बाल विवाह अन्त्यको सुरुवात आफ्नै घरबाट

डुडुवा गाउँपालिकाको बेतहनीमा भएको एक कार्यक्रममा अभिभावक र किशोरीले बाल विवाह बिरुद्धमा अभियान चलाउने प्रतिवद्धता जनाएका छन् । गाउँमा अझै पनि बाल बिवाहका घटनाले निरन्तरता पाइरहेको प्रति चिन्ता प्रकट गर्दै उनीहरुले बालबिवाहको अन्त्यको सुरुवात आफ्नै घरबाट गर्नु पर्नेमा जोड दिएका थिए ।


प्लान इन्टरनेशल नेपालको सहयोगमा डुडुवा गापा वडा नं २ को समन्वय र स्याक नेपालको आयोजनामा बेतहनीमा बालबिवाह रोकथामका लागि अभिभावक शिक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम भएको थियो ।


बालबिवाह रोकथाममा अभिावकको भुमिका बढाउने उद्देश्यले तालिमको आयोजना गरिएको स्याक नेपालकी फिल्ड सुरभाईजर आकृती यादवले बताइन् । कार्यक्रममा बाल विवाहका कारण, अवस्था र यसले पार्ने शारिरीक र मानसिक असरका बारेमा ब्यापक छलफल गरिएको थियो । यसक्रममा कार्यक्रमका केही सहभागीहरुले बालविवाहले आफुहरुको जीवनमा पारेको नकारात्मक प्रभाव बारे आफ्ना अनुभव सुनाएका थिए ।


कार्यक्रममा सहजकर्ता अधिवक्ता वसन्त गौतमले बाल विवाहबारे सैद्धान्तिक र कानूनी प्रवाधान बारे बिस्तृत रुपमा जानकारी गराएका थिए । नयाँ कानूनले बाल विवाहलाई कानूनी अपराध मानेको र २० बर्ष नपुगी कसैले विवाह गरे गराएमा ३ बर्षसम्म कैद र तीस हजारसम्म जरिवानाको कानूनी ब्यवस्था रहेको गौतमले जानकारी गराएका थिए ।


कार्यक्रमका सहभागी किशोर किशोरीहरु र अभिभावकहरुले बाल बिवाह नगर्ने नगराउने प्रतिवद्धता जनाएका थिए । समाजमा बाल विवाहले पार्ने नकारात्मक प्रभाव र कानूनी ब्यवस्थाका बारेमा जानकारी गराई बालबिवाह रोक्न अभिभावकको भूमिका बढाउने उद्देश्यले कार्यक्रम गरिएको आयोजकद्वारा जानकारी दिइएको थियो ।

बेतहनीमा बाल विवाहको तयारी !

कानूनले बालबिवाहलाई कानूनी अपराध माने पनि समाजमा अझै पनि बालबिवाहका घटनाले निरन्तरता पाइरहेका छन् । यसको पछिल्लो उदाहरण बन्न लागेको छ बाँकेको बेतहनी गाउँ ।
बालबिवाह बिरुद्धमा गाउँ गाउँमा अभियान चल्दै गर्दा कानून उल्लंघन गदै बाँकेको बेतहनीमा ५ वटा बालबिवाह हुन लागेको हो । कार्यक्रममा स्याक नेपालकी सुपरभाईजर आकृती यादवले विवाह हुन लागेका बालिकाहरुका नामै उल्लेख गरि बालबिवाह रोक्न सबै लाग्नु पर्नेमा जोड दिएकी थिइन् ।


बाल विवाह हुन लागेका बालिकाको सुचिमा डुडुवा गाउँपालिकामा कार्यरत एक कर्मचारीकी छोरीको नाम समेत रहेको बताइएको थियो । कानूनले बाल विवाहलाई अपराध मानेको सन्दर्भमा सरकारी कर्मचारी नै बाल विवाह गराउन लाग्नु गम्भीर कुरा भएका भन्दै अधिवक्ता वसन्त गौतमले कानून उल्लघन गर्ने उपर कारवाही गरिनु पर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया