प्रहरीमा भर्ना भई देशको सेवा गर्ने चाहना राखेका एक युवाको शुक्रबार राती हत्या भएको छ । सुर्खेतका दिपक सिंह ठकुरीको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।
‘नयाँ बसपार्क नजिकैको खुला मैदानमा घाँटी रेटेर हत्या गरिएका युवकको शव फेला परेको हो’, ईलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज प्रहरी नायव उपरीक्षक रमेशबहादुर सिंहले भने, ‘हामीले गम्भीर अनुसन्धान गरिरहेका छौं ।’ उनले घटनास्थलमै उनको हत्या भएको हुनसक्ने आशंका गर्दै अनुसन्धानपछि सबै कुरा सार्वजनिक गर्ने बताए ।
बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अरुण पौडेलले घटनास्थल पुगेर फर्किएपछि दैनिक नेपालगन्जसँग भने, ‘यो केशलाई म आफै ह्याण्डिल गरिरहेको छु ।’ उनले घटना गम्भीर प्रकृतिको भएकाले निष्कर्षमा नपुगुन्जेल आफुले नछाड्ने बताए ।
यसैबीच, घटनामा संलग्नताको आशंकामा एक जनालाई पक्राउ गरिएको छ । कर्णाली प्रहरीको विशेष सहयोगमा सुर्खेतबाट एक जनालाई पक्राउ गरी बाँके पठाइएको सुरक्षा स्रोतले जनाएको छ ।