जनता ठग्ने विरुद्ध बाँकी प्रहरीको निगारानी, ड्राइभिङ सेन्टरमा छापा

कुनै पनि बहानामा सर्वसाधारणलाई ठगी गर्नेलाई प्रहरीले निगरानीमा राखिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । जनगुनासो बुझ्ने र त्यसविरुद्ध कारवाही अगाडि बढाइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

 
त्यसैक्रममा लाइसेन्स बनाइदिन्छु भनेर अवैध रुपमा असुली गरिरहेको गुनासो गरिएपछि मंगलबार जिल्ला प्रहरी कार्यालय बाँकेले ‘एक्सन’ लिएको छ । प्रहरीले बाँकेका चार वटा मोटर ड्राइभिङ सेन्टरमा छापामा मारी जनगुनासो बारे तथ्य पत्ता लगाउन खोजेको हो ।

 
‘जनगुनासो आएपछि कारवाही गरेका हौं’, बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अरुण पौडेलले भने, ‘छापाका क्रममा फेला परेका कागजात नियन्त्रणमा लिएर अध्ययन गरिरहेका छौं ।’ प्रहरीले छापा मारेका स्थानबाट कसैलाई नियन्त्रणमा भने लिएको छैन । ‘कसैले ठगीको उजुरी दिएमा कारवाही अगाडि बढ्छ’, प्रहरी उपरीक्षक पौडेल भन्छन्, ‘अनुसन्धानपछि तथ्य कुरा बाहिर आउने छ ।’

 
लाइसेन्स बनाइदिने भन्दै मनपरी असुली गर्ने गुनासो पहिले देखि नै आउँदै गरेको छ । ड्राइभिङ सेन्टरले आफ्नो सेटिङ्ग गरेको भन्दै लाइसेन्सका लागि प्रतिव्यक्ति १० हजार भन्दा बढी असुल्दै आएका छन् । लाइसेन्स बनाउन ड्राइभिङ सेन्टर पुगेका एक व्यक्ति मोटरसाइकलका लागि १० र गाडीको लाइसेन्स बनाउन २५ हजार रुपैयाँ माग गरिएको जानकारी दिए ।

समातिए जुवाडे
सामाजिक विकृति विरुद्ध अभियान चलाएको कोहलपुर प्रहरीले मंगलबार जुवाडेहरुलाई नियन्त्रणमा लिएको छ ।
कोहलपुर प्रहरीका अनुसार, बसपार्क स्थित रियाज कुरेसीको सटरमा जुवा खेलिरहेको भन्ने सूचना पाएपछि गरेको कारवाहीमा ५ जनालाई नियन्त्रणमा लिइएको हो । सो स्थानबाट प्रहरीले ५ जनालाई जुवा लिरहेको अवस्थामा पक्राउ समेत गरेको छ । पक्राउ परेकाहरुबाट ४८ हजार ५० रुपैयाँ बरामद गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।

‘जुवाडेहरुलाई नियन्त्रणमा लिइ कारवाही प्रक्रिया अगाडि बढाइएको छ’, इलाका प्रहरी कार्यालयले जुवाडेहरुलाई जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरी अनुन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया