क्यान्सर पीडित बिन्दुलाई शुभेच्छासँगै सहयोग

महिला तथा बालबालिकाको क्षेत्रमा लामो समयदेखि क्रियाशिल राष्ट्रसेवक कर्मचारी बिन्दु कुँवरको उपचारका लागि सहयोग जुट्ने कामले तिव्रता पाएको छ । सरकारी कर्मचारी भएर पनि सामाजिक क्रियाशिलतामा उत्तिकै सक्रिय बिन्दु पछिल्लो डेढ बर्षयता क्यान्सरले थलिएर उपचारार्थ छन् ।

 
उनी थलिएको खबर पाएपछि सामाजिक सञ्जाल मार्फत सुस्वास्थ्य र दीर्घायुको कामना सहित पुरानै अवस्थामा फर्किने शुभेच्छा गर्नेहरुको संख्यासँगै उपचारका लागि आर्थिक सहयोग पनि प्राप्त भएको छ । पाठेघरको क्यान्सर संक्रमण उपचार गराइरहेकी बिन्दुलाई उपचारका क्रममा लिभर र ब्याकबोनमा पनि संक्रमण देखिएपछि उपचार खर्चको अभाव भएको हो ।

 
पारिवारिक रुपमै असहयोगको सूचना बाहिर आएपछि उनलाई चाहनेहरु स्थानीय उद्यमी रचना श्रेष्ठको नेतृत्वमा संगठित भएरै आर्थिक सहयोग आव्हान गरेका छन् । ‘स्वस्फूर्त सहयोग गर्नेहरुको संख्या बढिरहेको छ’, सहयोग समितिमा सहसंयोजकको भूमिका निर्वाह गरिरहेका अधिकारकर्मी नमस्कार शाहले दैनिक नेपालगन्जसँग भने, ‘शुक्रबार साँझसम्म ४ लाख ३५ हजार रुपैयाँ संकलन भैसकेको छ ।’

 
उपचारका क्रममा भारतको मुम्बई स्थित टाटा अस्पतालमा रहेकी बिन्दुलाई प्रत्यक्ष रुपमा भेटघाट गरी संकलित रकम हस्तान्तरण गर्ने समितिको योजना छ । सहसंयोजक शाहका अनुसार, बिन्दुको उपचारका लागि सबैभन्दा बढी काठमाडौं स्थित तरकारी बजारबाट ५९ हजार प्राप्त भएको छ । अमेरिका स्थित युवा सञ्चारकर्मी बालकृष्ण जोशीले ५० हजार, अछामी सेवा समाजले २३ हजार ३ सय ८०, नेपालगन्ज उपमहानगरपालिका महिला तथा बालबालिका प्रमुख शोभा शाहले २१ हजार रुपैयाँ प्रदान गरेको सहसंयोजक शाहले जानकारी दिए । अष्टे«लिया स्थित सञ्चारकर्मी सन्ध्या शाहले २० हजार, डा. कुमारसन शाहले १५ हजार १ सय ५, आशा शाहीले १५ हजार, पत्रकार डक्ट धिताल, युवा अभियन्ता अञ्जु न्यौपाने, नारायण सुवेदी, दिपेन शाहीले जनही १० हजार सहयोग उपलब्ध गराएका छन् ।

 

‘हामी कसैलाई पनि व्यक्तिगत अनुरोध गर्नुभन्दा आव्हान गरिरहेका छौं’, सहसंयोजक शाहले देशभरकै कर्मचारीहरुको आइडलका रुपमा प्रतिस्पर्धामा रहेकी बिन्दु एकाएक थलिएपछि उपचारमा सहयोग आवश्यक परेको जानकारी दिंदै भने, ‘उनको योगदानलाई स्मरण गर्दै शुभेच्छा सहित सहयोग गर्नेहरुको संख्या थपिइरहेको छ ।’

प्रतिक्रिया

प्रतिक्रिया