सतिश निरौला
साइकल बेस्सरी चलाइयो जीवनमा । कक्षा ६ मा श्री जनता माबी सन्तकुटीमा भर्ना भएदेखि मब क्याम्पस नेपालगन्जमा आइ ए पढ्दासम्म साइकलमा लाखौं लाख पाइडल मारियो, ती सबै बाध्यता कै कारण थिए भन्नुपर्छ ।
पछिल्लोपटक साइकल प्रतिको लगाव र प्रेम त्यतिबेला जागेर आयो जब हिन्दुस्तानको मोदी सरकारले नेपालमाथि कडा नाकाबन्दी लगायो । पेट्रोल आउन छाड्यो । बजारमा कालोबजारीका महङ्गा मिसावट युक्त पेट्रोल मात्र पाइन थाल्यो । अनि सोचे साइकल किन नचढ्ने । साइकल किन्ने फैसला सहित बिबि साइकल स्टोर नेपालगन्ज पुग्दा सोरुममा १ लाख भन्दा माथिका समेत साइकल देख्दा कायल परियो । त्यसबेला सायद १७ हजार रुपैयाँ तिरेर हनि हन्टर साइकल खरिद गरि नियमित जसो साइकल नै चढी मोदिजीको नाकाबन्दीलाई चुनौती पनि दिइयो । त्यस क्रमसँगै नेपालगन्जमा बिस्तारै साइकल प्रतिको प्रेम बढ्दै थियो । केही थान साइकलेहरु बिहान साँझ हेल्मेट सहित बजार डुल्दा त्यसले पनि साइकल संस्कृतिको विकासमा राम्रो सहयोग पुर्यायो । हामी तराई बासी साइकल त सदियौंदेखि नै हाम्रो यातायातको प्रमुख साधन नै थियो । अफिस जान होस् वा विद्यालय जान अथवा सामान ढुवानी गर्नुपर्दा साइकल नै प्रमुख साधन हुन्थ्यो तराईमा । त्यसैले स्वास्थ पनि हुने, वातावरणको पनि रक्षा हुने अनि रकमको पनि बचत गजब कै छ साइकल ।
यसैबीच साइकल कल्चर बढ्दै जाँदा हामी खजुरा, नेपालगन्ज अनि कोहलपुरे साइकलेहरुले सामुहिक साइकल अभियान अघि बढाउने सोचसहित स्वास्थ, ग्रामीण पर्यटनको बिकास र प्रकृति र वातावरण जोगाउने उद्देश्यका साथ गठन गर्यौं, नेपालगन्ज साइक्लिङ्ग क्लब । क्लबको स्थापनासँगै प्रत्येक शनिबार हामीले १५÷२० किमि देखि ७० किमि सम्मको विभिन्न स्थानमा साइकल यात्रा गरिरह्यौं । त्यसैबिचमा हामीले पहिलोपटक नेपालगन्जदेखि श्रावस्ती भारतसम्मको २०० किमिको यात्रा गर्ने निर्णय गरि ३ सदस्य टोली गगन थापा, लवराज श्रेष्ठ र म निस्कियौं श्रावस्ती यात्रामा ।
श्रावस्ती गौतम बुद्धले २४ चतुर्मास पूरा पूरा बिताएको भूमि रहेछ । साह्रै सुन्दर, रमणीय र शान्त । श्रावस्तस्को १ दिने बसाई हाम्रा लागि साह्रै सुखद बन्यो । आनन्दको अनुभूति प्राप्त भयो । सामान्य साइकल चलाइरहेका हामी एकतर्फी १०० किमि आउजाउ गर्दाको २०० किमिको यात्रा गर्न साह्रै नै उत्सुक थियौ । साथसाथै त्यति लामोदुरीको पाइडल मार्न कति अप्ठ्यारो होला भन्ने पनि लागिरहेको थियो । रुपैडिहा, बाबागन्ज, नानपारा, बहराइच हुँदै यादगार साइकल यात्रा त्यो पनि हाम्रा बुद्धले लामो समय बिताएको तपोभूमि श्रावस्ती जहाँ अन्गुलीमार डाकुलाई बुद्धले ज्ञान दिइ सुधारेको समेत उल्लेख छ । अन्गुलीमार डाँकुको गुफा समेत त्यहाँ देखिन्छ ।
