‘गुटबन्दीरहित पार्टी निर्माण गर्छौं’- अध्यक्ष प्रचण्ड

दाङ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको गुटबन्दीले पार्टीलाई कमजोर बनाउँदै लगेकाले यसलाई अन्त्य गर्नुपर्ने बताएका छन् । गुटबन्दीरहित पार्टी निर्माण गर्ने, सबै पार्टी सदस्यलाई माक्र्सवादी विचारमा प्रशिक्षण दिने र त्यहीअनुसार पार्टी सदस्य जिम्मेवार बने यो समस्या समाधान हुने उनको भनाइ छ ।


नेकपा दाङले बुधबार तुलसीपुरमा आयोजना गरेको जिल्लास्तरीय वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रो दुश्मन हामीभित्रै नै छ, बाहिरको दुश्मनलाई त हामीले पराजित गर्दै आएका छौँ र अब हामीले पार्टी्भित्रको गुटबन्दीलाई अन्त्य गर्नतर्फ हामी लाग्छौँ ।’ उनले यो कार्यमा केही चुनौती भए पनि यसरी अघि बढेमा कम्युनिष्टको भविष्य सुरक्षित हुने बताए ।


पार्टीको सिद्धान्त समाजवादउन्मुख जनताको जनवाद रहेकाले अहिले पार्टीको सिद्धान्तका विषयमा विभिन्न टीकाटिप्पणी हुने गरेको भन्दै अध्यक्ष दाहालले एकताका क्रममा तत्कालीन एमालेको जनताको बहुदलीय जनवाद र तत्कालीन माओवादी केन्द्रको २१औँ शताब्दीको जनवादलाई समायोजन र परिमार्जन गरेर समाजवादउन्मुख जनताको जनवाद बनाएको स्पष्ट पारे ।


सोही कार्यक्रममा नेकपाका प्रदेश नं ५ का इञ्चार्ज तथा मुख्यमन्त्री शङ्कर पोख्रेलले आलोचनाको सामना गर्नसक्नु नै सक्षम नेतृत्व भएको बताएका थिए । उनले आलोचना गरेमा आतिने र प्रशंसा गर्दैमा रमाउने गरेमा आफैँ कमजोर हुने भन्दै यसमा सजक रहनुपर्ने बताएका थिए । उनले पार्टी एकता चुनाव जितेर सरकार बनाउनलाई मात्रै नभई समाजलाई रुपान्तरण गर्न एकता गरिएको बताए ।


त्यस अवसरमा नेकपा प्रदेश अध्यक्ष ओनसरी घर्ती र जिल्ला अध्यक्ष टीकाराम खड्काले पार्टी एकीकरणको भावनालाई आत्मसाथ गरेर अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभएको थियो । कार्यक्रमा जिल्लाका प्रदेशसभा तथा प्रतिनिधिका सांसदसहित जिल्लाका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।


यसैबीच, दाङको टरिगाउ बिमानस्थलको स्तरवृद्धि गरिने प्रचण्डले प्रतिबद्धता जनाएका छन् । बुधबार नै दाङ आएको सन्दर्भमा तुलसिपुर उद्योग बाणिज्य संघका पदाधिकारीहरु संगको भेटघाटका क्रममा अध्यक्ष प्रचण्डले बर्तमान अबस्थामा सञ्चालन भैरहेको दाङ एयरपोर्टको बिस्तार गर्न आवश्यक रहेको समेत धारणा ब्यक्त गरे । उनले भने, ‘म पटकपटक स्थलगत अनुगमनमा समेत गैसकेको छु बर्तमान अवस्थामा तत्काल धावनमार्गको बिस्तार गरेर बाह्र सय मिटर गराउँदा ठुला जहाजपनि बस्न सक्ने अबस्था रहेको छ यस्मा राज्यले थप लगानी गर्नुपर्छ ।’

प्रतिक्रिया

प्रतिक्रिया