बाँके–बर्दियामा वैकल्पिक नयाँ सडक, झण्डै अर्बको डिपिआर तयार

बाँके, बर्दियाको ग्रामीण बस्तीलाई जोड्दै वैकल्पिक राजमार्ग बन्ने भएको छ । त्यसका लागि झण्डै एक अर्बको डिपिआर तयार पारिएको हो ।


नेपालगन्जको गणेशमानचोक हुँदै परसपुर–गौघाट–बढैयाताल गाउँपालिका हुँदै कण्ठिपुर–गुलरिया सडक जोड्ने २२ किलोमिटर कालोपत्रे सडक निर्माणका लागि डिपिआर तयार गरिएको बाँके क्षेत्र नं. ३ का संघीय सांसद नन्दलाल रोकायले जानकारी दिए । उनका अनुसार, परम्परागत रुपमा रहेको ट्रयाकलाई स्तरीय सडकका रुपमा विकास गर्न लागिएको हो ।
पहिलो चरणमा दुई करोड ५० लाख बजेट समेत व्यवस्था गरी डिपिआरदेखि वातावरणीय प्रभाव मूल्यांकनको काम अगाडि बढेको जानकारी दिंदै सांसद रोकायले बर्दिया तर्फ पनि २ करोड ५० लाख बजेटमा काम भैरहेको जानकारी दिए । ‘यो बाटोले बाँके र बर्दियाको ग्रामीण बस्तीलाई विकासको मूल प्रवाहसँग जोड्छ’, सांसद रोकायले बुधबार बढैयाताल–१ र २ को स्थलगत अनुगमन सँगै वडा भेलामा सम्बोधन गर्दै भने, ‘नेपालगन्ज–गुलरिया सडक जत्तिकै स्तरीय सडक तयार हुनेछ ।’


स्थानीय जनप्रतिनिधिहरुसँग समेत छुट्टाछुट्टै छलफल गरेका सांसद रोकायले दुवै तर्फ नाला सहित पक्की सडक निर्माणका लागि ९२ करोड लागतको डिपिआर तयार भएको जानकारी दिए । ‘जनप्रतिनिधि सहितका छलफलहरुमा सांसद रोकायले सडक योजनाबारे निर्माण अगाडि बढेको जानकारी गराउँदा स्थानीय जनतामा निकै उत्साह पाइयो’, खजुरा गाउँपालिकाका राजनीतिक सल्लाहकार समेत रहेका नेकपाका नेता भीम ओलीले दैनिक नेपालगन्जसँग भने, ‘यो सडकले दक्षिण खजुराको विकासलाई सहरसँग जोड्दै मूल प्रवाहमा लैजाने विश्वास गरिएको छ ।’


सडक निर्माण बारे गरिएका छुट्टाछुट्टै अन्तरक्रिया, वडा भेला र स्थलगत अनुगमनमा बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ, वडा नं. १ का कार्यवाहक अध्यक्ष संगीता रोकाय, वडा नं. २ का भुपाल सिंह लामा लगायतले वडाबासीसामु बाँके क्षेत्र नं. ३ का सांसद रोकायको पहल र प्रयासबाट विकासको बृहत योजना गाउँ आइपुगेको बताएका थिए । भेलामा सांसद रोकायले डिपिआरदेखि वातावरणीय प्रभाव मूल्यांकनसम्मका कामहरु अन्तिममा पुगेको जानकारी दिंदै त्यसका लागि बाँके र बर्दियामा गरी ५ करोड रुपैयाँ बजेट समेत परिचालन भैसकेको जानकारी दिएका थिए ।


नेपालगन्जबाट बर्दिया गुलरिया हुँदै राजापुर–टिकापुर कैलालीतिर जाने हुलाकी राजमार्ग तथा कोहलपुर हुँदै बर्दिया–पश्चिम तर्फको पूर्व पश्चिम राजमार्गले जोडेको दुई जिल्लाको स्तरीय सडकमार्गलाई नेपालगन्ज–परस्पुर–गौघाट हुँदै बर्दिया बढैयागाउँपालिका हुँदै गुलरिया सडक जोड्ने नयाँ बाटोले दुई जिल्ला बीचको सम्बन्ध समेतलाई अझ नजिक ल्याउने भेलाका सहभागीहरुको भनाइ थियो । ‘समयमै योजना कार्यान्वयनमा ल्याउने तर्फ माननीय रोकाय केन्द्रित हुनुहुन्छ’, ओलीले दैनिक नेपालगन्जसँग भने, ‘त्यसै सिलसिलामा कुनै बाधा अवरोध नआओस् भनेर स्थलगत अनुगमन, जनप्रतिनिधिसँग छलफल गरिएको हो ।’

प्रतिक्रिया

प्रतिक्रिया