यो यात्रा हामीले २०७४ सालमा लक्षिमी पुजाको दिन पूरा गरेका थियो । त्यसपछि पनि साइकल यात्राका क्रमहरु जारी नै रहे । हामीले नेपालगन्जदेखि भेरी बबई डाइभर्सन सम्मको यात्रा पनि पूरा गरियो । पछिल्लो पटक कोरा २०१८ विभिन्न सहरहरु काठमाडौ, बुटवल, पोखरा, धरान र हेटौंडामा हुँदै थियो । हामीले हेटौंडाको कोरामा सहाभागी हुने निर्णय गर्दै गगन थापा र म नेपालगन्ज साइक्लिङ्ग क्लबका तर्फबाट सहभागिता जनाउन लागियो हेटौंडा । त्यस्मा हामीलाई साथ दिनुभयो कैलालीका साइकलप्रेमी जस्ले खप्तडसम्मको साइकल यात्रा गरिसक्नु भएको थियो आत्मीय भाइ र मित्र भरत शाहले । कोराको अघिल्लो दिन हेटौंडा पुगी बसपार्कमा ओर्लियौं अनि बुद्ध चोक पुगियो बिहान ६ बजे । हामीलाई न्यानो स्वागत गर्दै बुद्ध चोकबाट हेटौंडा राइडर्स क्लबका अध्यक्ष भाई बिकास ताम्राकारले हाम्रो बसोबासको प्रबन्ध हेटौंडाको प्रकाश होटलमा मिलाइदिनु भयो । होटलबाट फ्रेस भएर हामी साइकल सहित निस्कियौं हेटौंडा बजार । सुन्दर, सफा र रमाइलो हेटौंडाले हाम्रो मन जित्यो । त्यही क्रममा हामीले भन्यौं बाँकेका जनप्रतिनिधिलाई एकपटक हेटौंडा अवलोकनको हामीले सल्लाह दिनैपर्छ ।
बजारमा २०४२ सालदेखि नै साइकल ब्यवसाय गर्दै आउनु भएका लक्षमण साइकल स्टोरका संचालक जो हेटौंडामा साइकल संस्कृतिको विकासमा अझै सकृय हुनुहुन्छ । उहाँकै आत्मीय प्रेमपूर्ण स्नेही स्वागत पनि पायो हामीले । त्यहीँ चियागफ कै क्रममा अर्का साइकल अभियन्ता तथा हेटौंडाका सकृय युवा ब्यक्तित्व दीपेन्द्र चन्द ठकुरी सँग हाम्रो भेट र परिचय भयो । क्षणभरको परिचयमै उहाँले हामीलाई नजिकको न्यानो र आत्मीय साथ प्रदान गर्दै त्यो दिनभर हेटौंडा बजारमा साइक्लिङ्ग लैजानु भयो । बनस्खण्डी, चुच्चे खोला र भैसेसम्मको करिबन ५० किमि साइक्लिङ्गसँगै घरको स्वागतले दिपेन्द्रजीले हामीलाई हेटौडेलीको स्नेह र स्वागत दर्शाउनु भयो म उहाँ प्रती कृतघ्न छु ।
त्यसैदिन हेटौंडामा क्लबका थुप्रै साथीहरूसँग भेट भयो । पश्चिम नेपालबाट त्यो कोरा २०१८ साइकल च्यालेन्ज्मा हामी ३ जना मात्र सहभागी थियो । सबैको स्नेही स्वागत हामीलाई प्राप्त भयो । हेटौंडा, भक्तपुर, ललितपुर र काठमाडौका साइक्लिस्ट मित्रहरूसँगको भेट फलदायी नै बन्यो । कार्यक्रम भब्य रूपमा सम्पन्न भयो । कार्यक्रमको यसपटकको मुख्य उद्देश्य नेपालका साइक्लिस्ट स्वर्गीय नारायण गोपाल महर्जनको परिवारको सहयोगार्थ थियो । हामीले पनि सकेको सहयोग गर्यौं । कार्यक्रममा हामीले सबै साइकल प्रेमीहरुलाई २०७५ माघमा नेपालगन्ज साइक्लिङ्ग क्लबको आयोजनामा प्रदेश न ५ को पर्या–पर्यटनलाई टेवा पुर्याउन आयोजना गर्न लागिएको ‘टुर दि ठाकुरद्वारा’को निम्तो पनि दियौं । जय साइकल ।।