरुमा आत्मकेन्द्रित र स्वार्थीपना बढ्दै गएको छ । जसका कारण जन्म दिने आफ्नै आमा–बाबुलाई समेत हेला गर्ने, कुटपिट गर्ने र सम्पत्ति आफ्नो हात पारि घरैबाट निकाली दिने प्रबृत्ति पनि देखिएका छन् । केही निर्दयी छोराले छोरीले त सम्पत्तिकै लागी बृद्ध आमाबुवाको हत्या गर्ने सम्मका घटनाहरु घटाउने गरेका छन् । गत बर्ष जाजरकोटमा सम्पत्तिका लागि आफ्नै छोराले आमाको हत्या गरेको बारीमा गाडी दिएको घटनाले बृद्धबृद्धाहरु आफ्नै छोराछोरीबाट समेत सुरक्षित हुन नसकेको तथ्य बाहिर आएको छ ।
हामी दिन दिनै जसो समाचारमा सुन्ने गर्दछौ । बृद्धबृद्धालाई आफ्नै सन्तानद्वारा गाली गल्लौज गरेको, बुहारीद्वारा दुब्र्यवहार गरेको, खान लाउन नदिई घरबाट निकाला गरेको, सम्पत्तिका लागि आफ्नै बाबुको हत्या गरेको, मंजुरी बेगर जवरजस्ती आश्रम लगेर छाडेको लगायतका दुखान्तकारी घटनाहरु समाजमा प्रशस्तै भेटिन्छन् ।
बृद्धबृद्धाहरु घृणाका पात्र होइन प्रेरणाका श्रोत हुन् । उनीहरु अनुभवले खारिएका र ब्यवहारले परिपक्क भैसकेका इतिहासका खानी हुन । त्यस्ता ब्यक्तिहरुको ज्ञान, शिप र अनुभव मनन गरेर अगाडी बढेको खण्डमा तिनका सन्नतीले उन्नति, प्रगती र ब्यवसायिक सफलता प्राप्त गर्न सक्दछ ।

 

अहिले पनि जेष्ठ नागरिकहरु बिभिन्न बहानामा मारिने क्रम रोकिएको छैन । कतै बोक्सीको नाममा मारिएका छन् त कतै सम्पत्तिको लागि मारिनु परेको छ । अरुलाइृ दुख दिएको, परिवारमा करकर गरेको, बोझको रुपमा परिणत भएको आरोप जेष्ठ नागरिक माथी कतिपय आफ्नै छोरा छोरीले लगाउने गरेको पाइन्छ ।

 

शारीरिक, आर्थिक तथा सामाजिक हैसियत कमजोर हँुदै गएका कारण परिवार र समाजबाट बढी माया ममता स्याहार र सम्मान पाउनु पर्ने यहि अवधीमा तिरस्कार हेला र घृणाको पात्र बन्नु पर्दा कल्पना गरौ त कति रुन्छ होला ति बुद्ध बुद्धाको मन । पारिवारीक पीडा र तनाव त छदै छ । त्यस माथी एक्लै बस्नु पर्दा हुने असुरक्षाका कारण हुने लुटपाट, डकौतीका घटनाले समेत बृद्धबृद्धालाई झनै पिरोल्ने गर्दछ । त्यस माथी राम्ररी उभिन नसक्ने बेसाहारा ७०÷८० बर्षका बृद्धाहरु समेत बलत्कारको शिकार भएको घटनाले नेपाली समाजलाई नै लल्लीज तुल्याउने गरेको छ ।

 

घरपरिवारबाट उचित माया ममता नपाएका बृद्धबृद्धाको संरक्षणको लागि राज्यले बिभिन्न नीति नियम बनाए पनि तिनको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । नेपालको संबिधान २०७२ को धारा ४१ मा जेष्ठ नागरिकको हक सम्बन्धि ब्यवस्था गरेको छ । जस अनुसार जेष्ठ नागरिकलाई राज्यबाट बिशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भनिएको छ । संबिधानले यस्तो ब्यवस्था गरेको भएता पनि जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण प्रदान गर्न सकेको छैन । राज्यले दिने भनेका सेवा सुबिधा पनि जेष्ठ नागरिकले सहजै पाउन सकेका छैनन । मौलिक हकमै विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक भनेता पनि ति हक कार्यान्वयनको लागि आवश्यक पर्ने कानून र संयन्त्रहरु अझै निमार्ण भैसको छैन । सरकारले यातायातको साधनमा जेष्ठ नागरिकलाई छुट दिने भनेको छ तर सरकारले न आफैले यस्ता सरकारी साधनको ब्यवस्था मिलाई सुबिधान दिन सकेको छ न नीजि क्षेत्रका सवारी साधनलाई नै यस्तो सुबिधा दिन लगाउन बाध्य पार्न सकेको छ ।

 

अर्को तर्फ सरकारले जेष्ठ नागरिकको स्वास्थ्योपचारमा लागी नीति र कार्यक्रम ल्याएको भए पनि उमेर र रोग अनुसार बर्षमा निश्चित संख्यालाई दिने ब्यवस्थाले सबै जेष्ठ नागरिक यो सुबिधा प्राप्त गर्नबाट समेत बन्चित देखिन्छन् । बृद्धबृद्धलाई दिईने गरेको सामाजिक सुरक्षा भत्ता रकम पनि सरल सहज तरिकाले सबै बृद्ध बृद्धाले पाउन सकेका छैनन । कोही नागरिकता लगायतका कानूनी पहिचान बनाउन नसक्दा यो सुविधा पाउन बन्चित छन् भने कोही पाएर आफु खुसी खर्च गर्न नपाएको उहारणमा पनि हाम्रै समाजमा भेटिएका छन् ।

 
समाजमा रहेका विभिन्न बर्ग र समुदायका ब्यक्तिहरुको बारेमा अध्ययन गर्दा जेष्ठ नागरिकको अवस्था क्रमिक रुपमा खस्कदै गएको छ । सन्तान नभएका, आर्थिक अवस्था कमजोर भएका परिवारमा मात्र होईन घरभरि सन्तान भएका, सम्पन्न र सम्भ्रान्त परिवारका बृद्धबृद्धाले समेत अपहेलित हुने, छि छि र दुर दुर को पात्र बन्ने, कुटपिट लगायतका हिंसाको शिकार हुनु परेको छ । नयाँ संविधानको धारा ४३ मा ब्यवस्था गरिएको सामाजिक सुरक्षाको हक अन्तरगत आर्थिक रुपले विपन्न, अशक्त र असाहाय अवस्थामा रहेका, असाहाय एकल,महिला, अपाङता भएका, बालबालिका, आफ्नो हेरचाहा आफै गर्न नसक्ने तथा लोपोन्मुख जातीका नागरिकलाई कानून बमोजिम सामाजिक सुरक्षाको हक हुने ब्यवस्था गरिएको भएतापनि उचित कानूनी ब्यवस्था त्यसलाई कार्यान्वयन गर्ने संरचनागत आधार नहुँदासम्म प्रत्येक नागरिकले यो सुविधा पाउन सक्ने देखिदैन ।

 
जेष्ठ नागरिकहरु परिवारका सदस्यहरु भएसम्म परिवारकै सदस्यसंग आत्मसम्मान र स्नेहका साथ बस्न पाउनु पर्दछ । जसले कति दुख गरेर खाई नलाई बालबच्चाका लागी भन्दै सम्पत्ति जोडे । तिनै सन्तानले जेष्ठ नागरिकको पालनपोषण गर्ने दायित्व रहन्छ । परिवारमा कोही नभएमा मात्र आफ्नै परिवारमा स्याहार सम्भार गर्ने कोही नभए वा आर्थिक रुपमा बिपन्न भएमा जेष्ठ नागरिकको संरक्षण गर्ने दायित्व राज्यले लिनु पर्दछ । तर नेपालमा जेष्ठ नागरिकका लागी सरकारी तवरबाट ठोस काम भएको पाइदैन ।

