अपराधमा बालकालिकाको संलग्नता बढ्दो ,बाँकेमा बालबालिका संलग्न भएका ७५ मुद्दा दर्ता

जिल्ला अदालत बाँकेमा बालबालिका संलग्न भएका ७५ मुद्दा दर्ता छन् । विभिन्न जिल्लामा आपराधिक घटनामा संलग्न तथा अभियोगी १ सय १९ जना बालबालिकालाई बाल सुधार गृह बाँकेमा राखिएको छ ।


नेपालगन्ज – आपराधिक घटनामा बालबालिकाको संलग्नता बढिरहेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय लागुऔषध, चोरीका घटनामा बालबालिकाको संलग्नता बढेको पाइएपछि सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका हुन् । बाँके जिल्ला अदालतको आयोजनामा बिहीबार भएको बाल न्याय सम्बन्धी कार्यक्रममा सहभागीले आपराधिक क्रियाकलापमा संलग्न व्यक्ति जथा घरायसी कारणले बालबालिका संलग्न हुने गरेको पाइएको भन्दै सारोकावालाहरुले बालबालिकालाई सुधार्ने तर्फ ध्यान जानु पर्ने धारणा राखेका हुन् ।


अदालतका न्यायाधीश खडानन्द तिवारीले अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी उपरीक्षक वीर बहादुर ओलीले आपराधिक घटनामा बालबालिका भेटिने क्रम बढ्दो रहेको बताएका थिए । उनले एउटै बालिका ११ पटक चोरीका घटनामा समातिएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।


कार्यक्रममा सहभागी अधिकारकर्मी बसन्त गौतमले बालबालिकाका मुद्दामा अभियोजन पक्षले थुन्ने र अधिकारकर्मीले छुटाउने काम मात्रै हुने गरेको बताए । ‘आपराधिक घटनामा संलग्न बालबालिका पुनः त्यस्ता घटनामा संलग्न नहुन् भनेर सुधार गर्नेतर्फ काम भएको पाइँदैन’, अधिवक्ता समेत रहेका गौतमले भने ।


जिल्ला अदालत बाँकेमा ७५ वटा मुद्दामा प्रतिवादी बालबालिका रहेको कार्यक्रममा जानकारी दिइएको थियो । जसमा अधिकांस चोरी, लागुऔषध र बलात्कार मुद्दाका रहेका छन् । बाल सुधार गृह बाँकेमा पनि विभिन्न जिल्लाका १ सय १९ जना बालबालिका राखिएका छन् । जसमा ४६ जना बलात्कार मुद्दाका रहेका छन् ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, जिल्ला न्यायाधीवक्ता याम बहादुर बानियाँ, जिल्ला बार अध्यक्ष मोहम्मद अय्युव सिद्दिकी, नेपालगन्ज उच्च बार एशोसिएसनका अध्यक्ष विकास आचार्यले पाठ्क्रममा नै अपराधिक कार्य, बाल न्याय र कर्तव्य सम्बन्धी कुरा समावेश गर्नुपर्ने धारणा राखेका थिए । उनलीहरुले बालबालिका आपराधिक घटनामा संलग्न नहोस् भन्नका लागि जनचेतजनाका कार्यक्रमहरु पनि गरिनुपर्ने बताएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया