साइकलबाट पर्यटकलाई स्वागत
भारतीय सहित १ सय ५० बढी साइकलयात्री सहभागी
कोरोना महामारीका कारण रोकिएको पर्यटन आज शुक्रबारबाट औपचारिक रुपमैं अभियानका रुपमा थालिंदैछ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले यात्रा उद्घाटन् गर्नेछन् ।
बाँकेको नेपालगन्जबाट ‘टूर दि ठाकुरद्वारा–२०२१’ हुन लागेको हो । नेपालगन्ज साइक्लिङ्ग क्लब र नाट्टा बाँकेको आयोजना हुन लागेको टूर दि ठाकुरद्वाराका लागि पर्यटन बोर्डसहित विभिन्न सरकारी÷गैरसरकारी संघ, संस्थाहरु सहकार्य गरेका छन् ।
टूर दि ठाकुरद्वारालाई नेपाल पर्यटन बोर्डले अपनत्व लिइसकेको छ । ‘जस अनुसार, नेपालगन्जदेखि बर्दियाको साइक्लिङ्ग रुट तय भएको छ,’ आयोजक क्लब सचिव सुरेन्द्रद्वीप कार्कीले भने ।
क्लब अध्यक्ष गगन सिंह थापाले यस बर्ष टूर दि ठाकुरद्वारामा १ सय ५० जनाले सहभागिता जनाउने जानकारी दिएका छन् । उनले टुरका लागि भारतको बरेलीबाट ३, नैनीतालबाट १ र ओडिसाबाट १ जना साइक्लिष्ट पनि सहभागी हुँदैछन् । यसपटक टूर दि ठाकुरद्वारामा महिलाहरु पनि सहभागी हुने भएका छन् । १२ जना महिलाको सहभागिता सुनिश्चित भएको सचिव कार्कीले जानकारी दिए ।
आज शुक्रवार विहान नेपालगन्जका बागेश्वरी मन्दिरबाट सुरु हुने साइकल यात्राले नेपालगन्जको परिक्रमा पश्चात जानकी गाउँपालिका, खजुरा, बढैयाताल, गुलरिया, कृष्णसार, मधुवन, ओरालीबजार, डल्ला होमस्टे हुँदै ठाकुरद्वारा मन्दिरसम्म पुगेर विश्राम लिने आयोजक नाट्टाका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए । ‘बर्दियाका महत्वपूर्ण सबै ठाउँमा साइकल यात्रीले आनन्द लिन सकुन् भन्ने आशय हो,’ अध्यक्ष सिग्देल भन्छन्, ‘वास्तवमा यो सरकारले स्वामित्व लिएर आयोजना गर्नुपर्ने कार्यक्रम हो ।’
विहीवार औपचारिक कार्यक्रमबीच नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले अन्तर्राष्ट्रिय साइकल यात्री पुष्कर शाह र सशस्त्र प्रहरीका पूर्व आइजीपी सिंह बहादुर श्रेष्ठलाई यात्राको टिसर्ट (जर्सी) हस्तान्तरण गरे ।
टूर दि ठाकुरद्वारा कार्यक्रमका संयोजक सतिश निरौलाले दिएको जानकारी अनुसार, यात्राको दोस्रो दिन शनिबार साइकल यात्रीले ठाकुरबाबा मन्दिरको दर्शन, बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमण, नेपालकै लामो पुल गेरुवा, कर्णाली पुल घुमेर साँझ थारु सांस्कृतिक कार्यक्रममा सहभागी हुनेछन् ।
आइतबार साइकल यात्रीहरु बबई हुँदै सत्खलुवा तालको अवलोकन गर्नेछन् । सबै सहभागीलाई सत्खलुवामा बारबर्दिया नगरपालिकाले दिवा खाना सहित स्वागत गर्ने कार्यक्रम तय गरिएको छ । सत्खलुवा ताल घुमेर साइक्लिष्टहरुको टोली बाँसगढी नगरपालिकामा रहेको प्रसिद्ध ॐ केदारेश्वर धाम पुगेर औपचारिक रुपमा कार्यक्रमको समापन गरिनेछ ।
यसअघि टूर दि ठाकुरद्वाराको दुई वटा संस्करण सफलतापूर्वक सम्पन्न भएको छ । बाँके र बर्दियाका पर्यटकीय क्षेत्रको भ्रमण गराउने मुख्य लिएर २०७५ सालबाट टूर दि ठाकुरद्वाराको सुरुवात गरिएको थियो ।