 

निजी तवरबाट केही बृद्धआश्रम संचालनमा आए पनि तिनमा सबैको पहुँच पुग्न सकेको छैन । सिमित सख्यामा सरकारी तवरमा खुलेका आश्रमले धान्न सक्ने कुरै भएन । जेष्ठ नागरिक संरक्षणका लागी निजी तवरमा बृद्धाश्रमहरु खुलेका भए पनि बिभिन्न कारणले सबै बिशुद्ध रुपमा सेवाभावले नै खुलेका हुन भन्न सकिने अवस्था छैन । कोही धर्मको प्रचार गर्ने त कोही नाफा कमाउने उदेश्यले पनि बृद्धाश्रम खोल्ने गरेका समाचारहरु बेला बेलामा सार्वजनिक हुने गरेका छन् । जिवनको उत्तराद्र्धमा आश्रय दिएको बहानामा त्यसको नाजायत फाईदा उजाउदै बृद्धबृद्धाको आत्मसम्मान ठेस पुग्ने गरि धर्म परिवर्तन गराउनु उनीहरु प्रति ठुलो अन्याय गर्नु हो । त्यस्तै बृद्धबृद्धाको नाममा आएको पैसाको सहि सदुपयोग नहुनु, उनीहरुलाई सो पिसको माध्याम बनाउनु पनि ठुलो अन्याय हो । यसो भएको हुनाले सरकारी तवरबाट नै सामाजिक सुरक्षा अन्तरगत जेष्ठ नागरिकलाई उचित संरक्षण र बसोवासको लागि सरकारले नै आवश्यकता अनुसार बृद्ध आश्रमको ब्यवस्था मिलाउनु पर्दछ ।

 
अन्तमा राष्ट्रिय तहमा जेष्ठ नागरिकका समस्या उपेक्षित छन् नै अन्र्तराष्ट्रिय स्तरमा समेत जेष्ठ नागरिकका मुद्दा उपेक्षाकृत उठ्न सकेका देखिदैन । अतः जेष्ठ नागरिकका हक अधिकार, सम्मान, सुरक्षा र सुबिधाका लागी आवश्यक नीति नियम बनाउन, बनाएका नीति नियमहरुको प्रभावकारी कार्यान्वयन हुन जरुरी छ । त्यो भन्दा पनि महत्वपुण पक्ष भनेको घर, परिवारले के कुरा बुझ्न जरुरी छ भने जसका कारण यो घर्तिमा टेक्न पाइयो । जसले हुर्कायो, बढायो, पढायो र यो अवस्थासम्म पु¥याउनमा सहयोग ग¥यो उसैलाई हेला होईन आदर सम्मान गर्नु पर्दछ । सबै चिज मागेर किनेर पाइएला तर आमा बुवा किनेर पाईने बस्तु होइन । यस्तो अमुल्य नाता, आफ्नै सृष्टिकर्ता जन्मदातालाई अपमान गर्नु भनेको आफ्नै बरवादीको सुरुवात गर्नु हो । पतनको बाटो रोज्नु हो । आफ्नै खुट्टामा बन्चरो हान्नु हो । यसले केही समय त सुख सयर मिल्ला तर बालान्तरमा शान्ति मिल्न सक्दैन । उनीहरुको आशु र पीडाले जीवनभर पन्छाइहन्छ । स्वर्ग मरेपछि मात्र पुगिने होइन बृद्ध बृद्धाको आदर सम्मान गर्न सके उनीहरुको आर्शिरवाद, प्रेरणा र खुशिले परिवारलाई स्वर्ग तुल्य बनाउन सक्दछ । (लेखक अधिवक्ता हुन् ।)