नेपालगन्ज उपमहानगरपालिकाले नियमित रुपमा बजार अनुगमन गर्ने जनाएको छ । उपमहानगरपालिका अन्तरगतको उपभोक्ता हित संरक्षण समितिको बैठकले यस्तो निर्णय गरेको उपप्रमुख उमा थापा मगरले जानकारी दिइन् ।
उपप्रमुख एवं समिति संयोजक थापाको अध्यक्षतामा बसेको उपभोक्ता हित संरक्षण समितिको बैठकले उपभोक्ता हित सम्बन्धि काम कारवाहीलाई प्रभावकारी बनाउन कार्यपालिका पदाधिकारी, उपभोक्ता हित संरक्षण समिति, बजार अनुगमन टोली र वडा अध्यक्षहरुका लागि उपभोक्ता हित सम्बन्धि नया कानून, कार्यबिधि र बजार अनुगमन निर्देशिकाका बारेमा एक दिने अभिमूखिकरण कार्यक्रम गर्ने निर्णय गरेको नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत शरद पौडेलले जानकारी दिए ।
अभिमूखिकरण कार्यक्रममा वाणिज्य, घरेलु, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नापतौल, पशु, औषधी ब्यवस्था बिभाग लगायतका निकायहरुले आफ्नो कार्यालयबाट हुने बजार अनुगमन र उपभोक्ता हित संरक्षणका बिषयमा प्रस्तुती गर्ने छन् भने उपभोक्ता हित संरक्षण सम्बन्धि नया कानून र कार्यविधिका बारेमा अधिवक्ता वसन्त गौतमले अभिमुखिकरण गर्ने निर्णय भएको पौडेलले बताए ।
यसै गरि उपभोक्ता हित संरक्षण समितिको बैठकले उपभोक्ता हित सम्बन्धमा नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत शरद पौडेले, सामाजिक बिकास अधिकृत कृष्ण प्रसाद जोशी र अधिवक्ता वसन्त गौतम रहेको ३ सदस्यीय कार्ययोजना निर्माण समिति गठन गर्ने निर्णय गरेको समितिले जनाएको छ ।