आठौंको अभ्यासमा सुटिङ्ग खेलाडी

मध्यपश्चिमबाट छैठौँ र सातौँ राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितिसकेका खेलाडीले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पर्खंदै छन् । समयमै आठौंको आयोजना हुने भएपछि प्रतियोगितामा सहभागिता जनाउने गरि मैदान पुग्ने दिन पर्खिएका हुन् ।

 
साविक मध्यपश्चिमाञ्चलबाट यसअघिका राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडीहरु आठौं आयोजना घरेलु मैदानमै हुनेभएपछि उच्च मनोबलका साथमा पर्खाइमा बसेको बताउँछन् । छैठाँै राष्ट्रिय खेलकुद प्रतियोगितामा सुटिङ्ग खेलमा स्वर्ण पदक विजेता बाँकेकी कृष्णा थापाले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि स्वर्ण जितिन् । नेपालगन्जमा हुने आठौँ राष्ट्रिय प्रतियोगितामा पनि उनले प्रतिष्पर्धा गर्न तम्तयार बसेको बताइन् ।

 
विगतका राष्ट्रिय प्रतियोगितामा भएको पदकलाई कायमै राख्न थापा अहिले अभ्यास गरिरहेकी छन् । ‘विहानको समयमा नियमित अभ्यास गर्छु,’ दैनिक नेपालगन्जसँग आठौंको तयारीबारे थापाले भनिन्, ‘आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि स्वर्ण पदक ल्याएर ह्याट्रिक गर्ने योजना सहित अभ्यास खेल खेलिरहेको छु ।’ उनले सुटिङ्गको भवन निर्माण भइरहेकोले अभ्यासमा केहि समस्या भएको पनि बताइन् ।

 
कृष्णा जस्तै सुटिङ्ग खेलका अर्का स्वर्ण पदक विजेता हुन् नेपालन्जका बदरुद्धिन अन्सारी । अन्सारीले छैठौँमा स्वर्ण पदक जितेका थिए । भने, सातौँमा दोश्रो भए । अन्सारी भन्छन्, ‘आठौँको तयारी ठिकठिकै भइरहेको छ, अभ्यास खेल खेलिरहेको छु ।’ यसपाली पनि स्वर्ण ल्याउने गरि उच्च मनोबलका साथ तयारी गरिरहेको बताउने अन्सारीले दैनिक नेपालगन्जसँग भने, ‘आत्मवलका साथ खेल्ने हो । स्वर्ण पदकको म दावेदार नै हुँ ।’

 

प्रतियोगितालाई भव्य बनाउन छलफल
आसन्न आठौं राष्ट्रिय खेलकुदलाई भव्य बनाउन स्थानीय स्तर छलफल सुरु गरिएको छ । आठौं राष्ट्रिय खेलकुद प्रदेश ५ स्रोत व्यवस्थापन तथा परिचालन व्यवस्था उपसमितिले विभिन्न क्षेत्रका व्यक्तिहरुसँग छलफल सुरु गरेको हो ।

 
उपसमिति उपसंयोजक दत्त प्रसाद आचार्यको अध्यक्षतामा दैनिक जसो विभिन्न वस्तुगत संघ, संघसंगठनहरुसँग छलफल भैरहेका छन् । बिहीबार तयारी कपडा, ब्याग, जुत्ताचप्पल तथा खुद्रा व्यवसायी संघ नेपालगन्ज, होटल व्यवसायी संघ बाँके, नेपालगन्ज इलेक्ट्रिकल एशोसिएसन बाँकेसँग उपसमितिले प्रतियोगिताको आयोजनाबारे छलफल गरेको छ ।
कार्यक्रममा खुद्रा व्यवसायी संघका सचिव हिमनाथ पौडेल, होटल व्यवसायी संघका अध्यक्ष भीमलाल कंडेल र इलेक्ट्रिकलका अध्यक्ष नन्दलाल ढकालले प्रतियोगितालाई सफल पार्न आ–आफ्नो संघको तर्फबाट सहयोग पुर्याउने प्रतिबद्धता जनाएका थिए ।

 
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीको उपस्थितिमा भएको छलफलमा कार्यक्रम सञ्चालन उपसमितिका सदस्य भीम बहादुर रानाभाटले गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया